मनहरी बजारबाट डेढ घण्टा जति अटोमा यात्रा गरेपछि पुगिन्छ देविटार गाउँ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ मा पर्ने यो गाउँमा मुख्य बसोबास चेपाङ समुदायको छ ।
साविक काँकडा गाविसका २, ३ र ४ नम्बर वडालाई मिलाएर अहिले वडा नम्बर ८ बनाइएको छ । भौगोलिक रुपमा अत्यन्त विकट मानिने यो वडाका गाउँहरु फिजारिएका छन् । फिजारिएकोमध्येका एक गाउँ देविटारसम्म पाँच ठाउँमा मनहरी खोला तर्दै अटो पुग्छ ।
देविटारमा करिब ३० घर छन्, सबै चेपाङ समुदायका । उनिहरु सबैजसो किसानी गर्छन् । रिपोर्टिङमा मकवानपुरका धेरै गाउँ पुग्ने सिलसिलामा जेठ दोस्रो साता हामी देविटार पुगेका थियौ । सहनै नसकिने चर्को घाम । प्यास उत्तिकै । झोलामा बोकेको बोतलको पानी सकियो । यता उता हे¥यौ । अधिकांश घरमा मान्छे देखिएनन् । कोही बारीकै काममा ब्यस्त थिए त कोही गोठालोमा भेटिएका थिए ।

देविटार गाउँको विचैमा पर्ने एक घरको पिंढीमा दुई–तिन जना देखिए । दलिनमा झुण्डाइएको रेडियो बजिरहेको छ । एक जना ५० बर्षजति उमेर देखिने पुरुष पिंढीमा बसेर जाल बुनिरहेका छन् । हामी पुग्ने वित्तिकै उनले जिज्ञासा राखिहाले ‘सारहरु कताबाट आउनुभा ?’
पानी मागेर खाँयौ, हामीसंग रहेको खाली बोतलपनि भर्यौ । दिउँसो चर्को घामका बाबजुद घरभित्र अगेनोमा केहि पाक्दै गरेको सहजै अनुमान गर्न सकिन्थ्यो । माछा मार्ने ढोक्सा बनाउनु भएको ? भन्दै जाल बुनिरहेका पुरुषको नजिक गएँ । नाम रहेछ आरदेसिंह चेपाङ । ४७ बर्षका भएछन् ।
आफ्नो परिचय दिएर गाउँका बिषयमा कुराकानी हुदै थियो । त्यसवीचमै भित्रबाट एक महिलाले थालभरी उसिनेको फर्सि काटेर बनाइएको पिस जस्ता लाग्ने खानेकुरा ल्याएर दिइन् । सोधेपछि थाहा भयो त्यो गिट्ठा रहेछ । मैले पहिलो पटक देखेको र खाएको । सुन्दै आएको गिट्ठा खानै पाएपछि यसबारेमा धेरै कुरा जान्न मन लाग्यो ।
आरदेसिंह चेपाङ, ५२ सालमै एसएलसी पास गरेर २ बर्ष ‘प्रोजेक्ट’ मा पनि काम गरेका रहेछन् । त्यहि बेला गिट्ठाको बारेमा सामान्य अनुसन्धान पनि गरेको उनले सुनाए । यसैवीच गिट्ठा खादै हामीले उनिसंग संक्षिप्त कुराकानी गरेका छौ ।

के हो गिट्ठा ?
गिट्ठा जंगलमा पाइने कन्दमूल हो । सामान्यतया भोकमरी र अभाव टार्न गिट्ठा–भ्याकुर जस्ता कन्दमूललाई खानाको रुपमा प्रयोग गरिन्छ । अन्नको अभाव हुँदा वैकल्पिक खानाको रुपमा गिट्ठा खाने गरेको समाचार तपाईहरुले लेखेकै वा सुनेकै होला ।
विशेष गरेर चेपाङ समुदायले यस्ता कन्दमूलहरुलाई खानाको रुपमा प्रयोग गर्दै आइरहेका छन् । तर पछिल्लो समय बजारबाट आउने खानेकुराले गिट्ठालाई लोप बनाउने स्थिती छ ।
गिट्ठा हाम्रो पूर्खेउली खाना हो, तर यो खाना मात्रै पनि होइन, गिट्ठा र भ्याकुरसंग हाम्रो संस्कृती, परम्परा र पहिचान पनि जोडिएको छ । हामी र वन जंगलसंगको सम्बन्ध गाढा बनाउनुमा गिट्ठाको जस्तो भुमिका अरुको छैन । गिट्ठाको आकार सामान्यत गोलो र तौल एकसय ग्रामदेखि आधा किलोग्राम भन्दा बढीसम्मको हुने गर्छ ।
गिट्ठा कहाँ र कहिले पाइन्छ ?
यो हाम्रै वरिपरिका जंगलहरुमा पाइन्छ । तर अलिबढि घना हुनुपर्छ । यसको रुख हुने होइन, लहरा हुने हो । लहराको जरा खोज्दै जादा जमिनको करिब १ इन्च तल गिट्ठा पाइन्छ । डल्लो आकारमा जमिन मुनि लहराको जराका रुपमा यो रहने हो ।
यसको सिजन भनेको यहि जेठ महिनाको पहिलो हप्तादेखि नै सुरु हुन्छ । असार लागेपछि चाहि हुर्किसक्छ र खानै मिल्दैन, कामै छैन । बर्षमा २ पल्ट गिट्ठा टिप्ने सिजन हुन्छ । अर्को सिजन भनेको असोज कार्तिक हो । त्यतिखेरको गिट्ठा चाहि साह्रै मिठो र स्वादिलो हुन्छ । हाम्रो गाउँघरमा पाइने तरुल जस्तै हुन्छ त्यतिबेलाको गिट्ठा ।
जेठको गिट्ठाचाही अलि खल्लो हुन्छ । तर खोज्नेले पुष माघतिर पनि खोज्छन् । अलि गाह्रो हुन्छ, खासै मिठोपनि हुदैन त्यतिबेलाको ।

खान मिल्ने कसरी बनाउने गिट्ठा ?
गिट्ठा सुन्दा जति सहज लाग्छ खोज्न र खान मिल्नेसम्म बनाउन उत्तिकै दुख छ । गिट्ठा पकाउने तरिका धेरै नै हुन्छन् । ठाउँ अनुसार तरिका फरक पर्न जान्छ । जंगलबाट खोजेर ल्याएपछि भुत्ला फालेर बोक्रा ताछ्न पर्यो ।
यसको आकार, बनोट मिलाउनु पर्छ । राम्रोसंग खुर्काउनु पर्यो । त्यसपछि मसिनो चना बनाएर पिस–पिस बनाउनु पर्छ ।
त्यसपछि त्यो पिसपिसमा राम्ररी खरानी दल्नुपर्छ । एउटा भाँडोमा पानी तातिरहेको हुन्छ । अब त्यो खरानी दलेको पिसहरुलाई पानीमा तताउँछौ । एक पटक तताएर हुँदैन, ४ पल्टसम्म पानी हाल्दै पानी सुकाउदै गर्नुपर्छ । दुई–तिन घण्टा ‘ननस्टपै’ पकाउनुपर्छ ।

त्यसपछि गिट्ठा पाक्न थाल्छ । रातो हुदै आउछ । नपाकेको गिट्ठा तितो हुन्छ । यसलाई मिठो बनाउन धेरै बेरसम्म पानीमा उमाल्ने नै हो । अनि पखालेर खान मिल्ने हुन्छ । जुन अहिले तपाई खादै हुनुहुन्छ । यसले स्वास्थ्यलाई एकदम ठिक गर्छ ।
स्वास्थ्यलाई के ठिक गर्छ ? गिट्ठा खाँदा शरिरलाई फाइदा हुन्छ ?
गिट्ठा भन्दा जति सामान्य लाग्छ, यसको फाइदा उत्तिकै महत्वपूर्ण छ । यो अनिकालको खाना मात्रै होइन नी, औषधीपनि हो । सधै खाँदापनि केहि फरक पर्दैन गिट्ठा । यसको फाइदै फाइदा छ ।
तपाईलाई हल्का ज्वरो आयो, ज्यान दुख्यो, औडाहा बनाएको छ भने गिट्ठा खानुस् यसले ठिक बनाउछ । गिट्ठाले बजारमा पाइने बरफ आइसक्रिमको पनि काम गर्छ । धेरै गर्मी भएको बेला गिट्ठाको पानी खानुस् सित्तल बनाउछ । मुटु दुख्ने, हात खुट्टा झमझम बनाउने जस्ता समस्यालाईपनि यसले निको बनाउछ ।
अर्को प्रेसरका बिरामीलाई गिट्ठाले निकै फाइदा दिन्छ । नियमित रुपमा गिट्ठा खादा प्रेसरको रोगलाई सञ्चो बनाउछ । किनकी यो जंगलको कन्दमूल हो । तितो चिज हो । धेरै पटक प्रशोधन गरेर मात्रै खान मिल्ने बनाउदा यसका फाइदै फाइदा छन् ।

अहिले त गाउँमा अनिकाल छैन, कसरी प्रयोग गर्छन गिट्ठालाई ?
हाम्रो बाउबाजेको पालामा अनिकाल हुँदा बिहान बेलुकै गिट्ठा खाइन्थ्यो । तर अहिले अवस्था त्यस्तो छैन । अहिले गिट्ठाको प्रयोग भिन्न तरिकाले गर्छौ । तपाईले आज खानुभएको गिट्ठा घरको लागि बनेको होइन नी ।
आज गाउँमा एउटा संस्थाको कार्यक्रम छ, त्याँहा आउने सहभागी र पाहुनालाई खाजा नै भुजा र अचारसंग मिसाएर गिट्ठा खुवाउने हो ।
यसले पैसापनि आउने भयो । हाम्रो आफ्नो पहिचानपनि दिने भयो । अनि अर्को कुरा आजकल त गाउँपालिकाले चैनपूरमा हाट बजार लगाउछ । महिनाको १ गते र १५ गते । गाउँका दिनदीबहिनीले गिट्ठा पकाएर हाट बजारमा लगेर बेच्नपनि थालेका छन् ।
समग्रमा हेर्दा पछिल्लो समय गिट्ठा आर्थिक आर्जनको बाटोपनि बन्दै गइरहेको छ । त्यससंगै औषाधीको रुपमापनि प्रयोग भइरहेको छ र खान मन लाग्नेले खानाको सट्टामा गिट्ठापनि खाइरहेका हुन्छन् ।
