• शनिबार, साउन ९ २०८३

गोरखा बजारको मदरसाबाट पाँच बालकले गरे कुरान कण्ठस्थ, पाए ‘हाफिज’को उपाधी


बुधबार, फाल्गुन १४ २०८१
3.6K
Shares

गोरखा । गोरखा सदरमुकामको रानीवनमा सञ्चालित मदरसा इस्लाहुल मुस्लेमिनबाट कुरान कण्ठस्थ गर्ने पाँच विधार्थीले हाफिजको उपाधी पाएका छन् ।

गोरखा नगरपालिका वडा नम्बर ८ रानीवनमा सञ्चालनमा रहेको मदरसाले बुधबार आयोजना गरेको दस्तरबन्दी कार्यक्रममा धार्मिक ग्रन्ध कुरानको पूर्ण कण्ठ गर्ने पाँच जनालाई हाफिजको उपाधी प्रदान गरिएको हो ।

हाफिजको उपाधी प्राप्त गर्नेमा १४ बर्षका रेहान आलम, १५ बर्षका जिसान आलम, १४ बर्षका मुस्तकिम मियाँ, १३ बर्षका सफिर मियाँ र १५ बर्षका इम्रान मियाँ रहेका छन् । उनिहरुले करिब २ बर्षमा इस्लाम धर्मको धार्मिक ग्रन्थ कुरान सरिफको पूर्ण कण्ठ गरेका थिए । कुरानको सहि तरिकाले पूर्ण कण्ठ गर्ने विधार्थीलाई मुस्लिम समुदायमा हाफिजको उपाधी दिने प्रचलन रहेको छ ।

मदरसा इस्लाहुल मुस्लेमिन ब्यवस्थापन समितिका अध्यक्ष ¥याजुदिन मियाँको अध्यक्षतामा भएको दस्तरबन्दी कार्यक्रममा मुस्लिम आयोगका सदस्य हाजी मोहम्मद दिन अलिको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका सदस्य अलिले इस्लामिक शिक्षालाई समेत राज्यको मुल प्रवाहिकरणमा जोड्न सरकारसंग माग गरे । नेपालमा सयौं बर्षदेखि बसोबास गर्दै आएका मुस्लिम समुदायलाई अरु समुदायसरह राज्यको हरेक तहमा समान अवसर दिनुपर्ने उनको तर्क छ ।

सबै समुदायको भाषा, संस्कृतीको संरक्षणमा सरकारले समान ब्यवहार गर्नुपर्नेमा जोड दिदै उनले टहरामा सञ्चालित र जिर्ण बनेका मदरसाहरुको भौतिक पूर्वाधारसंगै शैक्षिक गुणस्तरको विकासमा लगानी गर्न समेत माग गरे । सरकारले मुस्लिम आयोग बनाएपनि प्रयाप्त जनशक्ति र स्रोत साधन दिन नसक्दा प्रभावकारी काम गर्न नसकिएको उनले गुनासो समेत गरेका छन् ।

कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगर, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला प्रहरी कार्यालयका एसपी बासुदेव पाठक, गोरखा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रहमतुल्ला मियाँ, ८ का वडाध्यक्ष ऋषिराम खत्री, मौलाना जमिल मियाँ, मौलाना हनिफ मियाँ, गोरखा उधोग बाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्के लगायत राजनीतिक दलका प्रतिनिधी, समाजसेवी, धार्मिक गुरुहरुले बोलेको मोहम्मद याकुव मियाँले जानकारी दिए ।

दस्तरबन्दी कार्यक्रमकै अवसरमा जिल्लाका बिभिन्न मदरसामा अध्ययनरत विधार्थीहरुवीच वतृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको बताइएको छ । नेपाली, अंग्रेजी, अरबिक र उर्दु गरी चार भाषामा आयोजना गरिएको वतृत्वकलामा १६ छात्रा र १३ छात्र गरी २९ जनाले भाग लिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार