• शुक्रबार, साउन ८ २०८३

‘नेपालमै १७ वटा ओमिक्रोनको सव भेरिएन्ट घुमिरहेको छ’


मंगलबार, चैत्र २१ २०७९
4.1K
Shares

कोरोना अन्तिम माहामारी नभएको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका वरिष्ठ चिकित्सक डा.शेरबहादुर पुन नेपालले आफै खोप निर्माण गर्न जुट्नुपर्ने बताउछन् । चीन, भारत, अमेरिका लगायतका बिभिन्न कम्पनीहरुसँग सहकार्य गरेर नेपालले आफै खोप निर्माण गरेमा भोलीका दिनमा आउन सक्ने माहामारीबाट जोगिन सकिने उनको तर्क छ ।

पछिल्लो समय नेपालमा कोभिड १९ को महामारीको जोखिम केहि कम भएपनि यो भने अन्तिम नभएकाले सरकारले पूर्व तयारीमा थुप्रै काम गर्न बाँकी रहेको डा. पुन बताउछन् । विश्वमा कोभिड १९ कै नयाँ नयाँ भेरिएन्ट, सव–भेरिएन्टहरु देखिदै गर्दा नेपालमा त्यसको जोखिमको अवस्थाकाबारे सिभिलखबरका मोहसिन अलि मियाँले डा.शेरबहादुर पुनसंग कुराकानी गरेका छन् ।

कोभिड –१९ को दर पछिल्लो समय कम भएको छ । यो चार वर्षको अवस्थालाई कसरी सम्झिनुहुन्छ ?

कोभिड जसरी देखा प¥यो सम्भवतः मैले कहिल्यै पनि सोचेको थिइन । सरुवा रोगहरुमा ‘पेण्डामिक’ बेला बेलामा देखिने गरेको हो । युरोपमा ‘ब्ल्याकडेथ’ विभिन्न रोग, कलेराकै नामले चिनिने । नेपालमा पनि ‘क्लियर’ नभएको होइन । हामीले काम गर्दा पहिले–पहिले सुनिन्थ्यो । यतिसम्म थियो कि गाउँमा गाली ग¥यो भने हैजाले लग्न नसक्या भन्ने पनि थियो । बिचमा झाडापखाला मुख्यतः एक घण्टामा ४० देखि ५० जनाको हाराहारीमा भर्ना हुन्थे । मेरो सेवा अवधिमा यस्तो यस्तो पनि देखियो ।

जब यो कोभिडको समस्या आयो । यसको समस्या आएपछि यो भाइरसले जुन तरिकाले निरन्तरता पाइरहेको छ, यो हाम्रो सोचको भन्दा विपरीत हो । कुनैपनि महामारी एकपटक आएपछि जानुपर्ने हो । तर यसले आफूलाई निरन्तरता दिन सक्षम भएको छ । यो संसारका विज्ञहरुका लागि पनि चुनौतीपूर्ण बन्यो । यसले निरन्तर हामीलाई झस्काइरहेको छ । भाइसरले आफूलाई क्षमतावान् बनाएर निरन्तरता दिन सक्दो रहेछ ।

अर्को, खोपको महत्व कति भनेर पनि सिकाएको देखिन्छ । टेक्नोलोजीका रुपमा कोरोनाको खोप सबैभन्दा छिटो बनेको हो । त्यसकारण धेरै जनता खोपप्रति सशंकित पनि भए । अन्तर्राष्ट्रिय विज्ञहरुले पनि यसले यति लामो समय दःुख दिइराख्ला भनेर सोचेका थिएनन् ।

अहिले चीनमा देखा परेको ओमिक्रोनको सव भेरिएन्ट बिएफ–७ ले त्यहाँ लाखौं संक्रमित हुन सक्ने अवस्था सिर्जना भएको छ । यो भारतमा पनि पुष्टि भैसकेको अवस्थामा नेपालमा यसको जोखिम कस्तो छ ?

संसारको कुनै पनि कुनामा देखिएपछि यो नेपालमा देखिदैन होला भन्ने कुरै हुदैन । सार्स कोरोना भाइरस टु भन्छन् तर कोभिड १९ भनेको बिरामी भैसकेको अवस्था हो, यो दुई वटा हो । तर अहिले हामीले बोलीचालीको रुपमा एकै शब्द प्रयोग गरेका छौ । नेपालमा ओमिक्रोनको तेस्रो लहर सकिएपछि ओमिक्रोन भेरिएन्ट भयो त्यो अर्को सव भेरिएन्ट भयो ।

अझै स्पेसल टर्मेनोलिष्ट सव रिलिज पनि भन्ने गर्छौ । नेपालीमा उपप्रजाती भन्छु मैले । त्यो जो ओमिक्रोनको सव भेरिएन्ट भनेर बिएफ ७ को असहज परिस्थिति सिर्जना भएपछि नाम बाहिरआएको हो । नेपालमै १७ वटा ओमिक्रोनको सव भेरिएन्ट घुमिरहेको भन्ने केही हप्ता अगाडी नेपाल सरकारले निकालेको एक सुचनामा देखिन्छ ।

अमेरिका, युरोपमा सव भेरिएन्ट देखिएको समाचार सुनिरहेकाले नेपालमा पनि यत्तिका भेरिएन्ट रहेछ भन्ने कुराले खासै आश्चर्यचकित चाँहि बनाएन । नेपालमा लामो समय खोज नहुँदा के होला भन्ने मनमा लागिरहन्थ्यो । चीनमा देखिएपछि नेपालले पनि जब परीक्षण ग¥यो, त्यसमा १७ वटा भेरिएन्ट देखियो ।

तर चीनमा बिएफ ७ लाई परिस्थिति असहज देखाउने कारक मानिन्छ । तर त्यहाँ अरु पनि छन्, यो चाँहि सबभन्दा लिगिल भन्ने छ । त्यो नेपालमा पुष्टि भएन केही अगाडीसम्म ।

यस्तै भारतमा गत जुन जुलाईतिर बिएफ ७ देखिएको भन्ने कुराहरु छ । तर त्यहाँ चीनमा जस्तो परिस्थिति सिर्जना भएन । अथवा कुनै लहररको विकास भएन । त्यो भोली नेपालमा देखियो भने व्यक्तिगत रुपमा आश्चर्यचकित भने हुँदिन । यो सँगसँगै हामी कति डराउने भन्ने प्रश्न पनि जोडिएर आउछ ।

चीनमा भएको जस्तो हुबहु स्थिति नहोला किनभने केही समय अगाडी भारत, अमेरिका र युरोपमा देखिएको तर त्यहाँ चीनमा देखिएको सव भेरिएन्ट नभएर अरु भेरिएन्टले अघिल्लो भेरिएन्टलाई प्रतिस्थापन गर्दै गएको भनिएको छ । जस्तै उदाहरणमा एक्सभिभि १.५ को कुरा गर्न चाहे, किनभने यो विश्वमा अलिकति युरोप अमेरिका तिर चर्चा भयो । उत्तर चीनमा बिएफ ७ देखा प¥यो । यसले गर्दा नेपालमा संक्रमण नआउला भन्न सकिने ठाउँ छैन ।

यो कस्तो खालको भाइरस हो, कति घातक छ ?

ओमिक्रोनमा हामीले जुन लक्षणहरुका बारेमा कुरा ग¥यौ, नाकबाट पानी बग्ने हाच्छ्यौ आउने, घाटी दुख्ने, ज्वरो आउने रुघाखोकीसँग मिल्दोजुल्दो छ भनिएको छ । यद्यपी नेपालमा प्रत्यक्ष बिरामी हेर्न पाएका छैनौ । सबैको प्रश्न यहि छ, त्यहाँ कति घातक र यहाँ कति भन्ने ।

चीनमा जति भयो त्यती नेपालमा पनि होला भन्ने कुरामा म विश्वस्त छैन । किनभने चीनमा बिएफ ७ नयाँ भेरिएन्ट बनेको होइन । त्यो भन्दा अगाडी अमेरिका र युरोपमा त्यो सव भेरिएन्ट घुमिरुहेको थियो । तर त्यहाँ त्यस्तो अवस्था भएन । भारतमा पनि कुनै लहर विकास भएन ।

चीनमा विशेष अवस्था सिर्जना भएको थियो जसले गर्दा यो अवस्था आयो होला भन्ने मेरो आफ्नो विश्लेषण छ । त्यहाँबाट जानकारीहरु प्रष्ट आइदिएको भए केही भन्नै पर्दैनथ्यो । त्यहाँबाट कुनै जानकारी नआएपछि आफ्नो तरिकाले विश्लेषण गर्नुपर्दा सम्भवतः यो यो कारणले होला भन्ने बेलाबखतमा मैले भनिरहेको छु ।

कुन उमेर समुहका व्यक्ति यो संक्रमणको जोखिममा पर्ने बढि सम्भावना छ ?

मेरो अनुभवमा यसको पूर्खा ओमिक्रोन नै हो । यी अरु सबै सव भेरिएन्ट मात्रै हुन् । त्यसो हो भने तेस्रो लहरको कारक ओमिक्रोन नेपालमा र ओमिक्रोन सम्भवतः हामीले अनुसनधान गर्दा के देखायो भने डेल्टा वा त्यो भन्दा अगाडीको भेरिएन्ट भन्दा कम घातक छ । ओमिक्रोनले जति छिटो मान्छेलाई संक्रमण ग¥यो उति नै छिटो तिव्र गतिमा यो खस्कियो पनि । त्यो बेला नेपालमा आठदेखि दश जनाको मृत्यु भइराख्थ्यो ।

पहिलेको भन्दा मृत्युदर कम भएपनि मान्छे मरिरहेका थिए । मेरो स्वार्थ के भयो भने त्यो कस्ता व्यक्तिको मृत्यु भइरहेको छ त ? मैले व्यक्तिगत रुपमा अस्पतालको तथ्यांक हेरे । हेर्दा महिला वृद्धवृद्धा । यसो हे¥यो ६५, ७५, ८० वर्ष । दोस्रो के देखियो भने कुनै न कुनै रोग जस्तै उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सर लगायतका रोग भएका थिए । तेस्रो, सबैभन्दा महत्वपुर्ण खोप नलगाएका वा पुरा नगरिएकालाई आमिक्रोनले जोखिममा पारेको थियो । यो अस्पतालमा हामीले प्रत्यक्ष देखेको कुरा हो ।

त्यही समयमा हङ्गकङ्गमा ओमिक्रोनले भटाभट मान्छेहरु मरे । मैले त्यहाँको डाटाहरु पढ्न थाले ९० प्रतिशतले त्यहाँ खोप नै लगाएका रहेनछन् । त्यहाँ पनि वृद्धवृद्धा र खोपप्रति आशंकित भएर नलगाएकाहरु रहेछन् । मैले दुई देशको उदाहरण किन दिए भन्दा, अब म चीनतिर जोडिन जान्छु ।

त्यहाँ पनि युवाहरुको मृत्यु नभएर अथवा अस्पताल भर्ना हुने अवस्था सिर्जना नभइकन बुढाबुढी नै छन् । समाचारहरुमा त्यस्तो देखिन्छ । म चीनको होइन उसले डब्लुएचओलाई पनि डाटा दिएको छैन । सम्भवतः यहि केस भयो होला । चीनमा बुस्टर लगाएको पनि लामो समय भयो । हामी नेपाल, युरोप, अमेरिका र भारततिर के भयो भने भर्चुअली जनस्वास्थ्यको मापदण्ड कतैपनि लागू छैन ।

१७ वटा सव भेरिएन्ट, अब विचार गर्नुहोस् । छोटै समयका लागि सहि तर इन्फेक्सन के हुन्छ । हामी एकअर्कामा खुकुलो भएर आफुमा भएको भेरिएन्ट आदानप्रदान गरिरहेका छौ । खोपले कम गर्ने त भयो नै सँगसँगै प्राकृतिक रुपमै इन्फेक्सन पनि भइरहेको छ । हुबहु चीनको जस्तो नहोला भन्नुको कारण ती कारणहरुलाई आधार मान्न सकिन्छ ।

यी १७ वटा सव–भेरिएन्टको जोखिममा खोप लगाएकाहरु प्नि पर्न सक्छन् ?

खोप लगाएर संक्रमण नहुने होइन । यसले संक्रमण हुन सक्ने जटिल अवस्थालाई कम गर्ने मात्र हो । अथवा सय प्रतिशत मृत्युलाई घटाउने हो । भनेको, खोप नलगाएको भए ७० देखि ८० प्रतिशत विरामी हुन्थे भने खोप लगाएपछि विरामी हुनेको प्रतिशत घटेको छ । कतिपयले खोप लगाएपनि घाटी दुख्ने, ज्वरो आउने हुँदोरहेछ भन्ने गरे तर यदि नलाएको भए त्यही लक्षण कडा रुपमा देखिन्थ्यो । हामीले यसरी बुझ्नुपर्ने हुन्छ । खोप लगाइसकेकालाई संक्रमण भएपनि जटिल अवस्थामा जाने स्थितिलाई धेरै कम गरेको अनुसन्धानले देखाएको छ ।

नेपालमा यो भेरिएन्ट भित्रन नदिन के गर्नुपर्ला ?
हङ्गकङ्गमा देखिएको समस्या नेपालसँग मिल्यो । चीनमा अनुमान गरेको पनि लगभग त्यही हो । अब पहिलो र महत्वपूर्ण भनेको जसले खोप लगाउनु भएको छैन, विशेषगरी वुष्टर लगाउनु भनेको । दुई डोज धेरैले लगाएका छन् । करिब ८० प्रतिशतले लगाएका छन् । जब बुस्टर लगाउने समय आयो त्यो २७ प्रतिशतको हाराहारीमा आएर खुम्चिएको छ ।

भारतमा पनि २७ देखि ३० प्रतिशतले मात्रै लगाए । दुईवटा खोप लगाउदा थप सुरक्षित हुन सकिन्छ । १७ वटा सव भेरिएन्ट घुमिरहेको छ । तर जम्मा २७ प्रतिशतले मात्रै दुई डोज लगाएको स्थिति छ । दुई डोजले मात्रै पनि धेरै राम्रो काम गर्दो रहेछ । धेरै जना एक डोज मात्रै खोप लगाएर छोडेका पनि छन् । दुई डोज लगाएर थप एक बुस्टर लगाउनु भयो भने थप सुरक्षित हुन सकिन्छ ।

यसमा विशेष गरेर ओमिक्रोन अघिल्लो भेरिएन्ट भन्दा कम घातक भन्दै गर्दा त्यसले जेष्ठ नागरिक, दिर्घरोगी र खोप लगाएका तर पुरा नगरेकालाई समस्या ल्याउछ । त्यसैले पुरा मात्रामा खोप लगाउनुस् । जनस्वाथ्यमा मापदण्ड पुरा भए सहज हुन्छ । तर व्यवहारिक रुपमा धेरै समस्याहरु छन् । माक्स लगाएर हिड्ने श्वासप्रश्वासबाट सर्ने कुरालाई रोक्न सकिन्छ ।

हामी नागरिकले पनि स्वास्थ्यका मापदण्डलाई अनुशरण गर्दै जाने हो भने सबैलाई फाइदा हुन्छ । माक्स लगाएर हिड्दा केही बिग्रदैन यसले कारोना भाइरसबाट नभइ धुवाधुलोबाट पनि जोगाउछ । लुकेर घरै बस्नुपर्ने स्थिति छैन तर स्वाथ्यको मापदण्ड अपनाउदै कार्यमा निरन्तर लाग्न सकिन्छ ।

यो संक्रमणको जोखिम दरलाई न्युनिकरण गर्न सरकारलाई केहि सुझाव छन् कि ?

नेपालमा कोरोनाको अवस्था के छ भनेर निरन्तर रुपमा परिचालन गर्न प¥यो । उदाहरणका लागि नेपालमा १७ वटा सव भेरिएन्ट रहेछ भन्ने कुरा अस्ति मात्रै जानकारी भयो । सबै भेरिएन्ट विदेशमै बनेर नेपालमा प्रवेश गर्छ भन्ने छैन । नेपालमै पनि नयाँ भेरिएनट बन्न सक्छ । काेराेनाकाे सम्पूर्ण चुनौती हटिसकेको अवस्था छैन ।

परिक्षणलाई निरन्तरता सरकारले दिनुपर्छ । दोस्रो सबैले पूर्ण मात्रामा खोप लगाउनुपर्छ र तेस्रो नागरिकले पनि आफ्नो स्वास्थ्य परिक्षण गर्नुपर्छ । नेपालमै पनि खोप निर्माण गर्नुपर्ने हुन्छ । किनभने हामी २१ औं शताब्दीमा प्रवेश गर्दै गर्दा नयाँ नयाँ रोगहरु देखा पर्दैछन् । अफ्रिका, अमेरिका, चीन लगायत देशमा देखिएको रोग नेपालमा नदेखिएला भन्ने छैन ।

अप्ठ्यारो अवस्थामा खोप कति महत्वपूर्ण रहेछ भन्ने कुरा हामीले देख्यौ । मान्छेहरु सबै खोपकै पछाडी दगुरे । भारतको सेरोम इन्सिच्युड अफ इण्डिया भन्ने कम्पनीले अन्य कम्पनीसँग सहकार्य गरे कोभिसिल बनायो । उसले नेपाललाई पनि दियो । त्यो पछि भारतले रोकिदियो त्यो रोक्दाखेरि धेरै मान्छेहरुको मृत्यु भयो ।

खोप लगाउन पाएको भए त्यति क्षति भारतले बेहोर्नुपर्दैनथ्यो । भारत, अमेरिकाको कम्पनहिरुसँग सहकार्य गरेर नेपालले आफ्नै खोप बनाउनमा ध्यान दिनुपर्छ । राज्यले नागरिकको सुरक्षाको तयारी गर्नुपर्छ । भवितभ्य सिर्जना भएपछि मात्रै काममा लाग्ने होइन भन्ने कुरा सोच्नुपर्ने भएको छ । आज कोभिड आयो , भोली अर्को केही संक्रमण आउन सक्छ । त्यसको तयारीमा पहिलेदेखि नै लाग्न सकियो भने मानविय क्षतिलाई कम गर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार