केही समययता काठमाडौँ उपत्यकासहित देशैभरको वायु प्रदूषण उच्च छ । वातावरण विभागका अनुसार लामो समयदेखि वर्षा नहुनु प्रदूषण बढ्नुको मुख्य कारण हो ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार हावाको गुणस्तर सूचक मापक एयरक्वालिटी इन्डेक्स एक्यूआइ ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १०० सम्म एक्यूआइ मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ भने १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । काठमाडौँको वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डभन्दा ९ गुणा बढी देखिएको छ ।
विभागले लामो समय वर्षात नहुँदा प्रदूषणको तह उच्च बनेको बताइरहँदा चिकित्सकहरु भने यो मात्रै कारण हुन नसक्ने बताउँछन् । विशेष गरेर प्रदूषणका स्रोतहरु दुइ किसिमका हुने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक चिकित्सक बताउँछन् । जुन घरभित्र हुने प्रदूषण र घर बाहिर हुने प्रदूषण ।
ति चिकित्सकका अनुसार घरभित्र हुने प्रदूषणको मुख्य कारण गरिबी हो । आयस्तर कम भएकाको घरभित्र अन्यका दाँजोमा बढी प्रदुषण हुने गर्दछ । यसरी घरभित्रको प्रदूषणका कारण हरेक वर्ष संसारभरमा करिब ३२ लाख मानिसको ज्यान जाने गरेको उनी बताउँछन् । विश्व स्वास्थ्य सङ्गठनको २०१०–२० को अनुसन्धान प्रतिवेदनका अनुसार हरेक वर्ष ७० लाखको मृत्यु भित्री र बाहिरी प्रदूषणका कारणका हुने गरेको छ ।
तर घरभित्र हुने प्रदुषण गरिबी मात्रै कारण होइन । ति चिकित्सकका अनुसार अज्ञानता, सचेतनाको कमि, भान्सालगायत स्थानको उचित व्यवस्थापनको कमि, इलेक्ट्रिकल औजारको कम प्रयोगलगायत छन् । उनका अनुसार घरभित्र हुने प्रदूषणबाट पुरुषभन्दा बढी महिला प्रभावित हुने गरेका छन् ।
त्यस्तै घरबाहिर हुने प्रदूषणले वायुमा अत्याधिक नकारात्मक असर पु¥याइरहेको छ । यसमा उनी मुख्य दोषी राज्यलाई देख्छन् । प्रदुषण रोक्ने प्रभावकारी नीति, नियम नबन्दा र बनेकोसमेत प्रभावकारी कार्यान्वयन र नियमन हुन नसक्नुले वायु प्रदूषणलाई बढवा दिएको उनको तर्क छ ।
पछिल्ला समय अस्तव्यस्त रुपमा हुने विकासे योजनाका काम प्रदूषणको मुख्य कारण हो । अव्यवस्थित बजारीकरण, उधोगधन्दा, पूर्वाधार निर्माणका काम, सवारी साधन नै प्रदूषणका मुख्य स्रोत रहेको उनको भनाइ छ ।
हिउँदका समयमा हुने जथाभावी डढेलोलगायतका कारण प्रदूषण बढेको हो । घर बाहिर हुने प्रदूषणका कारण हरेक वर्ष ४० लाखको हाराहारीमा मानिसको मृत्यु हुने गरेको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठनसँग छ ।
पछिल्लो समय अति कम विकसित मुलुकको प्रमुख समस्या र चुनौती वायु प्रदूषण बनेको छ । वायु प्रदूषणले सामान्यदेखि जटिलसम्मका स्वास्थ्य समस्याहरु देखा पर्छन् । ति चिकित्सकका अनुसार पछिल्लो समय पाटन अस्पतालमा रुघा खोकीका बिरामी बढ्नुमा प्रदूषित वायु मुख्य कारण हो ।
जसमा सामान्य स्वासप्रश्वास, रुघाखोकी, ज्वरोदेखि निमोनिया, हृदयघात, क्यान्सरसम्मका समस्या मानिसमा देखिने सिभिलखबरसँगको कुराकानीमा उनले बताए ।
अब कसरी बच्ने ?
वायु प्रदूषणलाई कम गर्न इलेक्ट्रिकल औजारको प्रयोगलाई प्रथामिकता दिनुपर्ने उनको सुझाव छ ।
भान्सादेखि सडकसम्म इलेक्ट्रिकल औजार र साधनको प्रयोग गर्दा वायुमा पर्ने नकरात्मक असर कम हुने ति चिकित्सकको विश्वास छ । त्यस्तै फोहोरको उचित व्यवस्थापन, कुहिने र नकुहिने फोहोरको वर्गिकरण, फोहोर रिसाइकल, वैकल्पिक उर्जाको प्रयोग तथा जथाभावी हुने विकास निर्माण र पूर्वाधार निर्माणका कामलाई रोक्न सके प्रदूषणको हदले सीमा ननाघ्ने उनको तर्क छ ।
त्यस्तै यसका लागि स्थानीय तहदेखि प्रदेश र सङ्घ सरकारसम्मको नीतिगत विषय स्पष्ट हुनुपर्ने र प्रभावकारी कार्यान्वयनका लागि सबै एकजुट भए समयमै प्रदूषण कम हुने पाटन अस्पतालका ति चिकित्सकको विश्वास छ ।
हाल काठमाडौँ उपत्यकासहित देशैभरको वायु स्वच्छ र सफा नभएकाले मास्कको अनिवार्य प्रयोग गर्न र मर्निङ वाकदेखि अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन समेत उनले आह्वान गरेका छन् ।