काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले शनिबार साँझ उनकी श्रीमती सविना काफ्ले सवार सरकारी नम्बर प्लेटको गाडीलाई ट्राफिक प्रहरीले चेकजाँच गरेको घटनाबारे प्रष्टीकरण दिएका छन्।
आइतबार साँझ मेयर बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक विदाको दिन चलाउने परमिट लिइएको भए पनि शनिबार साँझ ट्राफिकले रोक्दा उक्त परमिट गाडीमा नभएको स्वीकारेको छ।
बालेन पत्नी काफ्ले सुत्केरी भएको र एनआइसियूमा रहेको बच्चालाई स्तनपान गराउन अस्पताल गएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा मेयर बालेन्द्र शाहपत्नी सबिना काफ्लेलाई ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर हप्काएको जनाइएको छ ।
बालेनका स्वकीय सचिव भुपदेव शाहले ट्राफिक प्रहरीले ७ मिनेटसम्म काफ्लेलाई नियन्त्रणमा लिई आफूले चाहे यहीं राखिदिन सक्ने भन्दै धम्की दिएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नगर प्रमुख सहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे । सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो ।’
शनिवार राति करीब ९ बजेको समयमा कोटेश्वरमा ट्राफिक प्रहरीले चेकजाँच गरेको थियो । त्यसपछि बालेनले फेसबुकमा स्ट्याटस लेखेर सिंहदरबार जलाइदिने धम्की दिएका थिए ।
यसबारेमा सामाजिक सञ्जालमा विभिन्न खालका चर्चा र सञ्चारमाध्यममा विभिन्न खाले प्रतिक्रिया आएपछि बालेन शाहको सचिवालयले विज्ञप्ति जारी गरेको हो ।
हेर्नुहोस् विज्ञप्ति –

