पोखरा विमानस्थलमा काम गर्ने झण्डै दुई सय कामदार चीनमै रोकिएका छन् । यहाँ काम सकेर चीन जानुपर्ने ५० जना कामदार पनि फर्कन पाएका छैनन ।
कोेरोना महामारी नियन्त्रणको लागि सरकारले लकडाउन गरेको ६ महिना पुगिसकेको छ । चैतको ११ गते लकडाउन सुरु भएकोमा साउनको ६ गतेदेखि लकडाउन खुलेको थियो, तर लकडाउन खुलेपछि सङ्क्रमितको संख्या सँगै मृत्यु हुनेको सँख्या पनि निक्कै बढ्दै गइरहेका छन।
अहिले ५० भन्दा धेरै जिल्लामा पूर्ण या आंशिक निषेधाज्ञा लागू भएको छ, सीमानाकाबाट यात्रु आवतजावतमा रोक कायमै छ । कोरोनाको कारण बन्द रहेका विकास निर्माणका आयोजनामा सरकारले लकडाउन खोलेपछि काम सुरु हुन थालेको थियो, फेरि ठाउँ(ठाउँका निषेधाज्ञा र लकडाउनले गर्दा काम अघि बढ्न सकेको छैन । यसले गर्दा ठूला विकास निर्माण आयोजना निकै प्रभावित भएका छन् जसमध्येको पोखरा बिमानस्थल पनि एक हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम सन् २०२१ को जनवरी अर्थात् सम्झौता अवधिभन्दा ६ महिनाअघि नै सक्ने गरी तीव्र गतिमा भइरहेको थियो । कयौँ आयोजना ढिलासुस्ती भइरहेको बेला पोखरा विमानस्थलले भने तोकिएको समयभन्दा चाँडो काम सक्ने लक्ष्यका साथ काम गरेपछि धेरैतिर उत्साह थपिएको थियो । तर कोरोना भाइरसको महामारीका कारण सरकारले लगाएको लकडाउन र अन्य देशले लगाएका नयाँ(नयाँ प्रावधानका कारण यो आयोजना ६ महिनाअघि होइन सम्झौता गरिएको अवधिमा पनि सम्पन्न नहुने अवस्थामा पुगेको छ ।