• शनिबार, असोज १० २०८३

काँग्रेस महाधिवेशनमा मुस्लिम प्रतिनिधित्वको व्यवस्था नभएको भन्दै असन्तुष्टि


शनिबार, असोज १० २०८३
305
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी आरक्षण तथा समावेशी व्यवस्था नगरिएको भन्दै मुस्लिम समुदायका नेता कार्यकर्ताले असन्तुष्टि जनाएका छन्। मुस्लिम नेता तथा भ्रातृ संस्थाले पार्टीको निर्वाचन निर्देशिका र नियमावलीमा आफ्नो समुदायको प्रतिनिधित्व संकुचित पारिएको भन्दै बिरोध जनाएका हुन् ।

यसैवीच काँग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघ गण्डकी प्रदेशले यस बिषयमा पार्टीको केन्द्रिय समितिलाई ध्यानाकर्षण समेत गराएको छ । नेपाली कांग्रेसको केन्द्रिय समिति र निर्वाचन समितिलाई सम्बोधन गर्दै संघको गण्डकी प्रदेश समितिले महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा मुस्लिम समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको हो।

देशको कुल जनसंख्याको करिब ४ दशमलव ५ प्रतिशत हिस्सा ओगट्ने मुस्लिम समुदायको प्रतिनिधित्व १४औँ महाधिवेशनको तुलनामा समेत घट्ने अवस्था देखिएको भन्दै ध्यानाकर्षण गराइएको संघका प्रदेश अध्यक्ष शाह मोहम्मदले सिभिलखबरलाई बताए ।

संघले महाधिवेशनका लागि वडा तहदेखि क्षेत्रीय प्रतिनिधि, पालिका, प्रदेशसभा क्षेत्र तथा प्रतिनिधिसभा क्षेत्रसम्म प्रतिनिधि चयन भइरहेको अवस्थामा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने स्पष्ट व्यवस्था आवश्यक रहेको जनाएको छ।

नेपाल मुस्लिम संघ, गण्डकी प्रदेश कार्यसमितिले समावेशी सिद्धान्त र नेपाली कांग्रेसको मूल भावनाविपरीत देखिएको त्रुटि तत्काल सुधार गरी मुस्लिम समुदायको उचित तथा न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ।

कांग्रेसको विगतको सांगठनिक प्रस्तावमा पनि महिला, दलित, मधेसी, आदिवासी जनजाति, थारू, मुस्लिमलगायत समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषय उल्लेख गरिएको देखिन्छ। तर निर्वाचन निर्देशिका २०८३ मा भने मुस्लिम क्लष्टर नै हटाइएपछि मुस्लिम समुदायका नेता कार्यकर्ताले बिरोध जनाइरहेका छन् ।

संघले पार्टी नेतृत्वलाई बुझाएको ध्यानाकर्षणपत्रमा यस्तो उपेक्षाले मुस्लिम समुदायमा निराशा उत्पन्न हुनुका साथै दीर्घकालमा पार्टीलाई समेत क्षति पुग्न सक्ने उल्लेख गर्दै तत्काल आवश्यक सुधार गर्न आग्रह गरेको छ।

यता काँग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारका अनुसार सभापति गगनकुमार थापा र निर्वाचन समितिसंग त्यसबारे आफ्नो निरन्तर छलफल भइरहेको जानकारी गराएका छन् । ‘महाधिवेशन प्रतिनिधी छनोटका बिषयमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न सभापति र निर्वाचन समितिसंग मेरो बारम्बार कुरा भइरहेको छ’, मुस्लिम संघका संस्थापक अध्यक्ष समेत रहेका सत्तार भने ‘केहि सम्बोधन हुन्छ भन्ने विश्वास छ ।’

१५ औं महाधिवेशन अन्तरगत आजबाट महाधिवेशन प्रतिनिधी चयनको प्रकृया सुरु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार