काठमाडाैँ । जापानी सहयोग नियोग जाइकाद्धारा कान्ति बाल अस्पताललाई एमआरआई र सीटीस्क्यान मेसिन सहयाेग गरेकाे छ । जाइकाबाट प्राप्त साे मेसिनहरु आज आज अस्पतालकाे ६२ औं बार्षिकाेत्सवकाे अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री माेहनबहादुर बस्नेतले उद्घाटन गरे ।
उद्घाटनसंगै आजैदेखि साे मेसिनहरुबाट सेवा समेत सुचारु गरिएकाे अस्पतालका निर्देशक डा पंकज रायले जानकारी दिए ।
अस्पतालकाे अनुराेधमा जाइकाले १२८ स्लाइस सीसीको सिटिस्क्यान मेसिन र १.५ टेस्लाको एमआरआई मेसिन सहयाेग गरेकाे जनाएकाे छ ।
अस्पतालमा एमआरआई सेवा पहिलो पटक सुरु भएको हो। सिटिसक्यान भने पहिलादेखि नै सञ्चालनमा थियो। देशभरिको एक मात्र सरकारी बाल अस्पताल कान्तिमा दैनिक ५ देखि ६ सय जना बहिरङ्ग विभागमा सेवा लिन जाने गरेका छन्।
यसअघि एमआरआईको अभावमा बिरामीहरु टिचिङ तथा वीर अस्पताल जानु पर्ने बाध्यता थियो।
ती अस्पतालहरुमा पनि समयमा पालो नपाउने भएपछि बिरामीहरु बाध्य भएर निजीमा सेवा लिन जान बाध्य हुँदै आएका थिए । अब भने कान्तिबाटै एमआरआई सेवा समेत सुचारु भएपछि सहज हुने अस्पतालकाे विश्वास छ ।