• शनिबार, साउन ९ २०८३

लकडाउन डायरी : कोरोनाले दुखेको मन


बिहिबार, बैशाख १८ २०७७
1.5K
Shares

सुप्रभ आचार्य
म सुप्रभ आचार्य, काठमाण्डौको सिफल माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छु । कोरोनाका कारणले परीक्षा छिटै सकाएर मेरो विद्यालय २०७६ चैत्र ५ गते देखि बन्द भएको पनि डेढ महिना हुन लागिसक्यो ।

कोरोनाको कारणले देश एकान्तबासमा सिमित भएकाले विद्यालयले अनलाइन परीक्षाफल प्रकाशन ग¥यो । त्यसयता हाल म घरबाट नै कक्षा ६ को अनलाइन कक्षा लिइरहको छु । कोरोना भाइरसले अहिले विश्वमा नै नराम्रो असर परेकाले मलाई विद्यालय जान मन लागे पनि धेरै दुःख भने लागेको छैन किनभने यो कोरोना भाइरसबाट बच्न सामाजिक दुरी राख्नु पर्ने र एकान्तमा नै बसेर आफुलाई सुरक्षित राख्नु पर्नेरहेछ भन्ने कुरा मैले विभिन्न मिडियाबाट आएका समाचार सुनेर, पढेर र हेरेर जान्ने भएको छु ।

म अहिले कोरोना के हो र यसबाट कसरी बच्ने भन्ने बारेमा नि निक्कै जान्ने भएको छु भन्ने लाग्छ । मलाई मेरो परिक्षा सकिएपछि बाबा मामुले कतै घुम्न जाउला भन्नु भएको थियो । पोहोर सालको बार्षिक बिदामा हामी पोखरा घुम्न गएका थियौं । यो वर्ष हामी लुम्विनी र सौराहा जाने योजनामा थियौं । म यो ठाँऊमा पहिले नगएकाले कहिले विद्यालय बिदा होला र जाउँला भनेर बसेको थिंए ।

तर यो लकडाउनको कारणले हामी घुम्न जान पाएनौ । तर पनि मैले थाहा पाउँदादेखि म मेरो बाबा मामुसँग विद्यालय छुटी भएको समयमा लामो समय सँगै बसेको थिइन । उँहाहरु दुबै अफिस जाने भएकाले मेरा बिदाहरु प्रायः एक्लै नै बित्ने गर्थे तर कोरोनाको कारणले देश लकडाउनमा छ र मामु बावापनि चैत्र ११ गतेदेखि नै अफिसको काम घरबाट नै गरिरहनु भएकाले म उँहाहरु सँगै दिन भरि बस्न पाएको छु ।

विहानको ९ः०० बजे देखि बेलुकाको ५ः०० बजे सम्म वहाँहरु आफ्नो काममा व्यस्त भएपनि सँगै बस्न पाउँदा म असाध्यै रमाएको छु । उहाँहरु काममा ब्यस्त भएको बेला म पनि मोवाइल, कम्पूटरमा खेल्ने, पढ्ने, युटुवमा नँया नँया कुरा हेर्ने गर्छु । उँहाहरुको छुट्टि भएपछि सँगै खेल्छु । यो बाहेक बाबा मामुले सुन्ने, पढ्ने र हेर्ने विभिन्न अनलाइन खवरका कुराको उहाँहरुको छलफल सुन्ने गरेको छु । उँहाहरु घरी अब खान पाइन्नकि भन्नु हुन्छ कहिले संकटको कुरा गर्नु हुन्छ । घरी रोजगार र रेमिट्यान्सका कुरा । अनि मलाई पनि यस्ता कुरा हेर्न पढ्न र वुझ्न सुझाउनु हुन्छ ।

बिहान उठेदेखि म प्रायः मोवाइल र कम्युटरमा नै ब्यस्त हुने भएकाले यस्ता जानकारीमुलक कुरा हेर भन्ने उँहाहरुको सुझाव हुन्छ । दिनभरी मोबाइल र ल्यापटपमा धेरै लामोसमय बिताउँदा हामीलाई हानी पुर्याउछ भन्ने कुरा थाहा हुँदा हँुदै पनि बाहिर जान नपाइने भएकाले अहिले यिनै कुरा मेरा साथी भएका छन् ।

बाबा मामुले गरेका कुरा सुन्दा मलाइ लाग्छ, अब मेरो देश लगायत संसारमा नै धेरै कुराको अभाव हुनेछ । मानिसहरु काम नपाएर जीवन चलाउन समस्यामा पर्नेछन् । मेरो देशमा आम्दानीको स्रोतका लागि थोरैमात्र उपायहरु छन् । अबका दिन कसरी बित्ने होलान् भन्ने कुराले मलाई पनि पिरोल्न थालेको छ । यो २०२० लाई मेरो देशले पर्यटन वर्ष भनेर घोषणा गरेको थियो । स्वदेशी र विदेशी पर्यटकहरुले मेरो देश हेर्न आउने सम्भावना बढेको बेला कोरोनाले माहामारी रुप लिएसंगै हामी सबैलाई निराश बनाइदिएको छ ।

खै गाडी नगुडेकाले हो की के हो, यो वर्ष काठमाण्डौ कति सफा भए जस्तो लाग्छ । सदा यो समयमा गर्मी हुने यो ठाँऊ खै यो वर्ष त सारै जाडो भइरहेको छ । यस्तो सधै धुलो धुवाले आकाश ढाकेको सहर अहिले साह्रै रमणीय र हराभरा देख्छुं । खुलेको निलो आकाश, उत्तरतर्फ सेत्तै हिमाल, हरिया डाँडा, ठुला ठुला भवन मन्दिर, भक्तपुरको पाइलट बाबा धाम म अचेल मेरो घरको छतबाट हेर्न पाउँछु र मामु बावालाई भन्छु यो बेला पर्यटकहरु भएका भए कति खुशी भएर नेपालको बारेमा बयान गर्थे होलान् ।

तर के गर्नु कोरोनाले सबै घरभित्रै बस्न बाध्य भएका छौ । मैले मेरो विद्यालयको सामाजिक शिक्षामा नेपाल प्राकृतिक, धार्मीक, सामाजिक साँस्कृतिक रुपले धनी देश भनेर पढेको थिएँ । यहाँ विभिन्न भाषा, जात, धर्म, लिंग र भेषभूषा लगाउने मानिसहरु छन्, हिमाल पहाड र तराईमा बस्ने मानिसहरुको आआफ्नै रहनसहन र भेषभुषा छन् भन्ने कुरा मलाई मेरो शिक्षकले पनि भन्नु भएको थियो ।

मनमोहक हिमाल, लेक, बेशी, हरिया डाँडा, चुरे पहाड, छाँगा, छहरा, ताल, प्रशिद्ध धार्मिकस्थल, गौतम बुद्धको देश घुम्न बर्षेनी स्वदेशी र विदेशी पर्यटक आउने र देशमा हेटलहरू चल्ने गरको थियो जसले गर्दा देशको आम्दानी पनि बढेको थियो । मेरो देशको सरकारले यस्तै कुरा विश्व सामु चिनाउन सन् २०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरेको थियो । विभिन्न कार्यक्रमहरु बनाएर देशमा पर्यटकहरुलाई भित्राउने बेलामा सन् २०१९ को अन्तिम ताकाबाट चिनको वुहान शहरबाट कोरोना भाइरस फैलिएर विश्वका २ सय भन्दा बढि देशमा महामारीको रुप लिएको छ ।

अहिले ३१ लाख भन्दा बढी मानिसहरु कोरोनाका कारण बिरामी भएको र २ लाख भन्दा बढी मानिसहरुले ज्यान गुमाएका समाचार सुन्नु पर्दा मलाई सारै नरमाइलो लागेको छ । नेपालमा पनि हामीलाई कसरी सुरक्षित राख्ने र कोरोनाको संक्रमणबाट बच्ने भन्ने बारेमा काम भइरहेको छ । मेरो देश नेपाल पनि चैत्र ११ गतेदेखि लकडाउनमा परेको छ । यँहाबाट विदेशीहरु सबै आफ्नो देश फर्किरहेका छन् ।

मेरो देशका मानिसहरु पनि हिडडुल गर्न, काम गर्न र विदेश जान पाएका छैनन् । आफ्नो देशको बारेमा प्रचार गरी देशमा आय आर्जन गर्ने सरकारको योजना पनि असफल भएको छ । किसानहरुले पनि खेती लगाउन पाएका छैनन् । दिन दिनै काम गरेर खाने मानिसले पनि काम गरेर खान पाएका छैनन् । स्कुल, पसल, उद्योग, कलकारखाना अफिस सबै बन्द छन् ।

नँया वर्षमा जताततै भिडभाड हुने मेरो देश आज भोलि सुनसान छ । यस्तो अबस्थामा हामी सबैले अब के गर्ने होला, कसरी खानेकुरा पाउँने होला, कहिले यो अबस्था सामान्य हुने होला, मेरो देशमा विदेशी पाउनाहरु कहिले घुम्न आउने होला र हामी पनि कहिले घुम्न जाने होला भनेर सोची रहन्छु ।

अन्त्यमा, अहिले लकडाउन छ, कोरोनालाई हामीले जित्नु पर्ने छ, म त घरमै बसेको छु, तपाई पनि घर मै बस्नु होला ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार