गोरखा । रोटरी क्लब अफ गोरखाले आयोजना गरेको ७ दिने निशुल्क दन्त शिविरमा ३ सय जनाभन्दा बढीले सेवा लिएका छन् । गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकाका नागरिकहरुलाई लक्षित गरी यहि साउन २१ गतेदेखि २७ गतेसम्म शिविर सञ्चालन गरिएको थियो ।
जसमा २१ देखि २४ गतेसम्म गोरखा नगरपालिका १० को छेवेटार आधारभुत स्वास्थ्य चौकीमा र २५ देखि २७ गतेसम्म शहिद लखन गाउँपालिका ५ को आरसिसी भिलेजमा शिविर सञ्चालन भएको क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर आनन्द गुरुङ (काजी) ले जानकारी दिए ।
दुवै स्थानमा भएको शिविरमा ३ सय ५० भन्दा बढीको स्कृनिङ भएकोमा २ सय ८० जनाको उपचार भएको गुरुङले बताए । शिविरमा दाँतको परिक्षणसहित दाँत निकाल्ने, सफा गर्ने, भर्ने तथा निशुल्क औषधी समेत वितरणको कार्य भएको बताइएको छ ।
७ दिनसम्म चलेको शिविरबाट सेवा लिनेमा विद्यालय स्तरका बालबालिकाहरु बढी रहेको क्लबले जनाएको छ । त्यस्तै शिविरबाट जेष्ठ नागरिक समेत प्रत्यक्ष लाभाञ्वित भएको बताइएको छ ।
डेन्टल भोलुन्टियरिङ्क टिम जर्मनीको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको रोटरी क्लबका क्लब एड्मिन कमल पोखरेलले जानकारी दिए ।
यस्तै आइतबार शिविरमा प्राविधिक सहयोग गर्ने जर्मनीको विशेषज्ञसहितको टोलीको विदाई गरिएको छ । ७ दिने शिविरमा जर्मनीका ३ जना विशेषज्ञ टोली सहभागी थिए । उनिहरुलाई क्लबका अध्यक्ष विनोद कुमार बस्नेतले मायाको चिनो प्रदान गर्दै विदाई गरिएको हो ।