पोखरा । मुस्लिम समुदायलाई राज्यका सबै निकाय र अंगहरुमा सहभागी गराउन नेपाली काँग्रेसको भूमिका महत्वपूर्ण रहेको केन्द्रिय सदस्य अजयबाबु सिवाकोटीले बताएका छन् ।
शनिबार पोखरामा आयोजित नेपाल मुस्लिम संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस युवा नेता सिवाकोटीले राज्यका हरेक तह र तप्कामा अन्य समुदायसरह मुस्लिमलाई समेत समान अवसर र पहुँचमा पु¥याउन काँग्रेसको भुमिका रहेको बताए ।
‘हिजो राज्य एकिकरण गर्दा पृथ्वीनारायण शाहले जसरी मुस्लिम समुदायसहित सबैलाई एकतामा बाँधेर स्पेस दिएका थिए, पछि विपी कोइरालाले पनि त्यसैलाई निरन्तरता दिदै राज्यका हरेक तहमा सबैको समान पहुँच, अवसर र सहभागिता गराउन भूमिका खेल्नु भयो, नीतिगत ब्यवस्था गर्नुभयो’ सिवाकोटीले थपे ‘पछिल्लो नयाँ संविधानले त झनै मुस्लिम समुदायलाई छुट्टै क्लष्टर नै बनाएर समावेशिताको सिद्धान्तलाई मजबुत रुपमा अघि बढाएको छ, यो सबै काँग्रेसकै नेतृत्वमा भएको हो ।’
नेपाली काँग्रेस पार्टीलाई बलियो बनाउन मुस्लिम समुदायको भूमिका महत्वपूर्ण रहेको बताउँदै केन्द्रिय सदस्य सिवाकोटीले अब समुदायभित्र पनि जागरणको अभियानलाई देशब्यापी रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
पछिल्लो समय मुस्लिम समुदायका युवाहरुमा शैक्षिक, सामाजिक, राजनैतिक अवस्था फेरिएको बताउँदै उनले महिलाहरुलाई समेत हरेक क्षेत्रमा अगाडी बढाउनुपर्नेमा जोड दिए । साथै उनले नयाँ संविधानले सुनिश्चित गरेका अधिकार र ब्यवस्थालाई राज्यले मजबुत रुपमा कार्यान्वयन गरे कुनैपनि समुदाय अधिकार, अवसर र पहुँचबाट पछाडी नपर्ने तर्क गरे ।