काठमाण्डाै । संसारभरिमा सर्वाधिक मृत्यु गराउने सरुवा रोगहरुमध्ये क्षयरोग प्रमुख हो । सन् २०१६ मा विश्व स्वास्थ्य संगठनले गरेको एक सर्वेक्षणअनुसार संसारको एक तिहाइ जनसंख्या अव्यक्त क्षयरोगबाट संक्रमित छ ।
प्रत्येक वर्ष एक करोड मानिस क्षयरोगले संक्रमित भेटिन्छन् । जसमध्ये २० लाख बिरामीले क्षयरोगकै कारण ज्यान गुमाउने गरेका छन । यद्यपि उपलब्ध खोप, उपचार विधिको सहजता र जनचेतनाको कारणले जुनैसुकै देशमा पनि यो रोगको संक्रमण विस्तारै घट्दै गएको पाइएको छ ।
क्षयरोग माइकोब्याक्टीरीयम ट्युबरक्युलोसिस नामक जीवाणुका कारण लाग्ने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाह बताउछन् । यो उक्त जीवाणुबाट प्रभावित मानिसले खोक्दा वा हाछ्युँ गर्दा निस्किने साना कणबाट अरू मानिसमा सर्ने उनले बताए ।
‘संक्रमितमार्फत् जीवाणुहरू वातावरणमा निस्कन्छन् । त्यही रहेका निरोगीहरूले सास फेर्दा त्यो उनीहरूको शरीरमा प्रवेश गर्छ’ उनले भने ।
प्रमुख कारण
क्षयरोग माइकोबेक्टेरियम ट्युबरक्लोसिस नामक किटाणुले गराउने संक्रमण हो । यो रोग फोक्सोमा लाग्ने गर्छ र त्यहाँबाट रगतको बाटो हुँदै मुत्रनलीमा सर्छ । रोगसँग लड्न सक्ने क्षमता कमजोर हुदै जान्छ । जनघनत्व बढी भएको ठाउँमा बसाइ गर्नु, तल्लो स्तरीय जीवनशैली, संक्रमित बिरामीसँग सम्बन्ध र सरसफाइ र सन्तुलित भोजनको कमी यसका प्रमुख कारण हुन् ।
यस्ता देखिन्छन् लक्षणहरु
– यो सुरुमा लक्षण विहीन हुन्छ ।
– रोग बढ्दै जाँदा पिसाबमा रगत मिसिएर आउछ ।
– पिसाब गर्दा पोल्छ ।
– पिसाब पूर्ण रुपमा निख्रिदैन ।
– पिसाबको धार मसिनो हुँदै जान्छ ।
– शारीरिक कमजोरी अत्यधिक हुने ।
– शरीरको तौल अप्रत्याशित घट्नु ।
– लगातार तीन सातासम्म खोकी लाग्नु ।
– खकार निस्कनु ।
– त्यसमा रगत देखिनु ।
– हल्का किसिमको ज्वरो पनि देखिन्छ ।
– क्षयरोगको बिरामीलाई प्राय साँझपख ज्वरो आउँछ ।
– रातको समयमा धेरै पसिना बग्नु
– मुख सुख्खा हुनु
– अरुचि बढ्नु
यसरी हुन्छ उपचार:
यो रोग निदान गर्न अलि कठिन हुने गर्छ । केही बिरामीमा त संक्रमणको प्रयोगशाला प्रमाण नहुँदा लक्षणकै आधारमा पनि क्षयरोग विरुद्धको उपचार चलाउनुपर्ने हुन्छ । रगतको सामान्य जाँच, खकारको जाँच, पिसाबको जाँच, छातीको एक्सरे, पिसिआर इत्यादि ।
पिसाब गर्ने मार्गबाट दूरविन भएको यन्त्र सिस्टोस्कोप पठाई शंका लागेको ठाउँबाट मासु जाँचको लागि पठाइन्छ र मुत्र प्रणालीको क्षयरोग पता लगाउन कोसिस गरिन्छ । औषधिहरुले काम नगरेको खन्डमा जेनोटैपिंग र फेनोटैपिंग विधिबाट उचित जाँचहरु पनि गरिछ ।
जटिल स्थिति भएको, नभएको पत्ता लगाउन विशेष किसिमको एक्सरे तथा सिटी स्क्यान पनि गर्नुपर्ने हुनसक्छ । नेपाल सरकारले स्वास्थ्य मन्त्रालयमार्फत प्रत्येक स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रबाट क्षयरोगको निःशुल्क उपचार गर्दै आएको छ ।
बीसीजी खोपले औषधिले नछुने कडा प्रकृतिको क्षयरोग हुनबाट जोगाउने चिकित्सकहरूको दाबी छ । उक्त खोप सामान्यतया शिशु जन्मिएको भोलिपल्टदेखि ३० दिनसम्म दिइन्छ ।
उपचारका लागि प्रयोग हुने मुख्य औषधिहरु
आइसोनियाजाइड, रिफाम्पिसिन, इथाम्बुटोल, पाइराजिनामाइड हुन् । यी चार वटा औषधि पहिलो २ महिनासम्म दिइन्छ भने अर्को ४ महिनासम्म आइसोनियाजाइड र रिफाम्पिसिन मात्र दिने गरिन्छ ।
बीचबीचमा डट्सको प्रोटोकल अनुसार आवश्यक जाँचहरु गरी उपचारले काम गरेको, नगरेको निगरानी गरिन्छ । नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोगको अन्त्य र सन् २०५० सम्ममा पूर्ण निवारणको लक्ष्य लिएको छ ।