गोरखाकाे लाप्राकमा मकैकाे विवाहमा सहभागी स्थानीय । तस्विर: जेशन गुरुङ/ लाप्राक
गोरखा । लाप्राकमा मकै विवाह सम्पन्न भएको छ । ठूलो उत्सवको रुपमा स्थानीयले धुमधामका साथै मकैकाे विवाह गरेका हुन् । ‘यो एक किसिमको प्रकृति पूजा जस्तै हो, हाम्रो परम्परा र संस्कृति पनि हो,’ पूर्व वडाध्यक्ष राज गुरुङले भने,‘यस वर्ष पनि हर्षउल्लासका साथ मकैको बिबाह गरिएको छ ।’
मकैको बिबाह गर्नु पूर्व जैसी अर्थात ज्योेतिषिले जुराउँछन् । बिबाहको अघिल्लो दिन केही घोगा मकै जमिनमा गाडेर राखिन्छ । मकै बिबाहका दिन बिहानैदेखि गाउँभरिका मानिस लाप्राकको ठूला आँगनमा जम्मा हुन्छन् । अनि गाउँबाट एउटा बालकलाई डोलीमा राखेर बाजा गाजा सहित जन्ती जाने गर्छन् ।
अघिअघि ढ्याङ्ग्रो, मादल र झ्याली लगायतका बाजागाजासहित पछाडि डोलीसहित जन्ती हुन्छ । ठूलो आँगनबाट मनिडाँडा हुँदै केही पर जंगलमा घरका रूपमा बनाएको अर्काको सानो झुप्रोमा कन्या राखेको ठाउँमा जन्ती पुग्छ । जन्तीले ती कन्यालाई लिएर पुनः बाजा गाजा सहित लाप्राक गाउँको परिक्रमा गर्छन् । बेलुकी सबै ठूलो आँगनमा जम्मा भई नाचगान गरी भुटेको मकैको भोज खाएपछि मकै विवाह सकिन्छ ।
‘यो पुरानो परम्परा हो, यसरी मकैको बिहे गरेपछि वल्ल मकै लगाउन सुरु हुन्छ । बिहे नगरी मकै लगाउँदा अशुभ हुन्छ भन्ने मान्यता छ,’ स्थानीय स्थानीय प्रसाद गुरुङले भने,‘यसरी लगाइएको मकै राम्रो फल्छ, रोग किरा लाग्दैन भन्ने गरिन्छ ।’
जन्ती जाँदा आफ्नो घरबाट लगेको एक–एक घोगा मकै एकै ठाउँ थुप्राइन्छ । त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ । मकै बिहे भनेको गाउँलेहरू सामूहिक भेला भएर गर्ने प्राकृतिक पूजा हो । मकै रोप्नुअघि बिउ चोख्याउन, किराबाट जोगाउन, हिउँ र असिनापानीबाट जोगाउन गरिने पूजा भएको स्थानीयवासीहरू बताउँछन् ।
साँझ घाटु नाचसँगै यस वर्षको मकै बिहे सकिन्छ । मकै छर्नुअघि सबै अन्नको पूजा गर्ने चलन भएपनि मकै मुख्य बाली भएकाले यसको बिहे गर्ने गरेको स्थानीयहरू बताउँछन् । साँझपख लाप्राकीहरू बेहुलीको घरबाट आफ्नो घरतिर फर्कँदा एक एक मुठी मकैको बिउ लिएर गएर उक्त बिउ घरको मकैमा मिसाएका छन् । धार्चे गाउँपालिका भित्रका लाप्राक, गुम्दा, सिङ्ला, उहिया, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँ, लापु लगायतका गाउँमा परापूर्व कालदेखि मकै विवाह गर्ने गरिन्छ ।