– माेहम्मद शाहिद अलि
भाषा नहुँदाे हाे त ! सम्भवतः याे संसार अस्तित्वमा पनि नआउँदाे हाे । भनिन्छ पशु-पंछीकाे समेत भाषा हुन्छ । स्वभावैले हाम्राे पनि भाषा छ । पहाडका मुसलमानले बाेल्ने “पहाड़ी मुस्लिम भाषा” याे माैलिक भाषामा पर्दछ ।
माैलिक भाषा संरक्षण, संवर्द्धन, प्रवर्द्धन र, यसकाे विकास गर्न पाउने हाम्राे माैलिक अधिकार हाे । यस अधिकारलाई प्रयाेग गर्दै; अगाड़ी बढ्नुपर्ने टट्काराे देखिन्छ । भाषा पहिचानकाे महत्वपूर्ण आधार हाे ।
हामी लगभग याे भाषा बाेल्नेकाे संख्या पचास हजारकाे हाराहारीमा छ । याे हाम्राे माैलिक मातृभाषा हाे । सम्पूर्ण मातृभाषालाई नयाँ संविधानले राष्ट्रिय भाषाकाे रूपमा स्विकार गरेकाे छ । वि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२३ भाषाहरु मातृभाषा (पहिलो भाषा)को रुपमा बोल्ने गरिन्छ ।
भाषाहरूलाई संरक्षण, संवर्द्धन, प्रवर्द्धन र, विकास गर्न नेपालमा भाषा आयाेगकाे समेत स्थापना भएकाे छ । साथै भाषा लिपि विकास प्रतिष्ठानहरू समेत स्थापित छन् । जाे हाम्राे लागि सुखद पाटाे हाे । तर, हाम्राे भाषा भाषा आयाेगमा सूचिकृत गर्न सकेका छैनाैं । अबकाे हाम्राे प्रमुख दायित्व भनेकाे सूचिकृत गर्ने हाे ।
त्यस पूर्व हाम्राे भाषाकाे इतिहास खाेज्दै;हाम्राे मातृभाषा लिपिबद्ध गरिनु पर्ने र, शब्दकाे खाेजी, तर्जुमा गर्दै; शब्दकाेषहरूकाे संग्रह तयार पार्नु पर्ने टट्काराे देखिन्छ । भाषाले जनगणनालाई समेत ठूलाे प्रभाव पारेकाे छ ।
नेपाली भाषा नेपालको सम्पर्क भाषा तथा भारत, भुटान र म्यानमारको केही भागमा मातृभाषाको रूपमा बोलिने भाषा हो । यो भाषा भारोपेली भाषा परिवार समूहमा पर्दछ । यो भाषा नेपाल र भारतको आधिकारिक (सरकारी कामकाजको) भाषा पनि हो ।
नेपालका करिब आधा जनसङ्ख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन् । देवनागरी लिपिमा लेखिने यो भाषामा फ़ारसी, अरबी, उर्दू शब्द प्रयुक्त भएका छन् । जस्तै : क़ानून, महल, इजलास, तारीख़, मुनासिब, क़सूर, मुलुक आदी । अर्थात् हामीले बेल्ने कुनै पनि भाषामा पूर्ण शुद्धता हुँदैन ।
नेपालका धेरै आलेखहरू उर्दू र, फ़ारसीमा लेखिएकाे भेटिन्छ । कहिं न कहिं नेपालकाे भेषभूषा, खानपान, भाषा संस्कृत हिंजाेका मुग़ल अर्थात् मुसलमानबाट प्रभावित भएका धेरै इतिहास भेटिन्छ । अझ इतिहासकारले हामी माथी न्याय गरेकाे पाइदैन ।
अर्थात् हामीले उर्दू भाषा प्रयाेग गर्नुलाई ग़लत अर्थमा बुझ्नु हुन्न, त्यसकाे पछाडीकाे पृष्ठभूमि पनि जान्न महत्वपूर्ण हुन्छ ।

त्यस्तै हामीले क़ुरआन अरबी र, हदिसहरू उर्दूमा पढिन्छ । किनकि याे हामीबिच सम्पर्क भाषाकाे रूपमा विकास र, स्थापित भएकाे यथार्थलाई हामीले नकार्न सकिदैन । जसरी नेपाली भाषा सम्पर्क भाषा र, कामकाजी भाषाकाे रूपमा स्थापित छ ।
जसलाई खस भाषा पनि भनिन्छ । नेपाली भाषाकाे मूल थलाे जुम्लाकाे सिंजा क्षेत्रलाई मानिन्छ । अर्थात् भाषा कुनै एक ठाउँकाे रहिरहन सक्दैन । भारतमा बाेलीने हिन्दी भाषामा आधा भन्दा धेरै शब्द उर्दूका छन् । आज हामीले बाेल्ने उर्दू भाषामा धेरै शब्द हिन्दी छन् ।
अंग्रेज़ी भाषालाई भारतकाे राष्ट्रिय भाषा र, त्यहाँकाे संविधान पनि अंग्रेज़ी भाषामा नै लेखिएकाे छ । हामीले बाेलिने मातृभाषा पनि जुम्लामा बाेलिने भाषासँग मिल्दछ । जस्तै: आया, गया, खाया । नेपालमा १.६ प्रतिशत उर्दू भाषी भेटिन्छन् । अर्थात् हाम्राे मद्रसा शिक्षा र, सम्पर्क भाषा उर्दू भाषा हुनु आश्चर्यकाे विषय हाेइन ।
याे भाषाकाे प्रयाेग किन ? प्रथमत: हामी मुसलमान पहाडमा कसरी आयाैं ? याे खाेजीकाे विषय हाे । यसमा धेरै मान्यता र, इतिहास विद्यमान छन् । तर, एउटा इतिहास भारतसँग नै जाेडिएकाे छ । अत: भारतमा जसरी इस्लाम भित्रियाे त्यहाँबाटै नेपालमा पनि भित्रिएकाे सहजै अनुमान लगाउँन सकिन्छ ।
फलतः तराई मधेसमा यसकाे ठूलाे प्रभाव पर्याे र, मुस्लिम समुदायकाे ठूलाे हिस्सा तराइमा बसाेबास गर्दछन् । हाम्रा विवाहवारी भारत वा तराईमा खासै नभए पनि हाम्रा धार्मिक गुरूहरू प्रायः त्यही भूगाेलबाट आउनु हुन्छ । हामी पनि शिक्षा लिन तराई वा भारत नै पुग्ने गरेकाे इतिहाँस साक्षी छ । जहाँ उर्दूमा पठनपाठन बढ़ी हुन्छ ।
दाेस्राे: उर्दू र, अरबी भाषा विश्वमा सबै भन्दा मिठाे भाषामाहरूमा गनिन्छन् । हामीले शब्द मिठासका निमित्त पनि यी भाषालाई निरन्तरता दिएकाे पाइन्छ ।
तेस्राे: माथी भने झैं हामीले हाम्राे भाषा संग्रह गरिसकेका छैनाैं । लिपिबद्ध छैन । कुन आधारमा लेख्ने ? भाषा संग्रह अपरिहार्य हाे । किनकि हाम्राे पनि भूगाेल अनुसार भाषामा केही भिन्नताहरू पनि छन् । अत: हाम्राे भाषामा लेख्न अहिलेलाई सम्भावना कम भएकाे हाे । ज्ञाताकाे पनि कमि छ । र, हामीले त्यस तर्फ ध्यान पनि दिन सकेका छैनाैं ।
र, अन्तिम कुरा हाम्राे धर्म अति संवेदनशील छ । हामीले हाम्राे स्वेच्छाले लेख्न सक्दैनाैं । प्रारंभिक चरणमा नेपाली भाषामा लेख्न पनि सकिन्छ । कतिपय स्थानमा बाेलिचाली बाहेक नेपाली र, हाम्राे माैलिक भाषामा धार्मिक प्रवचन दिने गरेकाे पाइन्छ ।
जाे सहरानीय कार्य हाे । यस्ताे अभ्यास हुनु हाम्रा निमित्त गाेल्डेन गेट सावित भएकाे छ । तर, प्रयाप्त भने पक्कै हैन । अझ ख़तरा शब्द चयनकाे हुन्छ ।
यसकाे निचाेड: सर्वप्रथम हामीले भाषाकाेष बनाउँन पहल गराैं । साथै भाषा संरक्षण र, संवर्द्धन गर्दै जाउँ । याेजनावद्ध काम गर्नु पर्ने हुन्छ । यस कार्यलाई तार्किक निष्कर्षमा पुऱ्याउन विद्वत वर्ग, भाषाका ज्ञाता, खाेजकर्ता, धार्मिक ज्ञाता, समाजका अगुवा सबैसबैकाे सहभागिता अनिवार्य हुन्छ ।
यस तर्फ ध्यान पुऱ्याएर अगाडी बढाैं । केही विद्वत वर्गले यसमा काम गरिरहेकाे जानकारी पाएकाे छु । उहाँहरूलाई सेमेट्न जरूरी हुन्छ ।
लेखक माेहम्मद शाहिद अलि मुस्लिम अगुवा हुन् ।