काठमाण्डाै । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा देखिएको अहिलेको विवादमा दुई अध्यक्षबीच मात्र सहमति गर्न खोजे त्यसविरुद्ध देशव्यापी अभियान चलाउने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटरमा शनिबार बसेको सचिवालय बैठकमा नेपालले ‘दुई अध्यक्षमात्रै मिल्दा समस्या समाधान हुन्छ भन्ने ठाने त्यो ठूलो भूल हुने’ बताएका हुन्।
‘फेरि पनि दुई अध्यक्ष मिल्ना साथ समस्या समाधान भइहाल्छ भनेर ठान्नुभएको भए त्यो भूल हुनेछ, पार्टी र सरकारलाई विधि र प्रक्रियाबाट चलाउनु पर्छ ’, बैठकमा नेपालको भनाइ उधृत गर्दै एक नेताले भने, ‘पार्टी र सरकार कसरी सञ्चालन गर्ने प्याकेजमा सहमति हुनुपर्छ, दुई अध्यक्ष मिलेर मात्रै हुँदैन। प्याकेजमा सहमति नगर्ने हो भने म देशव्यापी अभियान शुरु गर्छु।’
नेपालले अहिले पार्टीमा देखिएको समस्या दुई अध्यक्षको व्यवस्थापनको मात्र विषय नभएको बताए।
सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ‘सरकार पाँच वर्ष नै आफुले सञ्चालन गर्ने तर पार्टीको महाधिवेशन मंसिरमा गरेर अध्यक्ष छोड्ने’ प्रस्ताव राखेका थिए। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको प्रस्तावमा प्रष्ट प्रतिक्रिया नदिएपछि वरिष्ठ नेता नेपालले दुई अध्यक्ष मात्र मिल्न लागेको आशंका गरेका हुन्।
‘अध्यक्षले मंसिरमा महाधिवेशन गर्ने कुरा गर्नु भएको छ, यति चाँडो महाधिवेशन कसरी हुन सक्छ’, प्रश्न गर्दै नेपालले भने, ‘नेतृत्व परिवर्तनका लागि मात्रै महाधिवशेन त गर्नै पर्दैन, अन्य विधि पनि छन्।’
बैठकलगत्तै प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल र स्थायी कमिटीका सदस्य जनार्दन शर्मा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् समाचार नेपालखबरले प्रकाशित गरेकाे छ ।