गोरखा । गोरखामा नागरिकताभन्दा राहदानी (पासपोर्ट) लिने नागरिकको संख्या बढी देखिएको छ । गत आर्थिक बर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय गोरखाबाट नागरिकताभन्दा राहदानी वितरण गरिएको संख्या बढी देखिएको हो ।
गोरखामा गत बर्ष नागरिकता लिनेको संख्या भन्दा राहदानी लिनेको संख्या ४ हजार ४ सयभन्दा बढी रहेको कार्यालयको तथ्यांकले बताउछ । गत आ.व. मा कार्यालयले ८ हजार ४३६ जनालाई नागरिकता वितरण गरेको थियो भने १२ हजार ८४२ जनाले राहदानी बनाएका थिए । यो तथ्यांक हेर्दा नागरिकताभन्दा राहदानी बनाउनेको संख्या ४ हजार ४ सय ६ जनाले बढी हो ।
नागरिकता लिनेमा ८ हजार ३५९ जनाले वंशजको आधारमा, ८ जनाले वैवाहिक अंगकृत नागरिकताको आधारमा, १३ जनाले आमाको मात्रै नामबाट र ५६ जनाले गैरआवासीय नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय गोरखाका सूचना अधिकारी चुढानीधि तिवारीले जानकारी दिए । गोरखामा ८ हजार १०५ जनाले नागरिकताको प्रतिलिपी लिएको उनको भनाई छ ।
त्यसअघि आ.व. २०७९/८० मा १२ हजार ८१४ जनाले राहदानी बनाएका थिए भने १० हजार ८९ जनाले नागरिकता लिएका थिए । त्यस बर्ष नागरिकता लिनेभन्दा २ हजार ७ सय २५ जनाले राहदानी बनाएका थिए । यो तथ्यांकले समेत हरेक बर्ष राहदानी बनाउनेको संख्या बढ्दै गइरहेको कार्यालयको तथ्यांकले बताउँछ ।
कार्यालयका अनुसार पछिल्लो समय राहदानी बनाउन विधार्थीहरु बढी आउने गरेका छन् । ‘कतिपय त नागरिकता र राहदानी एकै दिन बनाउन पनि आउँछन्’ राहदानी शाखाका एक कर्मचारीले सिभिलखबरसंग भने ‘धेरैको लक्ष्य १२ कक्षा पढ्ने वित्तिकै विदेश जाने भन्ने हुँदो रहेछ ।’
उनका अनुसार पछिल्लो समय एसईईपछि नागरिकता र प्लसटुपछि रहदानी बनाउने लहर युवाहरुमा चलेको देखिन्छ ।पछि नागरिकता र प्लसटुपछि रहदानी बनाउने लहर युवाहरुमा चलेको देखिन्छ । स्वदेशमा भविश्य नरहेको भन्दै कतिपयले कर्मचारीसंग देशका राजनीतिक दल, नेता लगायतबारे गुनासो समेत गर्ने गर्छन् । ‘देशमा बसेर के गर्नु, न पढाई राम्रो हुन्छ, न त पढेपछि जागिर नै राम्रो पाइन्छ, न विजनेस गर्ने माहोल नै छ’ एक युवाको गुनासो उदृत गर्दै ति कर्मचारी भन्छन् ‘देश हाम्रो पालामा पनि बन्ने छाँट देखिएन।’
पछिल्लो समय रहादनी बनाउन आउनेमध्ये अधिकांशले शैक्षिक प्रयोजनका लागि बताउने गरेका छन् । दोस्रोमा भने रोजगारीका लागि विदेश जान लागेको बताउँछन् ।