काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दलित महिला नेतृत्व विकास एकेडेमी सञ्चालनमा ल्याईएको छ । राष्ट्रिय जनवकालत मञ्च (नाफान)ले ‘दलित सशक्तीकरण तथा जिविकोपार्जन’ कार्यक्रम अन्र्तगत एकेडेमी सञ्चालनमा ल्याइएको हो ।
दलित महिलाको आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृति विषयमा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले एकेडेमी सञ्चालनमा ल्याइएको कार्यक्रम संयोजक पवन ढकालले जानकारी दिए । एकेडेमी मार्फत जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १२ देखि १८ सम्मका २ सय जना महिलाको क्षमता विकास गर्ने उनको भनाई छ ।
३ वर्षसम्म सञ्चालन गरिने एकेडेमीमा सहभागीलाई छुवाछुत अन्त्य, लैंगिक हिंसा, सामुदायिक संगठनको निर्माण, अनौपचारिक शिक्षा प्रवद्र्धन, परम्परागत ज्ञान सीपको प्रवद्र्धन, आय आर्जनका वैकल्पिक स्रोतहरुको खोजी, उद्यमशीलता, व्यवसायिक योजना निर्माण, बचत गर्ने बानीको विकास गर्ने, बैंक खाता खोल्ने र सञ्चालन गर्ने, प्राकृतिक स्रोत एवं सार्वजनिक, ऐलानी, पर्ति तथा खेर गएका खाली जमिनको उपयोग, नदी उकास जमिनमा वृक्षारोपण, हरित उद्यम विकासका लागि प्रोत्साहन गर्ने, लोक सँस्कृति, बाजागाजा, खानाका परिकार, परम्परा, भेषभुषा, रितिरिवाज, चाडपर्व र परम्परागत सिप संरक्षणका बारेमा समेत सिकाइने उनी बताउँछन् ।
एकेडेमीमा दुई दुई महिनामा बैठक गर्ने र आवश्यकताको आधारमा प्रशिक्षण गर्ने योजना बनाइएको छ । एकेडेमीमा प्रशिक्षित भइसकेपछि उनीहरुले भविष्यमा सामुदायिक संगठन र राजनीतिक दलमा नेतृत्वका लागि दावी गर्न सक्षम हुने नाफानका सदस्य बच्चु साह कानुले बताए ।
१४ मंसिरमा डुम्बरवानामा एकेडेमीको पहिलो बैठक बसेको स्थानीय सहजकर्ता हेमन्ती माझी मुसहरले जानकारी दिइन् । बैठकमा ६० जना दलित महिला सहभागी भएका थिए ।