• शनिबार, साउन ९ २०८३

नेपाल मुस्लिम संघ गण्डकी प्रदेशको अध्यक्षमा पुनः शाहमोहम्मद


आइतबार, पुष २१ २०८१
3K
Shares

पोखरा । नेपाल मुस्लिम संघ गण्डकी प्रदेश कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । नेपाली काँग्रेसको भातृसंस्थाका रुपमा रहेको संघको पोखरामा शनिबार सम्पन्न अधिवेशनबाट शाह मोहम्मद मियाँ सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।

स्याङ्जाका मियाँ दोस्रो कार्यकालका लागि पुन: अध्यक्षमा निर्विरोध चयन भएका हुन् । उनि नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधीका साथै पार्टीको प्रदेश कार्यसमिति सदस्य समेत हुन् ।

त्यस्तै अधिवेशनले कास्कीका अब्दुल मजिद मियाँ, गोरखाका सलावतदिन मियाँ र लमजुङकी खातुन मियाँलाई उपाध्यक्षमा चयन गरेको छ ।

यसैगरी सचिवमा तनहुँकी अमिना बेगम मियाँ र गोरखाका जमिल मियाँ निर्विरोध भएको संघका मुख्य निर्वाचन अधिकृत हरि प्रसाद रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार सबै पदमा निर्विरोध भएको छ ।

संघको सहसचिवमा स्याङ्जाका मोहम्मद मियाँ र इकवाल अलि चयन हुँदा कोषाध्यक्षमा कस्कीका जुनेद अहमद निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै अधिवेशनबाट कार्यसमिति सदस्यहरुमा गोरखाका बाबुदिन मियाँ, मोहम्मददिन मियाँ, तनहुँका महम्मद हुसेन मियाँ, लमजुङकी सायरा खातुन, मसिनी मियाँ, कास्कीका अब्दुल हकिम मियाँ, मोहम्मद साहिद चयन भएका छन् ।

यसैगरी स्याङ्जाका फरिदा बानु, मोहम्मद आजाद मियाँ, कुदरत अलि मियाँ, अहमद मियाँ, फारुक शाह, पर्वतकी सैजुन मियाँ, मोहम्मद करिम मियाँ, नवलपुरका मुनिर मियाँ समेत संघ प्रदेश कमिटि सदस्यमा निर्विरोध निर्वाचित भएको अधिवेशन केन्द्रिय प्रतिनिधी नुर मोहम्मद मियाँले जानकारी दिए ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यतामा भएको संघको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य समेत रहेका संघका संस्थापक अध्यक्ष अब्दुल सत्तार, कन्द्रिय सदस्यहरु गोविन्द भट्टराई, सरस्वती तिवारी अर्याल, गुरु बराल, नैनसिंह महर, अजयबाबु सिवाकोटी, संघका केन्द्रिय अध्यक्ष डा अताबुल मन्सुरी, पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतको सहभागिता रहेको थियो ।

गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा संगठन रहेको संघको अधिवेशनमा प्रतिनिधी, पर्यवेक्षक लगायत गरी करिब एक हजार जनाको सहभागिता रहेको बताइएको छ । अधिवेशनकै अवसरमा संघले बिभिन्न क्षेत्रमा कृयाशिल रहेर समाजमा योगदान दिएका मुस्लिम युवाहरुलाई सम्मान समेत गरेको जनाएको छ ।

अधिवेशनलाई सम्बाेधन गर्दै काँग्रेस महामन्त्री गगन थापा ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार