काठमाडौं । राक्सिराङ गाउँपालिकाले शैक्षिक, स्वास्थ्य लगायत सार्वजनिक संस्थाहरुको नजिक सूर्ति, मदिरा तथा मादक पदार्थ जन्य सामाग्री बेखविचनमा रोक लगाएको छ । गाउँपालिकाले एक सूचना प्रकाशित गर्दै सार्वजनिक संस्थाहरुको एक सय मिटर आसपास त्यस्ता सामाग्री विक्रि वितरणका रोक लगाएको जनाएको हो ।
पालिका अध्यक्ष राजकुमार मल्लाद्धारा हस्ताक्षरित सूचनाको बुँदा नम्बर ३ मा भनिएको छ ‘शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायतका सार्वजनिक संघ, संस्था तथा कार्यालयहरुको १०० मिटर आसपासका क्षेत्रमा सूर्तिजन्य, मदिराजन्य र मादकपदार्थहरुको विक्रि वितरणमा रोक लगाउने साथै १८ बर्षमुनीका बालबालिकालाई त्यस्ता पदार्थहरुको विक्रि वितरण नगर्ने ।’
त्यस्तै गाउँपालिकाले सार्वजनिक सभा समारोह तथा कार्यक्रमहरुमा आयातित माला, खादा, ब्याचको प्रयोगमा समेत बन्देज लगाएको छ । पालिकाभित्र स्थानीय उत्पादनका सामाग्रीबाट निर्माण भएका सामाग्रीहरुको प्रवद्र्धन गर्न भन्दै कार्यक्रमहरुमा आयातिय माला, खादा, ब्याच लगायतको प्रयोगमा बन्देज गरिएको गाउँपालिका अध्यक्ष मल्लले बताए ।
यसैगरी गाउँपालिकाले जंक फुड, पेय पदार्थको प्रयोगलाई समेत विस्तारै न्यूनिकरण गर्दै लैजाने र स्थानीय, रैथाने तथा मौलिक पदार्थहरुको सेवन र प्रयोगमा जोड दिने बताएको छ ।
