Modern metal handcuffs. Vector illustration in flat style
विभिन्न घटनामा दोषी ठहर भई फरार रहेका २८ प्रतिवादीलाई प्रहरीले एकैदिन पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले दण्डहीनताविरुद्धको अभियानअन्तर्गत जिल्ला अदालत कास्की तथा जिल्ला प्रशासन कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रही २८ जना फरार प्रतिवादीहरुलाई मंगलबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सरकारी छाप दस्तखत कीर्ते गर्नेदेखि बैंकिङ कसुरका दोषीसम्म रहेका छन्।
पक्राउ पर्नेहरुमा सरकारी छाप दस्तखत कीर्ते मुद्दामा १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएका स्याङ्जा कोल्मा घर भई हाल पोखरा महानगरपालिका–२७ बस्ने २१ वर्षीय अनिल थापा मगर, पोखरा महानगरपालिका–१० बस्ने बैंकिङ कसुर मुद्दामा ७ दिन कैद सजाय र ९ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएका ५३ वर्षीय धिरज गुरुङ रहेका छन्।
त्यस्तै सार्वजनिक अपराध मुद्दामा ३ सय ५० रुपैयाँ देखि ५ हजार रुपैयाँसम्म जरिवाना तोकी फरार रहेका कास्की जिल्ला अन्तर्गतका विभिन्न स्थानमा बस्ने २६ जना प्रतिवादीहरु पनि पक्राउ परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत कास्कीमा पेश गरेको कास्की प्रहरीले जनाएको छ।