• शुक्रबार, साउन ८ २०८३

‘लकडाउन’को समयमा दीर्घ रोगी र बिरामीलाई चिकित्सकको सुझाब


बिहिबार, चैत्र १३ २०७६
1K
Shares

घरभित्रै कसरी बस्ने ?

डाक्टर सरोज वझामनोचिकित्सक

‘लकडाउन’को यो अवस्थामा मनोविज्ञानको हिसाबले अहिले कुरा गर्नु आवश्यक छ ।

सबैभन्दा पहिला, ‘लकडाउन’ किन गरेको भनेर बुुझ्नपर्छ । सरकारले हामीलाई सजाय दिन शहर बन्द गरेको होइन । हाम्रो सुरक्षाका लागि नै ‘लकडाउन’ गरिएको हो भनेर अहिलेको परिस्थिति स्वीकार गर्न सक्नुपर्छ ।

जब हामी कुनै कुरालाई सकारात्मक रुपमा लिन्छौँ तबमात्र हाम्रो मनमा डरत्रास हुँदैन । अहिलेको अवस्थालाई सकारात्मक रुपमा बुझ्नुपर्छ । मानिसहरु कोरोनाको बारेमा सचेतना हुन पनि जरुरी छ ।

कोरोना विश्वमा कति द्रुत गतिमा फैलिएको छ । यसबाट बच्ने उपायहरुबारे जानकारी भयो भने यो ‘लकडाउन’लाई मानिसले सकारात्मक रुपमा लिन्छ । कोरोनाको बारेमा राम्रोसँग जानकारी नपाएका व्यक्तिहरुले नै सरकारले दबाबमा घरभित्र थुनिएको महसुस गर्छन् । घरभित्र के गरेर बस्ने भनेर उनीहरु सोच्छन् ।

सबैभन्दा महत्वपूूर्ण, कोरोनाको संक्रमणबारे जानकारी हुनुपर्छ । घरभित्रै बसिएन भने स्थिति भयावह हुन सक्छ र हामी जुनसुुकै बेला संक्रमित हुन्छौं भन्ने बुझ्नुपर्छ । त्यसैले, घरभित्र नै बस्नुपर्छ भन्ने सोचाइ मानिसमा हुनपर्छ ।

जसरी भूकम्पको समयमा आफ्नो सुरक्षालाई मनिसहरुले महत्व दिएका थिए, त्यसैगरी आफ्नो स्वास्थ्य सुरक्षालाई महत्व दिनुपर्छ । स्वास्थ्य सुरक्षाका लागि नै म घरभित्र छु भन्नेर सोच्नुपर्छ । घरमा एकजनालाई मात्र संक्रमण भयो भने पूरै परिवारमा नराम्रो असर पर्छ ।

घरमा बालबालिका र वृद्धवृद्धाहरु छन् भने झनै बढी प्रभाव पर्छ । त्यसैले यो समयमा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्नु नै बुद्धिमानी हुन्छ ।

आफूलाई घरमै सकारात्मक काममा व्यस्त राख्ने, घरमै बसेर योग र व्यायाम गर्ने । दिमागमा नकारात्मक असर पर्ने समाचारहरु नहेर्ने । युुटुुबमा योग, व्यायाम आदि सम्बन्धी जानकारी पाइन्छ । त्यो हेरेर आफुले पनि प्रयास गर्ने । परिवारजन र आफन्तसँग कुराकानी गर्ने, आफूसँग भएका जानकारी दिने र उनीहरुसँग भएका जानकारी लिने गर्नुपर्छ । आफूलाई व्यस्त राख्ने । खानपानमा विशेष ध्यान दिने गर्नुपर्छ ।

मुटु रोगीले के गर्ने ?

डाक्टर चन्द्रमणि अधिकारी, मुुटुरोग विशेषज्ञ

विशेषगरी नियमित औषधि खाइरहेका मुटुरोगका बिरामीले आफूले खाइरहेका औषधिलाई निरन्तरता दिनुपर्छ । मुटुरोगका बिरामीलाई छाती दुख्ने, दम फुल्ने, मुटुु धेरै ढुकढुुक गर्ने र बेहोस हुने समस्या देखियो भने नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ ।

अहिले नियमित औषधि खाइरहेका मुटुका बिरामीलाई सामान्य रुघाखोकी लाग्यो र ज्वरो आयो भने अहिलेको अवस्थामा घरमै बस्नुपर्छ । ज्वरो धेरै आयो र सास फेर्न कठिन भयो भने कोरोनाको उपचार हुने अस्पतालमा जानुपर्छ ।

मुटुका बिरामीले धेरै चिन्ता लिनुहुँदैन । नुन, चिल्लो, पिरो, तारेको खानाहरु कम खानु र घरमै रहेर हलुका व्यायाम गर्नुपर्छ । मुटु रोगीलाई कोरोना संक्रमण भएकोमा मृत्युदर १० प्रतिशतको देखिएको छ । मुटुका रोगीलाई कोरोना लाग्यो भने मृत्युको खतरा हुनसक्छ । त्यसैले घरबाहिर ननिस्कनु उचित हुन्छ ।

ज्येष्ठ नागरिकले के गर्ने ?

डाक्टर रमेश कँडेल

धेरै जसो मानिसले ‘लकडाउन’लाई गलत पमा पनि बुझेका छन् । महामारीको समयमा रोग फैलिन नदिन लड डाउन गरिएको हो । लड डाउन हुँदैमा फैलिएको हो भन्ने होइन । अहिले नेपालमा २ जनामा मात्र कोरोना देखिएको छ ।

ज्येष्ठ नागरिकमा त पहिला नै कुनै रोग हुन सक्छ । त्यसैले, हामीले सक्रिय रहनुस् भनेर दैनिक आधि घण्टा हिड्नुस् भने गरेका थियौं । अहिले बाहिर निस्किन पाइँदैन । बाहिर निस्किदा कोरोनाको जोखिम हुन्छ ।

यस्तो अवस्थामा नियमित शारीरिक अभ्यास नगर्दा पनि रोग बढ्न सक्छ । त्यसैले घरमै वगैँचामा काम गर्ने तथा आँगन र छतमा बसेर व्यायाम गर्ने गर्नुपर्छ । घरका सानातिना काम गर्नुपर्छ ।

यो समयमा सबैजना घरमै भइन्छ । घरका ज्येष्ठ सदस्यहरुसँग परिवारका सदस्यहरुले कुराकानी गर्नुुपर्छ । जसले गर्दा परिवारमा खुसी मिल्छ र ज्येष्ठ नागरिककमा तनावको समस्या आउँदैन ।

कोरोनाको संक्रमण जसलाई पनि हुन सक्छ तर वृद्ध व्यक्तिमा समस्या बढी हुन्छ । आम नागरिकमा ५ प्रतिशतमा जोखिम हुन्छ । मानौं एक सय जनामा कोरोनाको संक्रमण भयो भने त्यसको उच्च जोखिम हुने, निमोनिया नै हुने, भेन्टिलेटरमै राख्नुपर्ने अवस्था ५ जनामा मात्र आउँछ ।

यो ५ प्रतिशतमा दीर्घरोगी ज्येष्ठ नागरिक नै हुन्छन् । त्यसैले घरमा भएका स्वस्थ ज्येष्ठ नागरिकलाई पनि यो कुरा बुुझाउन जरुरी हुन्छ । दीर्घ रोग नभएका ज्येष्ठ नागरिकमा कोरोना संक्रमण भयो भने निको हुने सम्भावना हुन्छ ।

इरानमा १०३ वर्षका नागरिक पनि कोरोना लागेर उपचारपछि निको भएर घर फर्किए । यस्ता कुरा पनि हामीले हाम्रा ज्येष्ठ नागरिकलाई सुनाउनुपर्छ ।

असी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकमा कोरोना संक्रमणको मृत्युदर १५ छ भनिन्छ । अर्को पाटो, त्यही उमेर समुहका ८५ जना त निको भएर घर फर्किनु हुन्छ । हामीले यही कुरा आफ्नो परिवारका ज्येष्ठ नागरिकलाई बुुझाउनुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार