गोरखा । कृषि ज्ञान केन्द्र गोरखामा यो बर्षका लागि झण्डै साढे १३ करोड बजेट आएको छ । आर्थिक बर्ष २०७७/७८ मा जिल्लाभर कार्यक्रम सञ्चालनका लागि संघ र प्रदेशबाट गरी १३ करोड ४५ लाख ६६ हजार रकम निकासा हो ।
यस बर्ष जिल्लाभर कार्यालयबाट सञ्चालन हुने कार्यक्रम र बजेटका बारे बिहिबार केन्द्रले सम्पूर्ण विवरण सार्वजानिक गरेको छ । केन्द्रका प्रमुख मनिता थापाले बर्षभरी सञ्चालन हुने कार्यक्रम तथा त्यसका लागि बिनियोजित बजेट सार्वजानिक गरेकी हुन ।
जसमा ४ करोड १६ लाख ८६ हजार रकम संघिय सरकारबाट हस्तान्तरित कार्यक्रम मार्फत आएको छ । त्यस्तै गण्डकी प्रदेशबाट ९ करोड २८ लाख ८० हजार प्राप्त भएको प्रमुख थापाले बताइन । जसमा चालु तर्फ ५ करोड ९७ लाख २० हजार र ३ करोड ३१ लाख ६० हजार पुँजीगत तर्फको बजेट रहेको उनको भनाई छ ।
प्राप्त बजेटमा झण्डै ९० प्रतिशत रकम कृषि जन्य उत्पादनमा अनु्दान वितरणमा खर्च हुने गरी रकम आएको बताइएको छ । जसमा साना ब्यवसायिक कृषि फर्म स्थापना तथा बिस्तारमा एक करोड ५० लाख रकम स्विकृत भएको छ ।
यो कार्यक्रम अन्तरगत जिल्लाका ५० स्थानमा अनुदान वितरण गर्ने कार्यालयको लक्ष्य छ । त्यस्तै ५० स्थानमै साना सिंचाई कार्यक्रम सञ्चालनका लागि २ करोड ५० लाख रकम छ । स्थानीय कृषि उपज बिक्रि केन्द्र स्थापना कार्यक्रमका लागि २२ लाख ५० हजार, बाँझो जग्गामा ब्यवसायिक खेती प्रोत्साहन कार्यक्रममा ३० लाख बजेट स्विकृत भएको केन्द्रकी प्रमुख थापाले बताइन् । यो कार्यक्रम समेत ५० स्थानमा लागु गर्ने लक्ष्य राखिएको छ ।
यसैगरी क्लष्टरमा रैथाने बाली संरक्षण कार्यक्रमका लागि १० लाख, क्षेत्रफलका आधारमा तरकारी उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रममा ६४ लाख ५० हजार बजेट रहेको उनले बताइन । त्यस्तै आलुखेती प्रवद्र्धन विशेष कार्यक्रमका लागि ३० लाख, स्थानीय महत्वका बालीको ब्यवसायिक कृषि केन्द्र (ब्लक) विकास कार्यक्रम अन्तरगत नयाँ ब्लक स्थापनामा १ करोड ७५ लाख, पूरानो ब्लकको निरन्तरताका लागि ९० लाख ३४ हजार रकम आएको छ ।
प्रारङ्गिक मिशन कार्यक्रमको बिभिन्न चार उपशिर्षकमा ८९ लाख ६५ हजार रकम स्विकृत भई आएको कार्यालयले जनाएको छ । कृषि ज्ञान केन्द्रबाट अनुदान लिई ब्यवसायिक रुपमा कृषि जन्य उत्पादन कार्यक्रम गर्नका लागि कार्यालयले इच्छापत्र समेत आह्वान गरेको बताइएको छ । जुन असोज मसान्त भित्र बुझाइ सक्नुपर्ने गरी कार्यालयले सूचना प्रकाशित गरेको जनाएको छ ।
ज्ञान केन्द्रको कार्यालय डण्डीडाँडाँमा भएको सार्वजनिकीकरण कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक कुमार गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण बहादुर दाहाल, अजिरकोट गाउँपालिकाका अध्यक्ष फणिन्द्र धिताल, धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले आ-आफ्नाे बिचार राखेका थिए ।
त्यस्तै कार्यक्रममा गण्डकी गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारी, भिमसेन थापा गाउँपालिकाका उपाध्यक्ष बिनु वाग्ले, नेकपा गोरखाका सचिवालय सदस्य यादव बस्नेत, नेपाली काँग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपाने, जनता समाजवादी पार्टी गोरखाका अध्यक्ष नारायण खत्री, स्थानीय तहका कृषि शाखाका प्रमुख एवं प्रतिनिधी लगायतले बोलेका थिए ।
बोल्ने अधिकांश वक्ताले अनुदान वितरणको नीतिगत पक्ष ब्यवहारिक नभएको, संघ, प्रदेश र स्थानीय तहबिच समन्वय नहुदा दोहोपनाको समस्या देखिएको बताएका थिए । त्यस्तै स्थानीय तहमा कृषि क्षेत्र हेर्ने कर्मचारी अभावमा कार्यक्रम सञ्चालनमा समस्या परेको कतिपय जनप्रतिनिधीको दुखेसो छ । कार्यक्रमको सिभिलखबर डटकम लगायतका सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।