जाडोयाममा शरीरमा विभिन्न खाले समस्या देखिन्छन्। त्यसमध्ये पनि मुटुमा सबैभन्दा बढी समस्या देखिन्छ।
जाडोमा रक्तसञ्चार प्रणाली र श्वासप्रश्वासमा धेरै दबाब हुन्छ। किनभने चिसोले गर्दा रक्तनलीहरु खुम्चिएर रक्तचाप बढ्छ, मुटुको धड्कन पनि बढ्छ।
शरीरमा विभन्न हर्मोनहरु उत्पन्न हुने भएकाले पनि मुटुमा दबाब बढ्छ। सँगसँगै गर्मीयामको तुलनामा जाडोमा रगत जम्ने सम्भावना पनि बढी हुन्छ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल।
समग्रमा शरीरमा भएको यी प्राकृतिक परिर्वतनले गर्दा जाडोमा मुटुको समस्या बढ्ने हो।
जोखिम समूह
जाडोयाममा ६० वर्षमाथिका वृद्ध, दीर्घकालीन मुटु रोगीहरु (मुटु कमजोर, चालमा समस्या, मुटुको विभिन्न किसिमको शल्यक्रिया गरिएका) उच्च जोखिममा हुन्छन्।
त्यस्तै जाँडरक्सी र चुरोटको सेवन गर्ने, मधुमेह, उच्च रक्तचाप, मिर्गौला, कलेजो, फोक्सोका दीर्घरोगी पनि उच्च जोखिममा हुन्छन्।
जोखिम समूहमा नपर्ने व्यक्तिले आफ्नो दैनिकी सहज तरिकाले पहिलाको जस्तै चलाउन सक्छन्। उनीहरुले मर्निङवाकलाई पनि रोक्न आवश्यक छैन।
बच्न के गर्ने?
जाडोयाममा मुटुमा देखिने समस्याबाट बच्न विशेष सतर्कता अपनाउनु पर्ने हुन्छ। सबैभन्दा पहिलो कुरा त उच्च जोखिमा भएका व्यक्तिहरु चिसोबाट जोगिनु पर्छ।
जाडो मौसममा घरमा बस्दा होस् वा बाहिर निस्कँदा नै किन नहोस्, न्यानो कपडा लगाउनु पर्छ।
आठ वा नौ बजेभन्दा अगाडि मर्निङवाकमा जानुहुँदैन। सबैभन्दा राम्रो त जाडोमा १० देखि १२ बजेपछि मात्र मर्निङवाक गर्ने।
रक्तचाप र कोलेस्टोर समय–समयमा जाँच गर्नुपर्छ।
मदिरा र चुरोट नखाने।
शरीरमा कोलेस्ट्रोल र उच्चरक्त चाप भएका बिरामीहरुले जाडोमा अझ बढी हिँड्नु पर्ने हुन्छ।
शरीरमा केही समस्या देखियो भने सक्दो चाँडो चिकित्सकलाई देखाउनु पर्छ।
जाडोमा कतिपयले हिँड्न हुँदैन भन्छन्। तर त्यो गलत हो। नहिँड्दा जाडोमा अझ जोखिम बढ्छ।
बिहान चिसोमा नहिँड्नुस् भनेको हो तर आम मान्छेले हिँड्दै नहिँड्नु भन्ने बुझे। त्यस्तो होइन, चिसोमा नहिँडेर घाम लागेको बेला हिँड्नु भन्न खोजेको हो।
त्यस्तै जाडोमा धेरै चिल्लो खानेकुराहरु पनि खानु हुँदैन। जाडोमा यतिकै पनि रक्तचाप र कोलेस्ट्रोल बढ्ने भएकाले चिल्लो र मासुजन्य खाने कुरा बढी खाँदा स्वास्थ्य थप जोखिममा पर्छ।