स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले हाल ७७ वटै जिल्लामा विस्तार गरिसकेको छ । सबै नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले राष्ट्रिय स्वास्थ्य बीमा नीति, २०७१ र सामाजिक सुरक्षा विकास समिति २०७१ बमोजिम आर्थिक वर्ष २०७२/७३ मा कैलाली वाग्लुङ र इलामबाट शुरु भएको यो कार्यक्रम हाल देशभर सञ्चालित छ ।
स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो ।
सम्पूर्ण नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डलेसंचालन गर्दै आएको छ ।
यस कार्यक्रमले सर्वव्यापी स्वास्थ्यको पहुँत्र (Universal Health Coverage, UHC) प्राप्ती तर्फ नेपाललाई अग्रसर बनाउँदै सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको छ ।
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेको छ । बर्तमान संबिधानको धारा ५१(ज) मा नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति अन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख छ ।
गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहीता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्य बीमा ऐन २०७४ जारी भएकाे थियाे ।
यस कार्यलाई थप ब्यबस्थित गर्न स्वास्थ्य बीमा नियमावली २०७५ समेत पारित हुनु स्वास्थ्य बीमा कार्यक्रमकोलागि एउटा महत्वपूर्ण खुट्किलो हो । यस नियमावलीले हालको सुविधाको थैलीलाई दुइ गुणाले वृद्धि गनुकोसाथै ज्येष्ठ नागरिकको लागि सरकारलेनै बीमा प्रिमियम तिरिदिनेगरी छुट्टै एकाइको रुपमा वार्षिक रु एक लाख बराबरको स्वास्थ बीमाको व्यवस्था गरिएको छ ।
साथै, संम्पुर्ण संगठित क्षेत्रलाई आम्दानीको एक प्रतिशत योगदान गर्नेगरी बीमामा आबद्ध हुने अनिवार्य व्यवस्था गरिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम देशका सबै नागरिकहरुलाई स्वास्थ्य उपचारमा सरल र सहज पहुँच पुर्याउने उद्देश्यले ल्याईएको नेपाल सरकारको प्रथामिकता प्राप्त कार्यक्रम हो । हाल यस स्वास्थ्य बीमाले उपचारमा अनियन्त्रित रुपमा भईरहेको व्यक्तिगत तथा पारिवारिक खर्चलाई घटाउने लक्ष्य लिएको छ ।
स्वास्थ्य बीमामा कसरी संलग्न हुनेः
प्रत्येक वडामा रहेका दर्ता सहयोगी मार्फत यस कार्यक्रममा आवद्ध हुन सकिन्छ । बीमित हुन चाहने परिवारले हाफ्नो घरमुली तथा अन्य सदस्यहरुका लागि नागरिकता वा नेपाल सरकारबाट जारी वैधानीक परिचय पत्र अनिवार्य रुपमा देखाई परिवारका सबै सदस्यहरुको आवश्यक फाराम भरि दर्ता सहयोगीले मोबाइलबाट फोटो खिचेर मात्र आबद्ध हुन सकिन्छ ।
स्वास्थ्य बीमामा आवद्ध हुन लाग्ने रकम:
स्वास्थ बीमाको आबद्ध हुनका लागि ५ जनासम्मको परिवारलाई वार्षिक ३५ सय रुपैयाँ शुल्क लाग्दछ । ५ जनाभन्दा बढी सदस्य भएको परिवारमा थप प्रति सदस्यका लागि ७ सय रुपैयाँ भुक्तानी गर्नुपर्छ । ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक, अति गरिब, अति अशक्त, अपाङगता भएका व्यक्ति एवं कुष्ठरोगी, एमडीआर, टिभि र एचआइभि संक्रमित बिरामी भएका घर परिवारलाई योगदान रकममा पुर्ण छुटको व्यवस्था गरिएको छ ।
बीमा गरेमा के कस्तो सेवा सुविधा पाइन्छ ?
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।
तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।
कसरी लिने सेवा:
५ जना परिवारलाई बोर्डले स्वास्थ्य उपचारका लागि वार्षिक १ लाख रुपैयाँसम्म भुक्तानी गर्छ । ५ जनाभन्दा बढी प्रति थप सदस्य वापत सुविधाको थैलीमा २ लाख बढ्दै जान्छ । र परिवार संख्या अनुसार बढीमा २ लाखसम्मको स्वास्थ्य उपचार पाईन्छ । जेष्ठ नागरिकले वार्षिक १ लाख सम्मको उपचार सुविधा पाउँछन् । स्वास्थ्य बीमामा सुविधा लिन हरेक वर्ष अनिवार्य रुपमा नविकरण गर्नुपर्नेछ ।