गोरखा । किसानले यूरिया मल नपाएको भन्दै गोरखाका नागरिक समाजले चिन्ता ब्यक्त गरेका छन् ।
शनिबार नागरिक साझा सवाल गोरखाको भर्चुअल बैठकमा बोल्ने अधिकांश वक्ताहरुले किसानले यूरिया मल नपाउदा सास्ती खेप्नु परेको बताएका थिए ।
संयोजक स्थानेश्वर दुवाडीको अध्यक्षतामा भएको भिडियो बैठकका सहभागीले मल अभाव, कालो बजारी लगायतका समस्या हटाएर जनताको समस्या समाधानमा ध्यान दिन प्रशासन तथा स्थानीय तहलाई आग्रह गरेका छन ।
त्यस्तै उनिहरुले निषेधाज्ञाको विकल्प खोजी सुरक्षितपूर्वक जनजिवन सहज बनाउन समेत प्रशासन समक्ष आग्रह गर्ने भएका छन ।
जिल्लाका बिभिन्न समस्या, चुनौतीलाई समेटेर नागरिक समाज तथा सञ्चार माध्यमका तर्फबाट केहि सुझाव सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने तयारी समेत भएको सहजकर्ता मोहसिन अलि मियाँले बताए ।
जसमा यूरिया मल, निषेधाज्ञाको अवस्था र भावी रणनीति, कोभिड १९ रोकथाम, ब्यवस्थापन, बजार अनुगमन लगायतका बिषय समेटिने बताइएको छ ।
नागरिक समाजले आइतबार जिल्ला प्रशासन कार्यालय गोरखामा ज्ञापन पत्र बुझाउने बताएका छन ।
बैठकमा नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा, गैसस महासंघ गोरखाका अध्यक्ष सिताराम श्रेष्ठ, उद्यमी तथा सामाजिक अभियान्ता सित्तलकाजी मास्के, सामुदायिक वन उपभोक्ता महासंघ गोरखाका अध्यक्ष कमल लामिछाने, नेपाल औषधी ब्यवसायी संघ गोरखाका अध्यक्ष संगमबाबु श्रेष्ठ, युवा अभियान्ता हरि देवकोटा, प्राधापक एकदेव अधिकारी, एनजिओकर्मी कमला लामिछाने, सृजना ढकाल लगायतको सहभागिता रहेको थियो ।