वायु प्रदूषण नेपालभर चर्को रूपमा देखिन थालेको छ । जैविक इन्धनबाट चल्ने सवारीसाधनको वृद्धिका साथै औद्योगिक कलकारखानामा खनिजजन्य इन्धनको प्रयोगले वायुमण्डलमा कार्बडाइअक्साइड लगायतका वायुमण्डल प्रदूषित गर्ने ग्यासको प्रयोग बढ्दै गएको छ ।
यस्तो वायु प्रदूषण हटाउन हिउँदे वर्षा आवश्यक भए पनि खासै बर्षा नभएकाले यसको प्रभाव झन बढ्न थालेको छ ।
पछिल्लो समय प्रदूषण मानवीय जीवनका लागि एउटा ठूलो समस्या बन्दै गएको छ ।
यसका धेरै कारण छन् । बढ्दो आवादीसँगै मानिसका आवश्यकता पनि बढ्छन् । खाद्यान्नदेखि सवारीसाधनसम्मको उपयोग बढ्छ । जसले गर्दा वातावरणमा तीव्र प्रदूषण बढ्छ र मानिस अनेकौँ रोगको सिकार बन्छ । वायु प्रदूषणका कारण दिनप्रतिदिन मानवीय स्वास्थ्य बिग्रँदो छ । पर्यावरणमा पनि यसको नराम्रो प्रभाव पर्दो छ ।
वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा विविध खाले स्वास्थ्य समस्या देखापर्ने स्थिति भएकाले यस सम्बन्धमा सबैको सतर्कता तथा सावधानी अत्यन्त जरुरी देखिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार हावाको गुणस्तर सूचक मापक एअर क्वालिटी इन्डेक्स एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ । तर आज शुक्रबारको मापनमा काठमाण्डौमा १ सय ६७, भक्तपुरमा १ सय ६१ रहेको छ ।
एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने १० र २ दशमलव ५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई एकीकृत स्वरूपमा बुझाउँछ । एक्यूआई जति बढ्दै गयो उति घातक मानिन्छ ।
एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । एक्यूआई तीन सयभन्दामाथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुन्छ । यस्तो खालको वायुले सबै समूहका मानिसलाई असर पार्ने विज्ञले बताउँदै आएका छन् ।
नेपालमा हालसम्म पनि हिउँदे वर्षा नभएको तथा आउँदा केही दिनभित्र पनि यसको सम्भावना नभएकाले वायु प्रदूषणको गतिमा तत्कालै नियन्त्रण नआउने विज्ञहरूको टिप्पणीले वायु प्रदूषणको असरबाट जोगिन अन्य वैकल्पिक उपायको खोजी गर्नुपर्ने भएको छ। चिकित्सकहरूले प्रात भ्रमण नगर्न, बालबालिका, बिरामी र वृद्धवृद्धालाई घरबाट बाहिर ननिस्कन सुझाव दिएका छन ।
प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन डाक्टरको सुझाव छ । सकेसम्म काम नपरि घरबाट बाहिर ननिस्कने र निस्कँदा मास्क लगाउन डाक्टरको सुझाव छ ।
वायु प्रदूषण बढ्नुका कारणहरु
–धुँवा निकाल्ने साधनहरु
–वनजंगलमा डढेलो
–काठ, इन्धन, वा फोहर तथा प्लास्टिक बालेर निस्कने धुँवा
–धुम्रपानको धुँवा आदिबाट निस्कने ग्यासहरु । जस्तै– कार्बनडमइअक्साइड, मिथेन, नाइट्रसअक्साइड, अमोनिया, सल्फरडाइअक्साइड, सिसा, आदि
–अव्यवस्थित औद्योगिक विकास गर्नु
–जथाभावि उत्खनन् गर्नु
–वैज्ञानिक कृषि प्रणालि अबलम्ब नगर्नु
–जथाभावि फोहोर गर्नु वा व्यवस्थापन नगर्नु
–प्लाष्टिकहरुको प्रयोग तथा प्लाष्टिक जन्य वस्तु जलाउनु
–पुराना सवारी साधनहरुको प्रयोग गर्नु
–वन जंगलको विनास गर्नु
–वातावरण शिक्षको कमि तथा जनचेतनामा कमि हुनु
वायु प्रदूषणका कारण हुने स्वास्थ्यमा असरहरु
–मुटु तथा रत्तनली सम्बन्धी रोग हुने जोखिमलाई बढाउँछ।
–श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग दमको रोग
–दीर्घ श्वासप्रश्वास अवरोध रोग
–फोक्सोको क्यान्सरको जोखिमलाई बढाउँछ।
–मस्तिष्कघात हुने जोखिमलाई बढाउँछ।
–आँखा, नाक र घाँटिको संक्रमणहरुको जोखिम बढाउँछ।
–कम तौल भएको बच्चा जन्मने
–अवधी नपुग्दै बच्चा जन्मने
वायु प्रदूषण नियन्त्रण गर्ने उपायहरु
–धुम्रपान नगर्ने।
–धुँवा रहित चुल्लोको प्रयोग गर्ने।
–धुँवा निकाल्ने सवारी साधानहरुको सट्टा धुँवा ननिकाल्ने साधनहरु प्रयोगमा ल्याउने।
–कारखानाहरु शहरी क्षेत्र र आवास क्षेत्रहरु भन्दा टाढा निर्माण गर्ने।
–वन विनाश नगर्ने, वृक्ष रोपण गर्ने।
–घरबाहिर निस्किदा मास्कको प्रयोग गर्ने।