काठमान्डौ । पछिल्ला ७ महिनामा १ सयभन्दा धेरै कोभिड–१९ भ्याक्सिन, विभिन्न थेरोपी र औषधीहरु विकासको चरणमा छन् ।
यी सबै उपचार मानिसअघि पहिले बाँदरमा प्रयोग हुन्छ । र, अहिले अमेरिकाका वैज्ञानिकहरु समस्यामा छन् किनकि त्यहाँ पर्याप्त बाँदर छैनन ।
अमेरिकामा बाँदरको अनुसन्धान महंगो छ र कहिलेकाँही अनुसन्धानलाई लिएर विवाद पनि हुनेगरेको छ ।
अहिले महामारीका कारण अनुसन्धानका लागि बाँदर फेला पार्न थप कठिन छ ।
विभिन्न संस्थाका वैज्ञानिक र उद्योगहरु सिमित बाँदरमै अध्ययन गर्न बाध्य रहेको बताइएको छ ।
अभावका कारण यस्ता छन् ।
पहिलो– कोभिड १९ ले बाँदरको माग बढाएको छ ।
दोस्रो – चीनबाट बाँदर आउन छाडेको छ । जबकि, अमेरिकामा गत वर्ष ३५ हजार बाँदरमध्ये ६० प्रतिशत चीनबाट आयत गरिएको थियो ।
तेस्रो – महामारीसँग सम्बन्धित घटनाले त्यहाँ रहेका बाँदरहरु पनि संकटमा छन् ।
अमेरिकामा एनिमल बायोसेफ्टी लेभल ३ ल्याब पनि सीमितमात्रै छन्, कोभिड–१९ संक्रमित बाँदरहरुलाई राख्नका लागि यस्ता ल्याब चाहिन्छ । जहाँ, किटाणुको रोकथामका लागि आवश्यक भेन्टिलेसनसहित विशेष डिजाइन गरिएको छ ।
अमेरिकामा बायोमेडिकल रिसर्चमा प्रयोग हुने जनावरमध्ये बाँदरको हिस्सा शुन्य दशमलव ५ प्रतिशत छ । तर, मानिसमा क्लिनिकल ट्रायल हुनअघि अन्तिम चरणमा प्रयोग गरिने भएकाले यो महत्वपूर्ण छ ।