• शनिबार, साउन ९ २०८३

छुट्याइएको कोटा अनुसार आवेदन नपरेपछि हज कमिटीले थप्यो म्याद


मंगलबार, चैत्र ७ २०७९
1.8K
Shares

हज यात्राका लागि साउदी अरब जान चाहने व्यक्तिबाट पर्याप्त आवेदन नपरेपछि म्याद थप गरिएको छ। यो वर्ष तोकिएको समयावधिसम्म पनि कम आवेदन परेकाले मिति थप्नु पर्ने अवस्था आएको हज समितिले जनाएको छ। 

विगतमा वर्षहरुमा हजमा जान चाहनेहरुको सङ्ख्या कोटाभन्दा बढी हुँदा अर्को वर्षको प्रतीक्षा गर्नुपर्ने अवस्था भए पनि यो वर्ष कम्तिमा कोटा बराबरको आवेदनका लागि म्याद नै थप गर्नुपर्ने अवस्था आएको हज समितिका अध्यक्ष शमशेर मियाँले बताए। 

उनका अनुसार नेपाल हज उपसमितिको चैत २ गते बसेको बैठकले तोकिएको अवधि अर्थात चैत ४ गतेसम्मको लागि पर्याप्त आवेदन नपरेकाले चैत १९ गतेसम्मको लागि म्याद थप गरेको हो। यो वर्ष हज यात्राका लागि १२ सय जनाको लागि कोटा छुट्याइएको छ । 

विगतका वर्षहरुमा कोटाभन्दा बढी आवेदन पर्दा अर्को वर्षको प्रतीक्षा गर्नुपर्ने अवस्था आए पनि यो वर्ष विविध कारणले पर्याप्त आवेदन नपरेको अध्यक्ष मियाँ बताउँछन्। कोटाभन्दा कम आवेदन पर्नुमा आर्थिक मन्दी र महँगी एउटा कारण भए पनि राहदानी प्रमुख कारण भएको उनको भनाइ छ। 

‘विगतमा पासपोर्ट दस्तुर रसिदको आधारमा हज आवेदन दर्ता हुन्थ्यो तर अहिले अनलाइन प्रणालीले स्वीकृत गरेपछि मात्र पासपोर्ट प्रक्रिया बल्ल सुरु हुन्छ’, अध्यक्ष मियाँले भने, ‘पासपोर्ट बनेर आउनै सामान्यतया एक महिना लाग्छ, यसकारण पनि आवेदनमा कठिनाइ भएको र म्याद थप गर्नु परेको हाम्रो बुझाइ हो ।’ 

पासपोर्ट बिना आवेदन भर्न नमिल्ने र पासपोर्टका लागि कम्तिमा महिना दिन लाग्ने अवस्था आउँदा हजमा जान चाहेर पनि आवेदन दिन नपाएका गुनासोहरु बढी आएकाले हज समितिले सहजीकरणका लागि राहदानी विभागलाई सहज पासपोर्ट पाउने व्यवस्थाका लागि अनुरोध गरेको अध्यक्ष मियाँले बताए। 

त्यसो त पासपोर्टका कारण आवेदन पर्याप्त नपरे पनि यसपटक जान लाग्ने खर्चमा वृद्धि र आर्थिक मन्दीको कारणलाई पनि नकार्न नसकिने मियाँले बताए। हजमा जानको लागि अघिल्लो वर्ष प्रतिव्यक्ति दुई लाख तीस हजार र गत वर्ष चार लाख उनान्साठी हजार लागे पनि यो वर्ष हजको खर्च ४ लाख ५० हजार अनुमान गरिएको छ। 

त्यस्तै सामान्यतया नेपालबाट हज यात्राकका लागि साउदी जाँदा एक व्यक्तिको हज समितिलाई बुझाउने बाहेकको खर्च करिब न्युनतम एक लाख रुपैयाँ हुने जानकारहरु बताउँछन्। यो वर्ष हजका लागि जान चाहनेले पहिलो किस्तामा दुई लाख २५ हजार तथा दोस्रो किस्तामा पनि करिब २ लाख २५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ भने नेपाल हज समितिले तोकेका अन्य मापदण्ड पनि पुरा गर्नुपर्ने हुन्छ। 

साउदी अरबले यो वर्ष हजका लागि २० लाख हजयात्रीको आयोजना गर्ने तयारी गरेको छ। कोभिड-१९ का कारण गत वर्ष साउदी अरबले मात्र ९ लाख हज यात्रीलाई साउदी अरबमा स्वागत गरेको थियो। कोभिड-१९ महामारी आउनुअघि २०१९ मा २५ लाख मानिसले हज गरेका थिए।

हज इस्लामको पाँच स्तम्भहरू मध्ये एक हो। यदी साधन र क्षमता छ भने प्रत्येक वयस्क मुस्लिमले आफ्नो जीवनकालमा कम्तिमा एक पटक हज गर्नैपर्छ। यस वर्ष पनि हजमा जान चाहनेहरुलाई कोभिड-१९ विरुद्ध पूर्ण रूपमा खोप लगाउन र त्यसको क्युआर कोर्ड पेश गर्न अनिवार्य गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार