• शनिबार, साउन ९ २०८३

श्रम गन्तव्य देशमा खटिएका नेपाली राजदूतहरुलाई प्रधानमन्त्रीले किन बोलाए नेपाल ?

तेह्र देशमा क्रियाशील कुटनीतिक नियोगका प्रमुखहरू उपस्थित


सोमबार, भाद्र २५ २०८०
1.2K
Shares

काठमाण्डाै । नेपाली श्रमिक कार्यरत प्रमुख श्रम गन्तव्य देशमा खटिएका नेपाली राजदूतहरु काठमाण्डौ आएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीको क्षेत्रमा फेरिएको अवस्थाबारे प्रधानमन्त्री र मन्त्रीहरुसँग छलफल गर्न उनीहरु काठमाण्डौ आएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा आज र भोलि हुने छलफलमा श्रम स्वीकृतिदेखि नेपाली श्रमिकले भोगेका समस्या र समाधानको उपायको विषयमा कुराकानी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा सुरक्षित वैदेशिक रोजगारीका लागि श्रमिक भर्ना प्रक्रिया, घरेलु श्रमिकको भर्ना सम्बन्धी लिइएको मापदण्ड, वैदेशिक रोजगारीको मागपत्र प्रमाणीकरण, खाडी र मलेसियामा कार्यरत नेपालीको श्रमिकको अवस्थाबारे राजदूतहरुले जानकारी गराउने छन् ।

यस्तै, युरोप रोजगारीको विषयमा पनि छलफल हुने कार्यक्रम छ । पछिल्लो समय युरोपमा नेपाली श्रमिकको उच्च माग भएपछि श्रम मन्त्रालयले मागपत्र प्रमाणीकरणलाई सहजीकरण र संशोधन गर्नका लागि वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँच निर्देशिका बनाए पनि परराष्ट्रबाट अगाडि बढेको छैन । युरोपमा मागपत्र प्रमाणीकरण रोकिँदा संस्थागत रूपमा नेपाली श्रमिक युरोप जानबाट वञ्चित भइरहेका छन् ।

कार्यक्रममा मागपत्र प्रमाणिकरण, जाँचबुझमा रहेका समस्या, वैदेशिक रोजगारीमा हुने ठगी, कार्यस्थलमा श्रमिकले भोगेका समस्या, मानव तस्करीको समस्या, विदेशमा रहेका कागजातविहीन नेपाली श्रमिकका समस्या, फ्रि भिषा फ्रि टिकटको अवस्था र समस्या, इ–भिसा, सिजनेवल भिसाका समस्या, नेपाली कुटनीतिक नियोगको प्रभावकारिता लगायत श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र विश्वासनीय बनाउने विविध विषयमा छलफल हुनेछ।

अन्तरक्रियामा नेपाली राजदूतहरू, अष्ट्रिया भरत गौतम, ओमान डोरनाथ अर्याल, जर्मनी रामकाजी खड्का, जापान दुर्गाप्रसाद सुवेदी, दक्षिण कोरिया ज्योति प्याकुरेल, मलेसिया डिल्लीराज पौडेल, कतार नरेशविक्रम ढकाल, बहराइन तीर्थराज वाग्ले, पाकिस्तान तापस अधिकारी, कुवेत घनश्याम लम्साल, संयुक्त अरब इमिरेट्स् तेजबहादुर क्षेत्री, साउदी अरेयिबा नवराज सुवेदी लगायतले विदेशमा रहेका नेपाली कामदारहरूको अवस्था र त्यसमा सुधार ल्याउन चाल्नुपर्ने कदमहरूबारे आफ्नो रिपोर्टसहितको धारणा राखेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका सचिवहरू उपस्थित छन् ।

सोमबार र मंगलबार गरी २ दिन सञ्चालन हुने अन्तरक्रियामा मंगलबार प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार