गोरखा । गोरखा नगरपालिका १० छेवेटारबाट एक बेसाहारा बालकको उद्धार भएको छ । सहयोगापेक्षी सडक मानवहरुलाई आश्रय दिइरहेको मानव सेवा आश्रमले ७ वर्षका भीमराज लामालाई उद्धार गरेको हो ।
बाबु आमाले सानै छोडेपछि बेसाहारा बनेका ती बालक छेबेटारमा डुलेर जीवन कटाउँदै गरेको स्थानीयले बताएका छन् । आमाले छोडेर अन्तै गएको र बाबुले पनि अर्को बिहे गरेपछि बेसाहारा बनेका उनी मागेर गुजारा चलाउँदै आएका थिए ।
लामो समयसम्म बेबारिसे अबस्थामा सडकमा दिन बिताइरहेका ती बालकलाई बुधबार वडा अध्यक्ष देबी बस्नेत, स्थानीय सम्झना कुँबर बस्नेत र सुनिल उप्रेतीको रोहबरमा उद्धार गरी मानब सेवा आश्रम गोरखामा ल्याइएको आश्रमकी मुना लामाले जानकारी दिइन ।
उनको लालन पोषण र शिक्षादिक्षा सबै आश्रमले नै गर्ने भएको छ । मानव सेवा आश्रममा उनी जस्तै झण्डै ४० जना बालबालिकाहरु रहेका छन् ।