मोहसिन अलि मियाँ
गोरखा । भारतले हडपेको लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका क्षेत्रलाई सरकारले आफ्नो स्वामित्वमा ल्याउदै गर्दा बर्षौदेखि चिनतर्फ समेत नेपाली भुभाग कब्जामा रहेको खुलेको छ । ६० बर्षअघिदेखि गोरखाको उत्तरी क्षेत्रमा पर्ने रुई गाउँ तिब्बतको कब्जामा रहेको प्रमाण फेला परेको हो । गोरखाको साविक सामागाउँ गाविसमा पर्ने रुई गाउँ वि.स. २०१७ सालअघि नेपालकै थियो । तर त्यसयता सो गाउँ नेपालले गुमाउदा समेत सरकार बेखबर छ ।
नेपालले तत्कालिन समयमा गुमाएको रुई गाउँमा हाल ७० देखि ८० घर छन् । उनिहरुको अहिले पनि गोरखातर्फको साम्दो गाउँ लगायतका क्षेत्रमा आउजाउ हुन्छ । यति मात्रै होइन उनिहरुविच बिहेवारी पनि चल्छ । तर सिमा क्षेत्र र्निक्योल गर्न गएको तत्कालिन नेपाल तर्फका सरकारी टोलीको लापरवाहीका कारण २०१७ सालमा नेपालले सो भुभाग गुमाउन पुगेको स्थानीयको गुनासो छ ।
‘१७ सालमा नापी आएको हो, दुई देशका टोलीले सिमामा पिलर गाढेको ठाउँभन्दा धेरै परसम्म नेपाली जमिन छ’ स्थानीय तान्जेन लामाल भने ‘तिब्बतसंगगको सिमानामा नामाचे खोला छ, त्यो खोलाले जसरी काटेको छ, त्यसको वारीको सबै गाउँ नेपालको हो तर त्यो बेला सबै छोडेछन् ।’
तत्कालिन ल्हो गाउँ पञ्चायतका उपप्रधान पञ्च समेत रहेका लामा थप्छन् ‘अहिले गोरखामा रहेको साम्दो गाउँका सबैको मेन घर रुईमा थियो, बर्खामा गोठ झर्ने ठाउँ हो, साम्दो त’
यता जिल्ला मालपोत कार्यालय गोरखामा समेत २०१७ सालअघि रुई गाउँका स्थानीयले त्यस क्षेत्रका जमिनको राजश्व तिरेको तथ्यांक फेला परेको छ । विर्ता सम्बन्धि नम्बरी ढड्डा नम्बर १ मा रुइगाउँ लगायतका स्थानको ‘तिरो’ तिरेको प्रमाण कार्यालयमा सुरक्षित छ ।

तत्कालिन चिनको साँस्कृतिक क्रान्तिपछि रुई गाउँमा समेत धार्मिक स्थल, ग्रन्थहरु नष्ट गर्ने अभियान सुरु भएपछि रातारात स्थानीय भागेर साम्दो झरेका थिए । त्यतिबेला केहि मुर्ति सहित सयौ बर्ष पूरानो ताम्रपत्र समेत स्थानीयले जोगाएर ल्याएका थिए । हाल सो ताम्रपत्र साम्दोमै सुरक्षित रहेपनि मुर्ति भने रुई गाउँमै फिर्ता लगिएको स्थानीयले बताएका छन् ।
त्यसो त चुमनुब्री गाउँपालिका १ का वडाध्यक्ष विरबहादुर लामा समेत रुई गाउँ नेपालकै भुभाग रहेको कुरा आफुले पनि सुनेको बताउछन् । ‘पहिला नेपालकै थियो रे, पछि के के भयो त्यो हामीलाई थाहा छैन’ वडाध्यक्ष लामाले भने ‘रुई र साम्दोको भाषा, संस्कृति रहनसहन सबै म्याच गर्छ, जाने आउने पनि हुन्छ, पहिलाको एउटै गाउँ १९६२ मा टोली आएपछि छुट्टिएको भन्ने सुनिन्छ ।’
२०१७ सालअघि तिब्बती र नेपालीबिच बारम्बार विवाद हुने गरेको समेत आफुले सुनेको लामा बताउछन् ।
सोही विवाद मिलाउनका लागि रुइ गाउँ छोडेर पिलर राखिएको हुन सक्ने उनले अनुमान गरे । त्यस्तै रुई गाउँका स्थानीय हालको चुमनुब्री गाउँपालिका ४ नाम्रुङमा पर्ने तत्कालिन भन्सार कार्यालयमा राजश्व बुझाउन आउथे भन्ने समेत सुनेको वडाध्यक्ष लामाले बताए । हाल सो क्षेत्रमा ३४, ३५, ३६ हुदै छेकम्पारसम्म बिभिन्न नम्बरका पिलर रहेको बताइएको छ । साम्दोबाट रुइगार्उँ पुग्न करिब ५ देखि ६ घण्टा लाग्छ ।

यता गण्डकी प्रदेश सरकारले भने सो नाका खुला गर्न र सडकमार्ग हुदै तिब्बतसंग सदरमुकाम जोड्ने योजना अघि सारिरहेको छ । चालु आर्थिक बर्षमा सोही कामका लागि ४ करोड विनियोजन भएपनि केहि प्राविधिक बिषय बाँकी रहेकाले निर्माणको काम भने अघि बढ्न सकेन ।
त्यसो त गत सालको मंसिर दोस्रो साता गण्डकी प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सो नाकाको स्थलगत अनुगमन समेत गरेका थिए । त्यसबेला साम्दो र रुई गाउँबिच रहेको रुइला नाका खोल्न र त्यसक्षेत्रमा सडक निर्माणलाई अघि बढाउने प्रकृयाका लागि मन्त्री बस्नेत हेलिकोप्टर लिएर त्यसक्षेत्र पुगेका थिए ।
तिब्बतको अधिनमा कसरी पुग्यो नेपाली ‘रुई गाउँ’ (भिडिओ प्रमाण)