• शुक्रबार, साउन ८ २०८३

नेपानको अध्यक्षमा पुनः भोला भट्टराई


बुधबार, असोज ९ २०८१
1.3K
Shares

काठमाडौंँ । नेपालका विकासकर्मीहरूको साझा सञ्जाल–संस्था ‘नेपाल सहभागीमूलक कार्य समूह (नेपान)’ को अध्यक्षमा पुनः भोला भट्टराई निर्वाचित भएका छन् ।

गत शनिबार काठमाडौंमा आयोजित ३० औं वार्षिक साधारणसभाले उनलाई सर्वसमतिबाट पुनः अध्यक्षमा चयन गरेको हो । भट्टराई दुई दशकयता राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विकास, वातावरण तथा संरक्षण अभियानकर्मीका रुपमा कृयाशिल छन् ।

नेपानको संशोधित विधान २०८० मा प्रावधान भएबमोजिम संस्थाले उपाध्यक्ष तथा सचिवको पनि चयन गरेको छ । विगतमा विधानमा अध्यक्ष तथा कोषाध्यक्ष, निवर्तमान अध्यक्ष, तथा सदस्यहरू गरी कुल १३ जनाको कार्यकारिणी समिति रहने व्यवस्था भएकोमा संशोधित नयाँ विधानले अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्ष, र ७ जना सदस्य गरी जम्मा ११ जनाको मात्र कार्यकारिणी समितिको व्यवस्था गरेको छ ।

नयाँ प्रावधानमा निवर्तमान अध्यक्षलाई पदेन सदस्य बनाउने पुरानो नियम भने हटाइएको छ । कार्यसमितिमा कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधानलाई नेपानले नित्य कार्यान्वयन गर्दै आएको छ । त्यसैगरी कार्यसमितिलाई सकेसम्म समावेशी बनाउने नेपानको प्रयास नेपालका अन्य संस्थाका लागि पनि उदाहरणीय बन्दै आएको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा डा. रोजी जोशी, सचिवमा श्रीराम केसी र कोषाध्यक्षमा रुपा बस्नेत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बालकृष्ण शर्मा, बिजया खनाल, डा. गिरी पन्थी, कर्णबहादुर नेपाली, डा. नरेन्द्रसिंह ठगुन्ना, रामहरि अधिकारी र सिर्जना देव सर्वसम्मत भएको नेपानले जनाएको छ ।

नेपानमा हाल झण्डै साढे तीन सय सदस्य रहेका छन् । हरेक वर्ष नयाँ सदस्य थपिने क्रम जारी रहेको छ । यस वर्ष पनि साधारणसभाले नेपालका ७ जना विकासकर्मीहरूलाई सदस्यता प्रदान गरेको छ ।

नयाँ सदस्यहरूमा चन्द्रबहादुर सर्तुङ्गे मगर, चन्द्रभक्त विष्ट, दीपक पोखरेल, दिनेश अर्याल, जयराम भण्डारी, किरणकुमार बराम तथा डा. आरसी लामिछाने छन् । नेपानका सदस्यहरू सातै प्रदेशमा छरिएर रहेका छन् ।

सहभागितात्मक विकास पद्धतिका विश्वविख्यात अनुसन्धाता तथा प्रवद्र्धक प्रा.डा. रोबर्ट च्याम्बर्स (बेलायत) नेपानका एकमात्र मानार्थ सदस्य रहेको बताइएको छ । सदस्यहरूको योगदानका आधारमा नेपानले कोटेश्वरमा आफ्नै अफिस घर (‘नेपान–घर’) समेत बनाएको छ ।

विकासकर्मीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले नेपानमा दुईवटा पुरस्कारको समेत व्यवस्था गरिएको छ । हरेक वर्ष साधारणसभाको अवसर पारेर ती पुरस्कार प्रदान गर्ने गरिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार