
डा. भेषराज अधिकारी
नेपाल सधैै एक स्वतन्त्र र स्वाधीन राष्ट्रको रूपमा रहन सफल हुनुमा नागरिकहरूको वीरता, बुद्धिमत्ता र सहिष्णुताजस्ता गुणहरूको महत्वपूर्ण योगदान रहेको छ । यो देश इतिहासमा आन्तरिक रूपमा बाइसे चौबिसे अनेकौँ राज्यमा विभक्तभएपनि ती भुरे टाकुरे राज्यहरूद्वारा लोककल्याण हुननसक्ने, समाजमा दिगो शान्तिकायम नहुने, साम्राज्यवादीविस्तारवादी आक्रमणलाई थेग्ननसक्ने, जातीय सहिष्णुता खलबल्याउने र आर्थिक विकासको प्रक्रियालाई अवरुद्ध पार्नेभएकाले सुदृढ र एकीकृत राज्यनिर्माणको प्रक्रिया अगाडि बढेको हो । मुलुक एकीकरण प्रक्रियामा यहाँका सबै जातजाति र भाषाभाषिको विशिष्ट योगदान रहेको कुरा इतिहासले पुष्टि गरेको छ । बिसे नगर्चि तिनै श्रमिकहुन् जसले नेपाल एकीकरण अभियानका अभियन्ता तत्कालिन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहलाई आर्थिक क्षेत्र सबल बनाउने बारेमा सल्लाह दिएका थिए । गोरखाका विसे नगर्चि लुगा सिउने कथित ‘अछुत समुदाय’ का दर्जी थिए र विश्वास गरिन्छ कि उनले पृथ्वीनारायण शाह र दरवारका सदस्यहरूको कपडापनि सिलाउने गर्दथे ।
मानव सभ्यताको विकासक्रममा जीवनलाई सहज, सरल र समुन्नत तुल्याउन मानिसले एक आपसमा श्रम विभाजन गरेका हुन् । श्रमलाई आधार मानेर शोषक वर्गले आफू अनुकूल शासनसत्ता चलाउन मानिसलाई उचनिच जातमा वर्गीकरण गरेको इतिहासले बताउँछ । गुजाराकानिम्ति गरिएको कार्यविभाजनलाई आधार मानेर विभेदको थालनी गरियो । वैज्ञानिक खोज तथा अनुसन्धानले महत्वपूर्ण उपलब्धि हासिल गरिसकेको वर्तमान विश्वका विभिन्न मुलुकहरूमा रुढिवादमा आधारित जातीय पर्खालको यो अमानवीय प्रवृत्ति कायमहुनु दुःख र विडम्बनाको विषय बनेको छ । त्यसो त सबै ठाउँमा र इतिहासका सम्पूर्ण कालखण्डमा जातिगतविभेद उत्तिकै सघन रूपमा भएको छैन । जातीय विविधताबीच सहिष्णुभएर सद्भावयुक्त धारणा राख्दै मानिसहरू एकापसमा मिलेर बसेका र सहकार्य गरेका उदाहरणहरू धेरै छन् । यतिहुँदाहुँदै पनि विभिन्न देश र स्थानमा जातीय विभेद कायम भएकाले त्यस आधारमा संघर्षहरूहुँदै आएको विषयलाई इन्कार गर्न भने सकिँदैन । हजाराँै हजार बर्षदेखि साँस्कृतिक रूपमा जरा गाडेर बसेको शोषण र विभेद सिनित्तै हटेर जानभने समय लाग्छ भन्ने निष्कर्ष विभिन्न अध्ययन अनुसन्धानले देखाएका छन् । वास्तवमा प्रकृतिको सुन्दर उपहारसिङ्गो मानव नै एउटा जातिहो । मानिस महिला र पुरुषमामात्र फरक हुनुपर्ने हो र हुन्छ । त्यसैले भविष्यमा संसारबाट जातीय शोषण दमन बिलाएर जानेछ । अन्धविश्वास परास्त हुनेछ र मानिसले नै जित्नेछ ।
नेपाल एकीकरण प्रक्रियामा कथित ‘अछुत’ बिसे नगर्चिको सुझावलाई राज्यले सुनेको र अपनाएको इतिहास हाम्रा सामु छ । यस महानअभियानमा महत्वपूर्ण योगदानगर्ने विभिन्न जातजातिका विभिन्न पात्रहरू छन् । एकीकरण अभियानमा समर्पित ती राष्ट्रप्रेमी, देशभक्त र शहीदहरूको गाथा उजिल्याउन यस आलेखमा संभव छैन । असाध्यै धेरै चर्चा पाएका, विभिन्न कोणबाट टिप्पणी हुने गरेका पात्रहरूमध्ये पृथ्वीनारायण शाह र बिसे नगर्चि पनि हुन् । यीदुबै पात्रहरूका बारेमा नेपाल राष्ट्र रहुञ्ज्यालसम्म विभिन्न पक्षबाट चर्चा भइरहनेछ । वास्तवमा तीदुई पात्रमात्र होइनन् प्रवृत्तिपनि हुन् । राजनीतिमा जो शक्तिशाली छ त्यसकै बढि चर्चा र आलोचना हुन्छ भन्ने भनाईलाई सहज रूपमा लिँदा पृथ्वीनारायण एकीकरण अभियानका नायक भएकाले उनको बढि चर्चा हुनु स्वभाविक हो । बिसे नगर्चिको बारेमा चर्चा त हुन्छ तर उनले एक असल नागरिकको नाताले राज्यलाई आर्थिक संकट परेका बेला महत्वपूर्ण सुझाव दिएकाले समाजको कुनैपनि कुनाबाट हालसम्म विरोध भएको छैन र भविष्यमापनि हुँदैन होलाभन्ने अपेक्षागर्न सकिन्छ । सामन्ती समाजमा अवसर र न्याय नपाएर किनारामा पारिएको जातिका एक पात्र बिसे नगर्चिले नेपालको महान एकीकरण अभियानलाई सार्थक तुल्याउन दिएको व्यावहारिक सन्देशमा के त्यस्तो बिटुलो सुझाव छ जसले समाजलाई अहित गरोस् र उनको आलोचना होस् ! नेपालको सामन्ती समाजमा कथित ‘अछुत जात’ को रूपमा दरिएका बिसे नगर्चिको राष्ट्रिय सिर्जनशील चिन्तन साहसको पनि परिचायक हो । एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले बिसे नगर्चिको सुझावलाई आत्मसातगर्दै आफ्नो अभियान सार्थक तुल्यान अग्रसर हुनु सामाजिक सद्भावयुक्त परिवेशको अवस्था हो । यस घटनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित काव्यिक कृति मुनामदनको ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्ने सन्देश चरितार्थ भएको छ ।
जबसम्म विश्वबाट साम्राज्यवाद र विस्तारवाद पूर्णरूपमा पराजित बनेर शान्ति, स्वाधीनता र स्वतन्त्रताको अभियानले निर्णायक सफलता हासिलगर्दैन त्यसबेलासम्म राष्ट्रियता सुदृढीकरण अभियानले विश्राम पाउने छैन । त्यसो त राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको आन्दोलनको रूप र शैली कुनैबेला सशक्त र कुनैबेला मधुरो हुनसक्छ । नेपालकै सन्दर्भमा पनि त्यो लागू हुन्छ । जस्तो कि अहिले नेपालको राष्ट्रियता संरक्षण र भौगोलिक अखण्डता कायमगर्ने अभियान सशक्तरूपमा अघि बढिरहेको छ ।
नेपालले बाध्यताबस आफ्नो भूगोल खुम्चिने गरी सन् १८१६ मा गरेको सुगौली सन्धीले निर्धारण गरेको अन्तर्राष्ट्रिय सीमामा अतिक्रमणका प्रयासहरू भइरहेकै छन् । सम्झौता भएर टुङ्गो लागेको दुई शताब्दीभन्दा बढि भइसक्दापनि सीमाक्षेत्र मिच्दै विवाद झिक्ने प्रयास हुनु दुःखको विषय हो । यस वर्ष सरकारको नीति तथा कार्यक्रममा नक्सामा छुटेको लिम्पियाधुरा, लिपुलेक र कालापानीको नेपाली भू–भागलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा भएपछि सर्वत्र खुसीको माहोल सिर्जना भयो र त्यसको केहि दिनपछि नै नयाँ नक्सा सार्वजनिक गरियो । नयाँ नक्सा बमोजिम नै संविधानमा निर्धारित निशान छापलाई स्थापितगर्न अगाडि सारेको संविधान संशोधन विधेयक प्रस्ताव प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भई प्रकट भएको राष्ट्रिय सहमतिले राष्ट्रियताका सन्दर्भमा संसदमा जुटेको अभूतपूर्व एकता स्पष्ट भएको छ । हिजो राष्ट्रपतिबाट संविधान संशोधन विधेयक प्रमाणीकरण भएपछि स्वतःस्फूर्तरूपमा देशभर दीपप्रज्ज्वलन गरेर खुशीयाली मनाइयो र अतिक्रमित नेपाली भूमिफिर्ता लिइछाड्ने संकल्प गरियो ।
नेपालमा गणतन्त्र स्थापित भइसकेको भएपनि अझैसम्म सामन्ति चिन्तन र प्रवृत्तिहरू निर्मूल भइसकेका छैनन् । संविधान र कानूनले जातका आधारमा गरिने भेदभावलाई दण्डनीय बनाएको त छ तर समाजका विभिन्न क्षेत्रमा जातिय शोषणका विभिन्न रूपहरू कायमै छन् । कानूनको प्रभावकारी कार्यान्वनगर्दै र शिक्षा विस्तारसहित सामाजिक चेतना एवं जागरण फैलाउँदै अघि बढेमा वर्गीय शोषण उत्पीडन समाप्त हुनेछ र त्यसबेला मुलुकबाट जातिय तथा साँस्कृतिक थिचोमिचो पनि हराएर जानेछ । यो कुरा अहिले पनि आर्थिक रूपमा सबल र सामाजिक रूपमा प्रतिष्ठित व्यक्ति वा परिवार जसलाई ‘तल्लो जात’ को भनिन्छ उसलाई समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहार आमदलित समुदायभन्दा फरक पाइन्छ । यसबाट जातिय शोषणको जगआर्थिक असमानता र वर्गीय विभेद नै हो भन्ने कुरा प्रष्ट हुन्छ ।
वर्ग विभेदको अन्त्यको अभियानलाई सशक्तपार्ने क्रममा नै जातिय शोषणको प्रक्रिया पनि कमजोर हुँदै जानेछ । जातिय शोषणको मात्र विरोध गर्ने तर वर्गीय विभेदको अन्त्यको लागि अभियान नचलाउने प्रवृत्तितर्फ उन्मुख हुनेहो भने दलित समुदायको न्याय र समानताको आन्दोलन बरालिन्छ र निर्धारित लक्ष्य हासिलहुन सक्दैन । त्यसैले सम्बद्ध सबै राजनीतिकदल र जातीय आन्दोलनले उक्त कुरालाई आत्मसात गर्नुपर्दछ । जातीय विभेदको समाप्तिको लागि कथित ‘उच्चजात’ का सचेत मानिसहरूलागि पर्दैनन् भन्ने भ्रमबाट पनि मुक्त हुनुपर्छ । राष्ट्रमा सबै प्रकारको असमानताको अन्त्यखास जातीको अभियानबाट मात्रहुने होइन बरु प्रगतिशील विचारधाराले नै समाजलाई सहीमार्गमा अगाडि बढाउने भएकाले त्यो शक्तिको पहिचानगर्दै सँगै अघि बढ्नु नै उत्पीडित समुदायसहित सबैको भलो हुनेछ ।
नेपालको एकीकरण अभियानका महत्वपूर्ण पात्र बिसे नगर्चिको सुझबुझपूर्ण दृष्टिकोण र साहसको अनुशरणआम नेपाली श्रमजीविहरूले गर्नु पर्दछ । सबैले उच्चजातिय अहंकार र जातियहिनताबोध दुबै त्याग्नु पर्दछ । मानवजातिको कलङ्कको रूपमा रहेको वर्ण व्यवस्थालाई समूलरूपले नष्टपारेर सबै मानिस एकै जातिकाहुन् भन्ने सत्य सन्देश दिँदै त्यसको कार्यान्वयनगर्नु पर्दछ । जातिय एवं वर्गीय विभेद निर्मूल भएपछि मात्रमानवजीवन सदाका लागि सुखी र खुशी हुनेछ । यसका लागि राज्यको तर्फबाट जारी भएका संविधान, कानून, नीति तथा कार्यक्रमहरू कार्यान्वयनगर्दै समतामूलक समाज निर्माणका निम्ति प्रभावकारी प्रयास गर्नै पर्दछ ।
मुलुकमा भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रियताको आन्दोलन अघि बढिरहँदा बिसे नगर्चिजस्ता कर्मठ नागरिकको सुझबुझपूर्ण दृष्टिकोणलाई आत्मसातगर्दै अघि बढ्नु श्रेयष्कर हुन्छ । राज्यको पुनःसंरचनासहित मुलुक सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुखआर्थिक समृद्धिको अभियानमा अग्रसर बनेको बर्तमान परिवेशमा त अझ कुनैपनि अलमलनगरी सम्पूर्ण समुदायउ ज्ज्वलभविष्यका निम्ति एकाकार हुनुपर्दछ । यसबाट समतामूलक समाजनिर्माण गर्ने निर्धारित लक्ष्यहासिल गर्न सहज हुनेछ । अनिबिसे नगर्चिले देखेको सुदृढ र समृद्ध नेपालको सपना साकार तुल्याउने अभियानले सार्थकता प्राप्त गर्नेछ ।
साभार : चक्रपथ डटकम