• शुक्रबार, साउन ८ २०८३

नेपाली हाजीहरुको रकम हिनामिना गरेको भन्दै हज कमिटीविरुद्ध अख्तियारमा उजुरी


बिहिबार, भाद्र ७ २०८०
7.4K
Shares

काठमाडौं । नेपाली हाजीहरुको रकम हिनामिना गरेको भन्दै नेपाल हज समिति विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेवाः मुस्लिम समाज काठमाडौंले हज समितिविरुद्ध अख्तियारमा उजुरी गरेको हो । नेपालबाट यसै बर्ष २०८० मा साउदी अरेबियाको मक्का र मदिना गएका हजयात्रीहरुबाट संकलन भएको रकम र सरकारले दिएको अनुदान समेतमा समितिका पदाधिकारीहरुले अनियमितता र भ्रष्टाचार गरेको भन्दै समाजले अनुसन्धान गरी कारबाहीका लागि आयोगमा उजुरी दर्ता गराएको हो ।

यस बर्ष समितिले हरेक हजयात्रीबाट ४ लाख ६५ हजार रुपैयाका दरले बिभिन्न नाममा शुल्क लिएको तर जुन शिर्षकमा रकम लिएको हो त्यसमा रकम खर्च नगरी समितिले चरम अनियमितता र भ्रष्ट्राचार गरेको मुस्लिम समाजको आरोप छ । यस बर्ष १ हजार २ सय हजयात्रीबाट समितिले ५५ करोड ८० लाख रकम संकलन गरेको र सरकारबाट समेत १ करोड रकम अनुदान प्राप्त गरेकोमा त्यसअनुसार हजयात्राका क्रममा हजयात्रीहरुको ब्यवस्थापनमा खर्च नगरेको, खर्चभन्दा भएको भन्दा बढी रकमको बिलभरपाई बनाएको पाइएको समाजले आयोगमा दिएको निवेदनमा उल्लेख छ ।

समाजका अध्यक्ष निसार उद्धिन समेत हजयात्रामा गएका थिए । उनका अनुसार हजयात्राका क्रममा हाजीहरुले दुखकष्ट ब्यहोर्नुपरेको, खाजा, खाना, बासस्थान, यातायात लगायतमा समस्या झेल्नु परेको थियो ।

आफूहरुसंग हजयात्रीबाट उठेको रकममा कसले कति प्रतिशत कमिशन लिएको छ भन्ने अडियो सुरक्षित रहेको र सो अडियो प्रमाणका लागि अख्तियारमा समेत बुझाइएको उनले बताए ।

‘हज समितकै सदस्य इस्लाम मियाँले एक ब्यक्तिसंग गरेको गोप्य टेलिफोन कुराकानीको रेकर्ड हामीसंग छ, त्यसमा प्रष्टसंग इस्लामजीले भन्नुभएको छ, यति-यति प्रतिशत कमिसन यो-यो ब्यक्तिलाई जान्छ भनेर’ समाजका अध्यक्ष निसारले सिभिलखबरसंगले भने ‘उहाँहरुको काम मैले नजिकबाट हेरेको छु, भोगेको छु, सबै कुरामा अनियमितता छ, यसको छानविन गरेर सरकारले कारबाही गरोस् ।’

उनका अनुसार देशका बिभिन्न जिल्लाबाट आएका हजयात्रीले काठमाडौंबाटै दुख कष्ट र समस्या भोग्न थालेका थिए । हजयात्रीलाई वितरण भएको झोलादेखि बिमान भाडा, होटल, यातायात, औषधी, मोअल्लिम खर्च लगायतमा समितिले चरम भ्रष्ट्रचार गरेको उनको दाबि छ ।

हजयात्रीबाट बिभिन्न शिर्षकमा रकम संकलन गरेर त्यसबमोजिम खर्च नगरी हज समितिले भ्रष्ट्राचार गर्दै आएको आरोप हरेक बर्ष लाग्ने गर्छ । समितिका पदाधिकारी नै कमिसनमा लिप्त हुँदा प्रयाप्त रकम तिरेरपनि सहज हज गर्न नपाएको आक्रोश कतिपय हजयात्रीहरुले बिमानस्थल मै पोखेका थिए ।

४ लाख ६५ हजार रुपैया प्रतिब्यक्ति रकम उठाएर हजयात्रा गराएको हजसमिति भने गएको हजयात्राका क्रममा रकम अपुग भएको दावी गर्छ । हजयात्राबाट नेपाल फर्किएपछि गत साउन २१ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेर प्रतिहाजी ४ हजार २५ रुपैया ८७ पैसा रकम अपुग भएको भन्दै हज गएका १ हजार २ सय जनालाई रकम थप्न समितिले आग्रह गरेको थियो । जसमा केहिले हज समितिको बैंक खातामा रकम जम्मा समेत गरिसकेका छन ।

यता हज समितिका कार्यवहाक अध्यक्ष मकबुल मियाँ भने नेवाः मुस्लिम समाजले लगाएको आरोपमा सत्यता नभएको दावी गर्छन् । ‘यो प्रपोकाण्डा मात्रै हो, यसले समग्र मुस्लिम समुदायलाई बदनाम गराउने काम भयो, कही कतै अनियमितता भएको छैन’ कार्यवहाक अध्यक्ष मियाँले सिभिलखबरसंग भने ‘उहाँहरुले अख्तियारमा निवेदन दिनुभएको छ भने अब छानविन होला नि, सत्य कुरा के हो, कहाँ कति खर्च भएको छ, त्यहाँ स्पष्ट भइहाल्छ, ।

हजयात्राको तयारीमा लाग्दै गर्दा हज समितिका अध्यक्ष शम्सेर मियाँ नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि उपाध्यक्ष रहेका मकबुल मियाँले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएका थिए । उनको नेतृत्वमा रहेको हज समितिले आगामी हजका लागि समेत आवेदन आह्वान गरिसकेको छ ।

नेवाः मुस्लिम समाजले अख्तियारमा दिएको उजुरी

रकम थप गर्न हज समितिले हाजीहरुलाई गरेको निर्देशनात्मक सूचना ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार