• शुक्रबार, साउन ८ २०८३

चुनावी रौनक: गोरखाका दुबै क्षेत्रमा आइपुग्यो मतपत्र


सोमबार, फाल्गुन ११ २०८२
1.5K
Shares

गोरखा। यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र गोरखामा आइपुगेको छ । दुबै क्षेत्रको प्रत्यक्ष र समानुपातिक तर्फको मतपत्र शनिबार जिल्ला आइपुगेको हो ।

क्षेत्र नं. १ मा प्रत्यक्षको १ लाख ३० हजार र समानुपातिक तर्फ एक लाख ३७ हजार मतपत्र आइपुगेको सहायक निर्वाचन अधिकृत कृष्णमुरारी सिग्देल जानकारी दिए । ‘हामीलाई चाहिने मतपत्र आइसकेको छ, अब मतदान केन्द्रमा पठाउनका लागि मिलाउँदैछौं, उनले भने, ‘आगामी १४ गते मतपत्र पठाउने गरी काम भइरहेको छ ।’

क्षेत्र नं २ मा भने प्रत्यक्ष तर्फमा १ लाख १७ हजार र समानुपातिकमा पनि १ लाख १७ हजार मतपत्र आइपुगेको सहायक निर्वाचन अधिकृत सरोज भण्डारीले जानकारी दिए । ‘प्राप्त भएको मतपत्रलाई छुट्टयाएर पोका बनाउने काम गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो क्षेत्रमा मतदान केन्द्रहरु धेरै टाढा छैनन्, त्यसैले मतदान गर्ने केही दिन अघि मात्र पठाउने योजना गरिएको छ ।’

निर्वाचनका लागि आवश्यक पर्ने अन्य सामग्रीको व्यवस्थापनको काम पनि सकिएको छ । निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्ति गरी अब तालिम सञ्चालन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रबिलाल सुबेदीले जानकारी दिए ।

जसअन्र्तगत चुमनुब्री, धार्चे, आरुघाट, बारपाक सुलिकोट, भिमसेन थापा, अजिरकोट र गण्डकी गाउँपालिकामा खटिने कर्मचारीलाई फागुन ११ गते तालिम दिइने उनले बताए । त्यसैगरी गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गा.पा र शहिद लखन गा.पामा मंगलबार तालिम सञ्चालन गरिनेछ ।

क्षेत्र नं १ तर्फ गोरखा नगरपालिकाको १ देखि ७ नं. सम्मको वडा, चुमनुब्री, धार्चे, गण्डकी, आरुघाट, भिमसेन थापा र सहिद लखन गाउँपालिका पर्दछ । त्यसैगरी गोनपाको वडा नंं ८ देखि १४ सम्म, पालुङटार नगरपालिका, अजिरकोट, बारपाक सुलिकोट र सिरानचोक गाउँपालिका क्षेत्र नं. २ मा पर्दछ ।

जिल्लामा कुल २ सय २५ मतदानस्थल र ३ सय ३१ मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्वर १ मा १३१ मतदान स्थल र १८१ मतदान केन्द्र छन् । क्षेत्र नम्बर २ मा भने ९४ मतदान स्थल र १५० मतदान केन्द्र रहेका छन् । ती मध्ये कुल ८३ वटा मतदान स्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ ।

सुरक्षाको दृष्टिकोणबाट जिल्ला सुरक्षा समितिले ती मतदानस्थललाई अति संवेदनशीलमा राखिएको प्रहरीले जनाएको छ । १ सय ३० मतदान स्थल संवेदनशील र ११ सामान्य रहेका छन् । दुबै क्षेत्रमा गरी २५ जनाको उम्मेदवारी परेको छ । जसअनुरुप क्षेत्र १ मा एक स्वतन्त्र सहित १२ र क्षेत्र नम्बर २ मा २ स्वतन्त्र सहित १३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार