गोरखा । गोरखाका तीन पालिकालाई बराम संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग गरिएको छ । नेपाल बराम सङ्घले गोरखाका तीन पालिकाहरु भीमसेनथापा, बारपाक सुलिकोट र आरुघाट गाउँपालिकालाई बराम संरक्षित वा स्वात्त क्षेत्रका रुपमा घोषणा गर्न माग गरेको हो ।
सङ्घकी केन्द्रीय अध्यक्ष भद्रकुमारी बराम नेतृत्वको टोलीले पालिका अध्यक्षहरुलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग राखेको हो ।
‘बराम समुदायको उद्गम स्थलका रुपमा गोरखालाई मानिन्छ, सर्वोच्च अदालतले पनि २०७५ पुस १६ गते फैसला गरेर बराम जातिको सामाजिक सांस्कृतिक तथा आर्थिक विकासका लागि विशेष, संरक्षित र स्वायत्त क्षेत्र बनाउनु भनी निर्देशनात्मक आदेश दिएको छ’ संघका सल्लाहकार जगत बरामले भने ‘तर पालिकाहरुले अहिलेसम्म माग सम्बोधन गर्न कुनै पहल गर्नुभएन’
बरामका अनुसार सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, व्यवस्थापिका संसद्, संसद् सचिवालयको कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र गोरखाको बारपाक सुलीकोट, आरुघाटर भीमसेन थापा गाउँपालिकाका नाममा निर्देशनात्मक आदेश जारी गरिसकेको छ ।
तर, स्वायत्त क्षेत्र निर्माण गर्न हालसम्म पनि कुनै पहल नभएकाले सङ्घले सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाएको उनले बताएका छन् ।
नेपालको जनगणना २०७८ का अनुसार नेपालमा बराम जातिको जनसङ्ख्या झण्डै आठ हजार हाराहारीमा रहेको छ । जसमध्ये ९० प्रतिशत बसोबास गोरखामा रहेको उनले जानकारी दिए ।
गोरखासंगै धादिङ, चितवन, तनहुँ, नुवाकोट र मकवानपुर जिल्लामा पनि बराम समुदायको बसोबास रहेको बताइएको छ ।