• मंगलबार, साउन १२ २०८३

सरकारले बाढीपहिरोपीडितलाई घर बनाउन ३ लाख दिने तयारी


मंगलबार, भाद्र १६ २०७७
700
Shares


काठमाडौँ — अविरल वर्षा सगैँ आएको बाढीपहिरोलगायत प्राकृतिक प्रकोपबाट घरबारविहीन भएका विपन्न परिवारलाई सरकारले घर बनाउन तीन–तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउने तयारी गरेको छ । बाढीपहिरोले जग्गाजमिनसमेत बगाएका परिवारलाई घडेरीका लागि थप दुई लाख रुपैयाँ उपलब्ध हुनेछ ।

बाढीपहिरोबाट बर्सेनि विस्थापितहरूको संख्या बढ्दै गए पनि पुनःस्थापनाका लागि सरकारले गर्ने सहयोगको प्रस्ट कानुनी व्यवस्था छैन । यसपटक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ लाई टेकेर यस्तो व्यवस्था गर्न लागिएको हो । यसका लागि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्यविधिको मस्यौदा तयार गरिरहेको छ ।

विपन्नलाई घर बनाउन र घडेरी खरिद गर्न दिने अनुदान रकम जुटाउने जानकारी अर्थ मन्त्रालयले दिएपछि कार्यविधि तयार गर्न थालिएको हो ।

भदौ १ मा बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोले क्षति पुर्‍याएकाहरूको घर निर्माण गर्नुपरेमा बढीमा एक लाखसम्म रुपैयाँसम्म अनुदान दिने निर्णय गरेको थियो । यसअघि बाढीपहिरोपीडितलाई सरकारले जिल्ला प्रशासनमार्फत ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ।

गृह मन्त्रालयका अनुसार यो वर्ष मुलुकभर बाढीपहिरोबाट कति परिवार विस्थापित भए यकिन तथ्यांक प्राप्त भएको छैन । गत वर्षसम्मको तथ्यांकअनुसार पछिल्लो १० वर्षमा ११ हजार परिवार विस्थापित भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार