काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको एक महिने रोजा अर्थात व्रत आज आइतबारदेखि सुरु भएको छ । हिजरी संवतको नवौ महिना रमजानभर मुस्लिम समुदायका सक्षम मानिस एक महिनासम्म दिनभर व्रत बस्ने गर्छन् ।
बिहान सूर्य उदाउनु केहि समय अघिदेखि बेलुका सूयस्त नहुँदासम्म पानीसम्मपनि नखाई रोजा बस्ने गरिन्छ । तर रोेजा अर्थात व्रत सक्षम मानिसका लागि मात्रै अनिबार्य छ ।
बालबालिका, बृद्धबृद्धा, बिरामी, असक्त, गर्भवती तथा सुत्केरी लगायतका लागि भने रोजा अनिबार्य छैन । त्यस्तै रोजामा अन्य केहि सर्तहरु समेत छन् । जसमा मुस्लिम समुदायका मानिसले त्यसको पालना गर्नु अनिबार्य छ ।
दैनिक पाँच पटक नमाज पढ्नुपर्नेमा रमजानमा भने बेलुका तरावीको समेत नमाज पढ्ने गरिन्छ । यसका अतिरिक्त यस महिनाभर आफूले बर्षभरी कमाएको सम्पत्तिबाट धार्मिक कर अर्थात जकात निकाल्नु, गरिब दिनदुखीका लागि खर्च गर्नु, बढीभन्दा बढी पूण्यको काम गर्नु यस महिनाको विशेषता हो ।
त्यस्तै यो महिनालाई मुस्लिम समुदायका मानिस त्याग, तपस्या र बलिदानको रुपमा समेत लिने गर्छन् । नवौ महिना रमजानको एक महिने व्रत पूरा गरेपछि दशौ महिना शव्वालको पहिलो तारिखका दिन हसौल्लासका साथ इद उल फित्र मनाउने गरिन्छ ।
अहिले हिजरी संवत अनुसार १४४६ चलिरहेको छ ।