कुशल खड्का
सरकारले कोरोना महामारी नियन्त्रणको लागि चैत्र ११ बाट सुरु गरेको बन्दाबन्दी आर्थिक तथा सामाजिक गतिविधि चलायमान बनाउन भन्दै श्रावण ७ गतेबाट आंशिक रुपमा खोलेको छ । विश्वविद्यालयले पनि बन्दाबन्दी खुलेसंगै कोरोनाले स्थगित परिक्षा सुचारु गर्ने भन्दै धमाधम सूचना जारी गरिरहेका छन ।
पूर्वाञ्चल विश्वविद्यालयले स्थगित परिक्षा सुचारुको सूचना निकालेता पनि परिस्थिति सहज बने पछि मात्र सम्पूर्ण स्थगित परिक्षा साथै शैक्षिक गतिविधि जारी गर्ने भन्दै अर्को सुचना निकाल्यो । त्रिभुवन विश्वविद्यालयले पनि निरन्तर भाद्र बाट परिक्षा सुचारु गर्ने भने पनि कोरोना महामारीलाई मध्यनजर गरेर मात्र अघि बढ्ने बताएको छ ।
त्यसै गरि पोखरा विश्वविद्यालयले सोमबार मात्र सूचना जारी गर्दै भाद्र आन्तिम साता बाट परिक्षा गर्ने भनेको छ ।
विद्यार्थीको लागि परिक्षा अपरिहार्य छ र हुनु पनि पर्दछ । बर्ष र सेमेस्टर भरी पढेको, सिकेको, जानेको कुरा मापन गर्ने माध्यम भनेको नै परिक्षा हो । सैद्दान्तिक होस् या प्रयोगात्मक, परीक्षाको अरु विकल्प हुनै सक्दैन । यसो भनिरहदा, समय र परिस्थितिलाई नै नजर आन्दाज गर्नु चाहि आफैमा मुर्खता हो ।
लकडाउन खुले पनि कोरोना न त पूर्ण रुपमा रोकिएको छ, न त भ्यासिन नै बनेको छ । नेपालमा ४८ जनाले ज्यान गुमाइसकेका छन् भने दिनप्रतिदिन संक्रमित संख्या पनि थपिदै १९ हजारको हाराहारीमा पुगिसकेका छन् ।
यस्तो विषम परिस्थितिमा अन्य उपयुक्त विधि हुदा हुदै पनि भौतिक रुपमा उपस्थिति भैई परम्परागत परिक्षा प्रणाली र सिकाई पद्दति मात्र भए जसो किन गरिदै छ ? कथमकताचित परिक्षामा सरिक भएकै कारण परिक्षार्थी, कर्मचारी र अन्य सहभागीलाई कोरोना लाग्यो भने यसको जवाफदेहि को हुन्छ ? उपचार कसले गरिदिन्छ ? सरकार या विश्वबिद्यालय ?
यी जोखिमलाई ख्यालगर्ने हो भने परम्परागत प्रणालीलाई छाडी आन्तरिक मुल्याङ्कन तथा मौखिक विधि बाट परिक्षा लिनु आवश्यक देखिन्छ । होईन भने, कोरोना बिमा अति आवश्यक देखिन्छ ।