काठमाडौं । आगामी बर्ष २०२६ का लागि हजयात्रामा जाने प्रकृया सुरु भएको छ । गृह मन्त्रालय अन्तरगत रहेको नेपाल हज समितिले गत भाद्र ६ गते एक सूचना प्रकाशित गरि आगामी बर्षको हजयात्राको प्रकृया सुरु भएको जनाएको हो ।
समितिका अध्यक्ष मोख्तार अहमदका अनुसार सन् २०२६ मा हजमा जान चाहनेलाई आवेदन दिन आह्वान गरिएको छ । नेपालबाट एक हजार दुई सय जनाले हज गर्न जान पाउने गरी कोटा निर्धारण भएको उनको भनाई छ । जसमा इच्छुकले आगामी असोज २० गते भित्र आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ ।
समितिले जिल्ला प्रशासन कार्यालय मार्फत आवेदनसहित पहिलो किस्ता वापत एक लाख ५० हजार रुपैया समेत नेपाल हज समितिको खातामा जम्मा गर्न सूचनामा भनेको छ ।
त्यस्तै नागरिकताको प्रतिलिपी, राहदानीको प्रतिलिपी, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति, कोभिड १९ बिरुद्धको खोप लगाएको प्रमाणपत्र लगायतका कागजात समेत आवेदकले आवेदनसंगै बुझाउनुपर्ने छ । आवेदन हज समितिको वेबसाइटबाट डाउनलोड गर्न सकिने समितिले जनाएको छ ।
पहिलो किस्ता वापतको रकम डेढ लाख रुपैया बुझाउन आह्वान गरेको समितिले हजमा लाग्ने पूरा लागत भने हालसम्म निर्कोल गर्न सकेको छैन । अघिल्लो बर्ष प्रतिब्यक्ति ३ लाख ७० हजार रुपैया उठाएको हज समितिले यो बर्ष समेत त्यसैको आसपासमा खर्च लाग्ने अनुमान गरेको छ ।
‘हामी अघिल्लो बर्ष लागेको लागत खर्च बढाउने पक्षमा छैनौ, अझै कम गर्न सकिन्छ कि भनेर अध्ययन गरिरहेका छौ’ समितिका अध्यक्ष अहमदले सिभिलखबरसंग भने ‘हवाई भाडा, मोहल्लिम, खाना, खाजा, आवास, यातायात, मेडिकल लगायतको खर्च हेरेपछि प्रतिब्यक्ति कति उठाउने भन्ने निर्णय हुन्छ ।’
उनका अनुसार साउदी सरकारको हज विभागबाट मोहल्लिम, होटल लगायतका लागि अनलाइन बुकिङ खुला गरिसकेकाले नेपालबाट हजमा जान चाहनेबाट समेत आवेदन र पहिलो किस्ता बुझाउन आह्वान गरिएको हो ।
‘समितिको सूचना आएपछि सामाजिक सञ्जालहरुमा केहि नेगेटिभ प्रतिकृयाहरु समेत मैले देखेँ, यसमा आशंका र भ्रम हुनुहुदैन’ अध्यक्ष अहमदले थपे ‘साउदी सरकारले अनलाइन बुकिङ गरिहाल्न निर्देशन दिएको छ, असोज २० लगत्तै पहिलो किस्ता वापतको रकम हामीले अग्रिम भुक्तानी गरिहाल्नुपर्ने हुन्छ ।’
हरेक बर्षको हजयात्रामा समितिलाई आर्थिक हिनामिनाको आरोपसंगै ब्यवस्थापनमा गुणस्तर नभएको समेत गुनासो आउने गरेको छ, त्यसलाई चिर्ने योजना अहिलेको समितिसंग छ ? भन्ने सिभिलप्रश्नमा अध्यक्ष अहमद भन्छन् ‘ति सबै गुनासोहरु सम्बोधन गर्ने र कमिकमजोरीहरु सुधार्ने हरदम प्रयास रहन्छ ।’
हज समितिबाट भदौ ६ गते प्रकाशित सूचना