काठमाडौं । आगामी बर्ष २०२४ का लागि हजयात्रामा जान नेपालले एक हजार २ सय जनाको कोटा प्राप्त गरेपनि करिब ४ सय ५० जनाले मात्रै आवेदन दिएका छन् ।
गृह मन्त्रालय अन्तरगत रहेको नेपाल हज समितिले साउन ३० गते सूचना प्रकाशित गरि हजयात्रामा जान इच्छुकलाई असोज मसान्तभित्र आवेदन दिन आह्वान गरेको थियो । समितिले जिल्ला प्रशासन कार्यालय मार्फत आवेदनसहित पहिलो किस्ता वापत एक लाख ५० हजार रुपैया समेत समितिको खातामा जम्मा गर्न सूचनामा भनेको थियो ।
तर समितिले आवेदन खुलाएको म्यादभित्र ४ सय ५० जनाले मात्रै आवेदनसहित रकम जम्मा गरेको समितिका कार्यवहाक अध्यक्ष मकबुल मियाँले सिभिलखबरलाई बताए । साउदी सरकारले २०२४ को हजका लागि नेपाललाई एक हजार २ सय जनाको कोटा स्विकृत गरेको थियो ।
‘हामीले असोज मसान्तसम्मको म्याद दिएर आवेदन भर्न आह्वान गरेको हो, त्यसमा ४५० जना जतिले आवेदन भर्नु भएको छ’ मियाँले भने ।
हजका लागि नेपालले प्राप्त गरेको १२ सय जनाको कोटा अनुसार आवेदन अत्यन्त न्यून परेकाले पुनः आवेदनका लागि सूचना प्रकाशित गर्ने तयारीमा समिति रहेको बताइएको छ ।
‘कोटा १२ सय जनाको छ, हामीले सोचेभन्दा धेरै कम आवेदन परेको छ’ कार्यवहाक अध्यक्ष मियाँले भने ‘आउने सोमबार समितिको बैठक डाकिएको छ, आवेदन दिने समयसिमा थप हुन सक्छ तर निक्र्योल भइसकेको छैन ।’
समयसिमा थप भएपनि कोटा अनुसारको संख्यामा आवेदन नपर्ने समितिको अनुमान छ । पछिल्लो समय देशमा देखिएका आर्थिक मन्दीले हजयात्रीलाई समेत प्रभावित बनाउन सक्ने कतिपयको आँकलन छ ।
अघिल्लो बर्ष समेत नेपालले १२ सय जनाकै कोटा प्राप्त गरेको थियो । तर १ हजार १ सय ७५ जना मात्रै हजयात्रामा गएका थिए । सो बेला हजयात्राका क्रममा नेपाल हज समितिका पदाधिकारी र प्रतिनिधी जिम्मेवार नबन्दा हजयात्रीले निक्कै कष्ट ब्यहोरेको उनिहरुले गुनासो गरेका थिए । त्यससंगै हजयात्रीहरुसंग समितिले लाग्ने शुल्कभन्दा अत्याधिक बढी रकम असुलेर अनियमितता गरेको हजयात्रीहरुको आरोप छ ।
सो बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । हाल आयोगले सो बिषयमा अनुसन्धान गरिरहेको छ । अघिल्लो बर्ष समितिले प्रति हजयात्री ४ लाख ६५ हजार रुपैयाका दरले शुल्क उठाएको थियो ।
तर यस बर्ष भने शुल्क समेत पुनरावलोकन हुने समितिले जनाएको छ । ‘यो बर्ष शुल्क कति उठाउने अहिल्यै स्पष्ट भइसकेको छैन’ कार्यवहाक अध्यक्ष मियाँले सिभिलखबरसंग भने ‘अघिल्लो बर्षको तुलनामा यो बर्ष केहि कम चाही अवश्य हुन्छ, तर कति हुन्छ निर्णय भइसकेको छैन ।’
याे पनि पढ्नुहाेस्