• शुक्रबार, साउन ८ २०८३

निर्वाचन आचारसंहिताको पूर्ण पालनाका लागि नागरिक अभियानको अपिल


आइतबार, फाल्गुन १७ २०८२
1.2K
Shares

काठमाडौँ । फाल्गुन २१ गते सम्पन्न हुन गइरहेको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न आग्रह गर्दै पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान ले सबै सरोकारवाला लाई निर्वाचन आचार संहिताको अक्षरशः पालना गर्न अपिल गरेको छ ।

अभियानले बिहीबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोग द्वारा जारी गरिएको ‘निर्वाचन आचारसंहिता–२०८२’ को पूर्ण कार्यान्वयन लोकतन्त्रको सुदृढीकरणका लागि अपरिहार्य रहेको जनाएको हो ।

विज्ञप्तिमा हालसम्म आचारसंहिताको कार्यान्वयन आधारभूत रूपमा सकारात्मक देखिए पनि पछिल्ला केही दिनयता उल्लङ्घनका घटनाहरू सार्वजनिक हुन थालेको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ ।
अभियानले विशेषगरी ‘मौन अवधि’ मा आचारसंहिता उल्लङ्घनका घटनाहरू बढ्ने जोखिम उच्च रहेको उल्लेख गर्दै विगतका अनुभवहरूले पनि त्यही संकेत गरेको जनाएको छ ।

“भय, त्रास, लोभ, प्रलोभन र हिंसायुक्त वातावरणमा सम्पन्न गरिने निर्वाचनले लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्न सक्दैन,” विज्ञप्तिमा भनिएको छ ।
अभियानले नेपाल सरकार, राजनीतिक दल, सुरक्षा निकाय, सञ्चार माध्यम, पर्यवेक्षण गर्ने संस्था, उम्मेदवार तथा आम मतदातासहित निर्वाचनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध सबै पक्षलाई जिम्मेवार र सजग बन्न आह्वान गरेको छ। निष्पक्ष, स्वतन्त्र र पारदर्शी निर्वाचनका लागि आचारसंहिताको पूर्ण पालनामा सबैले सक्रिय सहयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

विज्ञप्तिमा नरेन खतिवडा, डा. चिरन्जिवी भट्टराई, गंगा देवी कडेल, मञ्जु गुरुङ, भोला भट्टराई, खगेन्द्र ओली, अधिवक्ता गणेश धामी, प्रयास अधिकारी, सरोज गिरी, लोकेन्द्र राज गिरी, अधिवक्ता भुपेन्द्र शाह, योगेन्द्र विजय दाहाल, राम रोहन पन्त, कर्णबहादुर नेपाली, संजय पन्थी, सागर देवकोटा, जिना यादव, जिया राजभण्डारी र समिर परियार लगायतका अभियन्ताहरूको हस्ताक्षर रहेको छ ।

अभियानले लोकतन्त्रको विश्वसनीयता जोगाउन निर्वाचन प्रक्रियामा पारदर्शिता, जवाफदेहिता र कानुनी शासनको पूर्ण सम्मान अपरिहार्य रहेको दोहोर्याएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार