• शुक्रबार, साउन ८ २०८३

धुम्रपानले निम्ताइरहेछ स्वास्थ्य जोखिम

'यसबारेमा नेपाली समाजमा जनचेतनाको अभाव देखिन्छ'


बुधबार, असार १३ २०८०
3.9K
Shares

‘पानी र जवानी कहिले फर्केर आउँदैन,’ कुलतमा लागेर जीवन बर्बाद गर्नेहरुमा यो भनाइ उत्तिनै उपयोगी देखिन्छ । कास्कीका साजन घतानेलाई हेरौं न । पहिलो चुरोटको सर्को तान्दा उनले भर्खर कलेज जीवन सुरु गरेका थिए । त्यो पनि साथीको लहैलहैमा लागेर धुम्रपान गर्न थालेका हुन् । चुरोटबाट सुरु भएको उनको यात्रापछि सिरिन्जतिर मोडियो ।

अरुले कुरा सुनेर सुइको टेष्ट लिन कौतुहलता जाग्न थाल्यो । घरमा एक्लो छोरा भएकाले पैसाको कमी थिएन । एकदिन घरबाट घुम्न भनेर निस्किएका साजन चुरोटको धुवाँसँगै सुइँको लठ्याइमा घर जानै भुले । कारण थियो नशालु पदार्थको डोजको भारीले थलिएको उनले शरीर उठाउनसम्म सकेनन् ।

अबेरसम्म छोरा घर नआएपछि आमा छोरा खोज्न मोबाइलमा नम्बर डायल गर्न थालिन् । तर, मोबाइल पनि उठेन । एक्कासी बेलुकाको ९ बजे घरको टेलिफोनमा कल आयो, ‘मणिपाल अस्पताल आउनु तपाईंको छोराको उपचार हुँदैछ ।’ उनकी आमा हतार—हतार अस्पताल पुगिन् ।

अस्पतालमा केही सयम प्रतीक्षापछि उनका छोराको रिपोर्ट आयो । उनको अत्याधिक चुरोट सेवन र सिरिन्जले गर्दा होस गुमिसकेको थियो । केहीबेरमा सज्जनको होसमा आए । उनी घर त फर्किए तर पहिलो पटक सिरिन्ज प्रयोग गर्दा एचआईभी बोकेर । त्यसपछि उनको जीवनमा जवानी आएको महसुस हुनै सकेन ।

तनहुँको अकलाकी ७३ वर्षीया राममाया नेपालीको कथा पनि धुम्रपानले सिर्जना गरेको दुर्गतिकै हो । तर, उनी आफू धुम्रपान गरेर क्यान्सरजस्तो घातक रोगकी बिरामी भएकी होइनन् । ‘मलाई नाकबाट श्वास फेर्न गाह्रो भएर अस्पताल गएकी थिए,’ उनले भनिन्, ‘डुम्रेको अस्पतालमा अब घाँटीमा प्वाल बनाउनुपर्छ भनेर डाक्टरले भन्नुभयो । काठमाडौंसम्म उपचार गर्न जाने आँट पनि आएन् ।’

कमजोर आर्थिक अवस्था भएकी राममायाले बिर्सेर पनि चुरोटको एक सर्को तानेकी छैनन् । तर, आफ्नो ५० वर्षको वैवाहिक जीवनमा उनी निरन्तर श्रीमानले गर्ने अप्रत्यक्ष धुम्रपानको शिकार भइरहिन् । ७ वर्षअघि उनका श्रीमानको मृत्यु भयो, अहिले उनलाई पनि क्यान्सर भएको पुष्टि भएको छ ।

राममाया कहिल्यैं पनि श्रीमानले फुक्ने धुँवाले आफूलाई क्यान्सर बनाउँला भनेर सोचेकी थिइनन् । ‘मलाई थाहा थिएन उहाँले तानेको चुरोटले मलाई पनि असर गर्छ भनेर,’ उनले सुनाइन्, ‘छोराछोरी नभनेका होइनन् । तर, उनीहरुको कुरामा विश्वास नै लागेन ।’ अहिले उनी स्पष्टसँग बोल्न सक्दिनन्, श्वास फेर्न पनि गाह्रो हुन्छ । लामो प्रयासपछि उनी काठमाडौं आउन साहस जुटाइन् । भक्तपुर क्यान्सर अस्पतालमा उनमा छातीको क्यान्सर पुष्टि भयो । अहिले उनी उपचार गराइरहेकी छन् ।

साजनको जीवन वर्बादी र राममायाको घातक क्यान्सरसँग धुम्रपान प्रमुख कारण बनेको छ । साजनले चुरोट हुँदैं सुईसम्म पुगेर आफ्नो जीवन आफै बर्बादीमा धकेलेका हुन् भने राममायाका लागि उनका श्रीमानको धुम्रपान क्यान्सर बनेर शरीरमा गड्न पुगेको छ । यी दुई त प्रतिनिधी उदाहरण मात्रै हुन्, उनीहरुजस्ता सयौं प्रत्यक्ष तथा अप्रत्यक्ष धुम्रपानले आइलागेका हैरानी ब्यवहोरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का सूर्तिजन्य पदार्थ सेवनले विश्वमा हरेक वर्ष ८० लाखभन्दा बढी मानिसहरुको मृत्यु गर्छ । जसमा ७० लाख आफैले सूर्तिजन्य पदार्थ सेवन गरेर र १० लाख मानिस अरुले उपभोग गरेको सूर्तिजन्य पदार्थका कारण ज्यान गुमाउँछन् ।

जसमध्ये ८० प्रतिशत मृत्यु न्यून तथा मध्यम आय भएका नेपालजस्ता मुलुकहरुमा हुने गर्दछ । हाल नेपालमा कुल जनसंख्याको झण्डै २९ प्रतिशत मानिस धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्ने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सर्वेक्षण २०१९ ले बताउँछ । सूर्तिजन्य पदार्थको सेवनबाट नेपालमा हरेक वर्ष २७ हजार १०० जनाको अल्पायुमै मृत्यु हुन्छ । जुन नेपालमा हुने कुल मृत्युको झण्डै १५ प्रतिशत हो ।

सन् १९६४ यता करिब २५ लाख धूम्रपान नगर्नेहरूको ‘सेकेन्ड ह्यान्ड स्मोक’बाट मृत्यु भएको छ । ‘सेकेन्ड ह्यान्ड स्मोकिङ’ चुरोट, चुरोट वा हुक्काको धुवाँ हो । यदि धुम्रपान गर्ने व्यक्तिको वरिपरि बसेको अर्को व्यक्ति त्यो धुवाँको सम्पर्कमा आएमा उ दोस्रो हात धुम्रपानको शिकार हुन्छ । राममाया सेकेण्ड ह्याण्ड स्मोकिङकै शिकार भएकी छन् । यसबारेमा नेपाली समाजमा जनचेतनाको अभाव देखिन्छ ।

अहिले पनि ठूला सहरका सडकपेटी हुन् वा गाउँका चौतरी र चिया पसल अरुको प्रवाह नगरी चुरोट आनन्द लिनेहरुको कमी छैन । सार्वजनिक क्षेत्रमा सूर्तिजन्य र धुम्रपान निषेध गर्न नेपालले कानुन बनाएपनि त्यसको कार्यन्वयन पक्ष निकै फित्तलो देखिन्छ । जसले सिंगो समाजलाई नै धुम्रपानबाट उत्पन्न हुने स्वास्थ्य जोखिममा धकेल्दैं गएको छ ।

जनचेतनाले मात्रै रोक्न सक्छ जोखिम

ललितपुर खोकनाकी सम्झना मगर पेशाले गृहिणी हुन् । उनी धुम्रपान गर्दिनन् । तर, सम्झनालाई अरुले धुम्रपान गरेको पनि मन पर्दैन् । ‘मलाई धुम्रपान गरेको पटक्कै मन पर्दैन्,’ उनले भनिन्, ‘झन सार्वजनिक ठाउँमा धुम्रपान गर्ने मानिसहरूलाई त म समातेर पिटौंजस्तै हुन्छ ।’ आजभोलि बाटो, सहरका रेष्टुराँ, गाउँका चौतारी र जमघटहरुमा धुम्रपान गरेपछि औला ठ्डयाउनेहरु क्रमसः बढ्दैं गएका छन् ।

कलंकीकी जुना शर्मा पेशाले विद्यार्थी हुन् । मानिसहरुले धुम्रपान गरेको उनलाई फिटिक्कै मन पर्देनन् । ‘चुरोटको धँुवादेखि भित्रैबाट रिस उठेर आउँछ,’ यी युवा विद्यार्थी गफिइन्, ‘बाटोमा चुरोट खाँदै हिँड्ने मानिसहरूदेखि एकदमै घिन लाग्छ । खानेलाई त बडो आनन्द हुन्छ होला, रमाइलो लाग्ला तर हामी नखानेलाई त्यसले कति असर पारिरहेको हुन्छ भन्ने पनि सोच्दैनन् ।’

सचेत नागरिक भन्न रुचाउने उनी बाटोमा चुरोट खाँदै हिडिरहेका मानिसहरुलाई चुरोटका असरबाट बुझाउने प्रयास गर्छिन् । तर, धेरैले उनको कुरा सुन्दैनन्, कोही त उल्टै रिसाउन थाल्छन् ।

कलेज नजिकका क्याफे, रेष्टुराँ, सार्वजनिक गाडी असभ्य तवरमा धुम्रपान गर्नेहरु पनि उत्तिकै देखिन्छन् । हेर्दा सुटबुटमा टिलिक्क टल्केकाहरु पनि सार्वजनिक क्षेत्र र आफूले धुम्रपान गर्दा अरुलाई पर्ने असरको ख्याल नै नगरी धुँवा उडाउँछन् । यसले जनस्वास्थ्य सरोकारको महत्वलाई बढाइदिएको त छ नै मानिसमा जनचेतनाको कमी पनि देखाउँछ ।

स्थानीय अगुवा, स्थानीय तहहरुले पनि सार्वजनिक स्थानमा धुम्रपान निषेधको नीति लिएका छन् । जसको प्रभाव अहिले विस्तारै देखिन थालेको छ । तर, सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरुलाई दिइने सजाय कठोर छैन । जसका कारण मानिसहरु सजाय हुँदा पनि आफ्नो बानी त्याग्दैनन् । कानुन कार्यन्वय पक्षधरहरु पनि यही कमजोर दण्ड व्यवस्थाका कारण सार्वजनिक स्थानमा हुने धुम्रपान र त्यसले निम्त्याउने जोखिमलाई कम गर्न कठिन हुने बताउँछन् ।

कसरी छाड्न सकिन्छ धुम्रपान ?

  • डा. रवि महत
  • श्वास श्वास तथा छाती रोग विशेषज्ञ, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल

– धुम्रपान छोड्ने मिति तोक्ने र त्यसमा अडिग रहने ।
– किन छोड्न चाहेको भनेर उल्लेख गर्ने र त्यसलाई धूम्रपान नछोडुन्जेल र छाडेपछि पनि प्रत्येक दिन पढ्ने ।
– किन धुम्रपान गर्नु परेको र केले गर्दा तलतल लागेको भन्ने कुरा पनि स्पष्टसँग टिप्ने ।
– धुम्रपानको सट्टामा गर्न सकिने गतिविधिको सूची बनाउने ।
– म धुम्रपान नगर्ने व्यक्ति हुँ भन्ने विचार राख्ने ।
– धूम्रपान छोड्ने आफ्नो योजना परिवार र साथीहरुलाई सुनाउने र उनीहरुलाई यस काममा सहयोग गर्न अनुरोध गर्ने । साथै, धूम्रपान गर्ने परिवारका सदस्यलाई आफूसँगै छोड्न अनुरोध गर्ने ।
– आफ्नो स्वास्थ्यको हेरविचार गर्ने व्यक्तिसँग धुम्रपान छोड्न मद्दत गर्ने चिजहरुका बारेमा सोध्ने । जस्तो कि सुकुमेल मुखा राख्ने, चुइँगम खानेजस्ता काम गरेर धुम्रपान गर्ने बानी हटाउन सकिन्छ ।

लेखक न्यौपाने स्वास्थ्यका क्षेत्रमा कलम चलाउनु हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार