गोरखा । समुदाय स्तरमा कोरोना संक्रमण फैलिन नदिन अहिले जिल्लाका विभिन्न स्थानीय तहले स्वाब संकलनलाई तिब्रता दिएका छन् ।
केही दिन यता कन्ट्याक्ट टे«सिङ र स्वाब संकलनलाई तिब्रता दिएको गोरखा नगरपालिकाले बुधबार २८ जनाको स्वाब संकलन गरेको छ । वडा नम्बर १२ का ६, १३ का १८ र मझुवामा खटिएका ४ प्रहरी एवं कर्मचारीको नमूना संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको गोरखा नगरपालिकाले जनाएको छ ।
यसैगरी पालुङटारमा १९ पुरुष र ५ महिला गरी २४ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले जानकारी दिए । पालुङ्टार नगरपालिकाले वडा १ र ९ लाई सिल समेत गरेको छ । धार्चे गाउँपालिकाले पनि २६ जनाको नमूना संकलन गरी परीक्षणका लागि पठाएको छ । स्थानीय जनप्रतिनिधि, कर्मचारी, होटल व्यवसायी र केही सर्वसाधारणको स्वाब संकलन गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
जिल्लाका अन्य पालिकाहरुले पनि आवश्यकताका आधारमा धमाधम पिसिआर परीक्षण गरिरहेको बताएका छन् । पिसिआर परीक्षणको दर ह्वात्तै बढेको छ । गोरखा नगरपालिकाको समुदाय स्तरमा ठूलो संख्यामा कोरोना देखिएपछि विभिन्न वडाहरु सिल समेत गरिएको छ । यस वीचमा गोरखामा ५०० भन्दा बढि जनाको पिसिआर गरिएको छ ।
ती मध्ये कतिपयको रिर्पोट आाइसकेको छ भने कतिपयको आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए । गोरखामा हाल सम्म ५ हजार १६ जनाको पिसिआर परीक्षणका लागि नमूना संकलन गरिएको छ ।
ती मध्ये ४ हजार ४० जनाको रिर्पोट आएको छ भने ५ सय ५६ जनाको बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । हालसम्म १ सय ३६ जनाको रिर्पोट पोजेटिभ आएको छ भने अन्यको नेगेटिभ आएको अबस्था छ ।