काठमाडौं । अबकाे ५ बर्षपछि नेपालमा डाक्टर र नर्स पाउनै मुस्किल हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले बताएका छन् । कान्ति बाल अस्पतालको ६२ औं बार्षिकोत्सवको अवसरमा आईतबार आयोजित समारोहलाई सम्बाेधन गर्दै मन्त्रि बस्नेतलले चिकित्सा शिक्षा ऐनका कारण नेपालमा अबकाे ५ बर्षपछि डाक्टर र नर्सहरु भेटिन गाह्राे हुने बताएका हुन् ।
‘चिकित्सा शिक्षा ऐनले नेपालकाे स्वास्थ्य शिक्षालाई एकदमै साँघुराे बनाइदियाे, हेर्दै जानुस् यसकाे असर अब देखिनेछ, ५ बर्षपछि नेपालमा डाक्टर र नर्स पाउनै मुस्किल हुनेछ ।’ मन्त्रि बस्नेतले भने ‘त्यसैले साे ऐनकाे संशाेधनकाे विकल्प छैन ।’
त्यस्तै उनले नेपाललाई चिकित्सा शिक्षाकाे हब बनाउन सकिने समेत दावी गरे । चिकित्सा शिक्षा ऐनलाई संशाेधन गरेर समयसापेक्ष बनाउँदै फराकिलाे बनाउन सके नेपालकाे चिकित्सा शिक्षाकाे भविश्य राम्राे रहेकाे उनकाे भनाई थियाे ।
मन्त्री बस्नेतले ३५२ शैया मार्फत उपचार सेवा प्रदान गरिरहेको कान्ति बाल अस्पतालको सेवा विस्तार गरि चाडै १००० शैयाको बाल स्वास्थ्य अध्ययन संस्थान बनाइने समेत बताए । अस्पतालको सेवा बिस्तार र अनुसन्धान गर्न बाल स्वास्थ्य अध्ययन संस्थान आवश्यक देखिएकोले भोलीदेखि नै यसमा अगाडि बढ्ने बताएका हुन ।
‘राम्रो काम गर्न साइत हेराई राख्नु पर्दैन । मैले भोली नै शहरी विकास मन्त्री र शहरी विकास विभागका महानिर्देशकलाई स्वास्थ्य मन्त्रालयमा छलफलका लागि बोलाएको छु । जति सक्दो यसको काम अगाडि बढाउछु । त्यसपछि अर्थ मन्त्रालय जाने काम सुरु गरौला ।’ उनले भने ।
मन्त्री बस्नेतले १००० शैयाको अस्पताल सहित बाल स्वास्थ्य अध्ययन संस्थान बनाउन करिव ९ अर्ब रुपैया बजेट आवश्यक हुने भएकाले एक वर्षमै संभव नभए पनि दूई तिन वर्षमा सम्पन्न गर्ने गरि अगाडि बढ्नु पर्ने आवश्यकता रहेकोमा जोड दिए ।
अस्पतालका अध्यक्ष डा बाबुराम गाैतमकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अस्पतालका पूर्व निर्देशक समेत रहेका योजना आयोगका सदस्य डा. आरपी विच्छाले कान्ति बाल अस्पताल अभिभावक बिहिन जस्तो देखिएको बताउदै स्वास्थ्य मन्त्री बस्नेतलाई अभिभाभकत्व ग्रहण गरेर यसका विद्यमान समस्या समाधानका लागि अग्रसर भइदिन आग्रह गरे ।
कार्यक्रममा अस्पतालकाे सेवा प्रवाहमा याेगदान दिने कर्मचारी तथा ब्यक्तिहरुलाई सम्मान समेत गरिएकाे थियाे । साे अवसरमा अस्पतालले स्मारिका समेत सार्वजनिक गरेकाे छ ।