• शनिबार, साउन ९ २०८३

१३ देशका नेपाली राजदुतलाई काठमाडौं बोलाएर प्रधानमन्त्री दाहालले दिए यस्तो निर्देशन


मंगलबार, भाद्र २६ २०८०
1.3K
Shares

काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख श्रम गन्तव्य देशमा खटिएका नेपाली राजदूतहरुलाई काठमाण्डौ बोलाएर श्रमिकको पक्षमा काम गर्न निर्देशन दिएका छन् । विदेशस्थित नेपाली दूतावासका १३ राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका हुन्।

सेप्टेम्बर ११ र १२ मा काठमाडौंमा प्रधानमन्त्री दाहालले प्रमुख श्रम गन्तव्य देशमा रहेका नेपाली राजदुतलाई बोलाएर वैदेशिक रोजगारीको अवस्था, समस्या, चुनौती र योजनाका बारे छलफल गरेका थिए । सो क्रममा हिजो सोमबार १३ देशका राजदुतको गुनासो, समस्या र योजना सुनेका थिए ।

सो क्रममा खाडी मुलुकमा खटिएका राजदुतहरुले घरेलु कामदारको माग खाडी मुलुकमा अत्याधिक रहेको तर आवस्यक कानून र सुरक्षाको प्रत्याभुत नहुँदा माग पत्र प्रमाणिकरण गर्न नसकिएको बताएका थिए ।

राजदुतहरुको कुरा सुनेपछि आज मंगलबार दिन प्रधानमन्त्री दाहालले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा दाहालले विदेशमा रहेका नेपाली कामदारहरूले किन अनेकन् समस्या झेल्नुपरिरहेको छ ? भन्दै राजदुतलाई प्रश्न गरेका थिए । त्यस्तै उनले देशभित्र रोजगारीको अवसर नहुँदा ठूलो संख्यामा नेपाली श्रमिक वैदेशिक रोजगारीमा रहदा देशको अर्थतन्त्रमा समेत सहयोग पुगेको बताए ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरू ठगीमा पर्ने, मानव अधिकारको प्रत्याभूति र समयमै राहत उद्धार हुन नसक्नु र कार्यस्थलका विभिन्न प्रकारका जोखिममा पर्नु लगायतका समस्याहरूको सामना गर्न दाहालले निर्देशन समेत दिएका छन् । साथै उनले राजदुतहरुले राखेको समस्या समाधानका लागि सरकारले पहलकदमी लिने समेत प्रतिवद्धता जनाए ।

कार्यक्रमले विदेशमा रहेका नेपाली श्रमिकहरूका समस्या समाधान गर्न, नेपालको कूटनीतिक क्षमतालाई सुदृढ र बिस्तार गर्न, देशभित्र विदेशी लगानीको वातावरण सिर्जना गर्न एवं नेपालको बहुआयमिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे।

कार्यक्रममा नेपाली राजदूतहरू, कतार नरेशविक्रम ढकाल, अष्ट्रिया भरत गौतम, ओमान डोरनाथ अर्याल, जर्मनी रामकाजी खड्का, जापान दुर्गाप्रसाद सुवेदी, दक्षिण कोरिया ज्योति प्याकुरेल, मलेसिया डिल्लीराज पौडेल, कतार नरेशविक्रम ढकाल, बहराइन तीर्थराज वाग्ले, पाकिस्तान तापस अधिकारी, कुवेत घनश्याम लम्साल, संयुक्त अरब इमिरेट्स् तेजबहादुर क्षेत्री, साउदी अरेयिबा नवराज सुवेदी सहभागी थिए ।

कार्यक्रममा प्रधानमन्त्री दाहाल, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका सचिवहरू उपस्थित थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार