पोखरा । गण्डकी प्रदेश सभा सदस्य मनकुमारी गुरुङले बाढी पहिरोबाट मृत्यु भएकाको परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसंग माग गरेकी छिन् ।
शुक्रबार गण्डकी प्रदेश सभामा बोल्दै साँसद गुरुङले केहिदिनयताको अविरल बर्षातका कारण गण्डकी प्रदेशको बिभिन्न जिल्लामा गएको पहिरो र बाढीबाट मृत्यु भएकाको परिवारलाई सहयोग गर्न सरकारसंग माग गरेकी हुन् ।
त्यस्तै पहिरोमा पुरिएर, बाढीले बगाएर घाइते बनाएकाहरुलाई सरकारले निशुल्क उपचार गर्न समेत माग गरेकी छिन् । गोरखाबाट नेपाली काँग्रेसको समानुपातिक तर्फबाट साँसद बनेकी गुरुङले बिभिन्न घटनामा वेपत्ता भएकाहरुको उद्दार र खोजी कार्यलाई प्रभावकारी ढंगबाट अघि बढाउनुपर्नेमा उनले जोड दिएकी छिन् ।
संसदबाट सरकारको ध्यानाकर्षण गराउदै उनले गण्डकी प्रदेशका बिभिन्न जिल्लाका बस्तीहरुमा अझै पनि पहिरोको जोखिम रहेको भन्दै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने तर्क गरिन ।
‘गोरखा, कास्की, तनहुँ लगायत गण्डकी प्रदेशका सबैजसो जिल्लामा धेरै बस्तीहरु पहिरो र बाढीको उच्च जोखिममा छन्’ साँसद गुरुङले भनिन ‘पहिरो नजादै ति जोखिम भएका बस्तीहरुलाई सुरक्षित स्थानमा सारेर सम्भावित जनधनको दुर्घटनाबाट जोगाउनु जरुरी छ, यसमा सरकारकाे ध्यान बेलैमा जाओस ।’
त्यस्तै उनले गोरखाको सिरानचोक गाउँपालिका ६ को गाँखुको खैरेनी वनमा रहेको झरेखोलाले त्याहा रहेका ४३ घरधुरी कटान गर्ने अवास्थामा रहेको र बाढीले सडक समेत जिर्ण बनाएको भन्दै तत्काल समाधानको उपाय खोजी गरी ब्यवस्थापन गर्नुपर्ने माग गरेकी छिन् ।
सम्भावित जोखिम न्यूनिकरण गर्न सो स्थानको अध्ययन गरी आवस्यक ब्यवस्थापन गर्नुपर्ने उनले बताइन् ।
यसैगरी गोरखा जिल्लामा रहेका दरौदी, चेपे, बुढीगण्डकी लगायतका नदीले आसपासका बस्ती र खेतीवालीलाई हानी गर्न सक्ने भन्दै समाधानका उपाय अपनाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् । संसदमा बोल्दै उनले असारे विकासका कारण पनि विपत्ती आएको हुन सक्ने बताइन ।
‘सबै आयोजनाका काम असारमा गर्नुपर्ने, जताततै सडक खन्नुपर्ने यहि बेला’ गुरुङले भनिन ‘यो असारे विकास प्रवित्तिले पनि प्राकृतिक विपत्ति ल्याएको हो, यसमा आगामी बर्षबाट बेलैमा सरकारको ध्यान जान जरुरी छ ।’