गोरखा । सम्भव नेपाल नामक संस्थाले गोरखाको चारवटा गाउँपालिका भित्रका एक सय ३३ सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ को प्रभावका बीच विद्यालय संचालन हुने क्रम सुरु भएकाले शिक्षक र विद्यार्थीलाई सुरक्षित राख्नका लागि सघाउनेगरि मास्क, साबुन, थर्मलगन सहयोग गरिएको सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले बताए ।
उत्तरी गोरखाको चुमनुब्री, धार्चे, आरुघाट र भिमसेन थापा गाउँपालिका अन्तगर्त रहेका विद्यालयका शिक्षक र विद्यार्थी गरि १८ हजार पाँचसय ५४ जनाका लागि सामाग्री सहयोग गरिएको हो । अन्य स्थानीय तहमा यसअघि नै ती सामाग्री वितरण गरेको सम्भव नेपालले भिमसेन थापा गाउँपालिकामा भने बुधवार बितरण गरेका हुन् । सबैगरि एकसय ४० थान थर्मल गन, २२ हजार दुईसय ४० थान साबुन, ५६ हजार सातसय ६६ थान कटन मास्क उपलब्ध गराएको अध्यक्ष खत्रीले बताए ।
चारवटा गाउँपालिकामा उक्त सामाग्री बितरण गर्न २४ लाख रुपैयाँ खर्च भएको उनले बताए । गाउँपालिका र विद्यालयको माग अनुसार विद्यार्थी संख्याको तथ्यांक लिएर एउटा विद्यार्थीलाई तीनवटा मास्क र छ महिना विद्यालयलाई पुग्ने साबुन उपलब्ध गराएको अध्यक्ष खत्रीले जानकारी दिए ।
बुधवार एक कार्यक्रमका बिच गोरखाको भिमसेन थापा गाउँपालिका घ्याम्पेसालको दुल्लभ माध्यामिक विद्यालय, मनकामना आधारभुत र बिन्द्राबती माविलाई स्वास्थ्य र सरसफाईका सामग्री बितरण गरिएको हो । अन्य विद्यालयका लागि भने गाउँपालिकालाई हस्तान्तरण गरिएको स्वास्थ्य सामग्री हस्तान्तरण अभियानका सहयोगी उत्तम अधिकारीले बताए ।
भिमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे, उपाध्यक्ष बिनु वाग्ले, सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले विद्यालयका प्रधानाध्यापकलाई उक्त सामग्री बितरण गरेका हुन् ।