गोरखा । भिमसेन थापा गाउँपालिका ४ धावा चौताराका भिमसेन भट्ट यतिबेला आलुबारीमै भेटिन्छन् । रोजगारीको सिलसिलामा बिदेशिएका भट्ट कोरोना भाइरस समस्याका कारण समस्या परेपछि एक वर्ष नबित्दै घर फर्किनु परेकाे थियाे ।
राेजगारीका लागि मलेसिया गएको एक वर्ष नबित्दै घर फर्किएका उनकाे मनमा गाउँमै केही गर्ने अठोट जाग्यो । त्यसपछि श्रीमती सम्झना भट्टलाई सञ्चालक बनाएर एन्जल कृषि तथा पशुपंक्षी फर्म दर्ता गरे । त्यसपछि सुरु भयाे उनकाे कृषि कर्म ।
गाउँमै कृषि पेशा अंगालेका भट्टले बाझो रहेकाे खेतमा आलु खेती सुरु गरे ।
‘बिदेशमा गर्ने दुखः गाउँमै गर्न सके यहीँ राम्रो हुन्छ भन्ने सोंचका साथ आलु खेति सुरु गर्न थालें,’ उनले भने,‘अहिले राम्रै छ, खुसी छु, विदेश जाने सोंच आउँदैन ।’
भट्टले विगत ४ वर्षदेखि आलुखेती गर्दै आएका छन् । अहिले आठ रोपनी जमिनमा व्यवसायीक आलु खेती गरिरहेको उनले बताए ।
‘एनएस ४२ ए नामको ३०० किलो बिउ लगाएको छु’ उनले भने,‘मंसिरमा लगाएको हो, फागुनमा खन्ने बेला हुन्छ ।’ छोटो समयमा पनि राम्रो उत्पादन दिने भएकोले आलुखेती गर्दै आएको उनको भनाई छ ।
‘आलु बेच्न पनि समस्या छैनन्, यहीँ मानिसहरु खेतमै लिन आउँछन्,’ उनले भने,‘नबिकेको आलुलाई नजिकका बजारहरुमा लगेर पनि बेच्न सकिन्छ ।’
आलु मुल्य प्रति केजि ३५ रुपैयाँ देखि ५० रुपैयाँ सम्म हुने उनले बताए । मल, बिऊ, विषादी महगो भएको हुनाले लागत भने बढि रहेको उनले दुखेसो गरे ।
‘गत वर्ष २०० किलो लगाएको थिए, ५०० किलो जति उत्पादन गरेर बेचेँ । आम्दानी पनि राम्रै छ,’ उनले भने,‘यो वर्ष आलु खेती राम्रो भएको छ, २२ सय किलो जति फल्छ कि भन्ने आश गरेको छु ।’
दुख गर्न सके देशकै माटोमा राम्रो पैसा कमाउन उदाहारणीय काम गर्नको लागि यो पेशा अङ्गालेको बताए । याे पेशाले घर खर्चदेखि शिक्षा, स्वास्थ्य लगायतका खर्च समेत धानिएकाे उनकाे अनुभव छ ।