काठमाडौं । कोरोना संक्रमितको संख्या बढे सँगै उपचारमा कठिनाई आए पछि सरकारले वीरलाई कोभिड अस्पताल बनाउने तयारी गरेको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका उच्च अधिकारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, वीर अस्पतालका निर्देशकसहितको बैठकले वीरलाई कोभिड अस्पताल बनाउने टुंगो लगाएको हो ।
कोभिड—१९ का कारण वीरमा आउने बिरामीको संख्या कम भएको हुँदा त्यहाँ आउने बिरामीलाई राष्ट्रिय ट्रमा सेन्टरको एउटा तलाबाट सेवा दिने व्यवस्था मिलाउन लागेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए।
हाल वीर अस्पतालका चिकित्सक, नर्स स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरका अधिकांश कर्मचारी आइसोलेसनमा बसेका छन् ।